गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ) – Nepal Press

गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)

विश्लेषक भन्छन् : सत्ताकेन्द्रित राजनीतिमा एजेण्डाबारे बहस हुँदैन, ओली भन्छन्-मलाई मुख छाडेर जीविका चलाउन्

काठमाडौं । तपाईँ घृणा गर्नुस् वा माया गर्नुस् कतिपय पात्र जसलाई तपाईँ उपेक्षा गर्न सक्नुहुन्न । नेपाली राजनीतिको तीव्र ध्रुवीकरण हुँदै गर्दा केपी शर्मा ओली त्यस्तै एउटा पात्र बनेका छन् । चुनाव नजिकिँदै गर्दा ओलीको पक्ष र विपक्षमा मुलुक विभाजित छ ।

एकातिर बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टीसहित ६ दलको गठबन्धन ओलीलाई उनीहरूको भाषामा ‘सबक सिकाउन’ बलियो सहकार्य गर्दै अघि बढेको छ भने अर्कोतिर हिजो गठबन्धनकै एउटा बलियो घटक उपेन्द्र यादवलाई त्यहाँबाट निकालेर आंशिक तालमेलसहित ओली पनि प्रतिवादमा उत्रिएका छन् ।

हिजो ओलीलाई गाली गर्ने अशोक राई अहिले केपी ओलीले देखेको ‘समृद्ध नेपाल सुखी नेपाली’ को सपना साकार पार्न आफू धरानमा आएको भन्दै एमाले फकाउँदैछन् भने उपेन्द्र यादव र राजेन्द्र लिङदेनहरू ओलीको नेतृत्वमा आगामी सरकार बन्ने बताउँदै भोट मागिरहेका छन् ।

तर, सत्तागठबन्धनका शीर्ष नेता एक कदम अघि बढेर ओलीको त्रास देखाउँदै कार्यकर्तालाई गठबन्धनप्रति बफादार बन्न दबाब दिइरहेका छन् । गठबन्धनभित्र मत ट्रान्सफरमा समस्या देखिएपछि शीर्ष नेताहरूले एकैस्वरमा ओली फोबिया देखाएर कार्यकर्तालाई गठबन्धनको औचित्य साबित गरिरहेका छन् ।

उता केपी ओलीले भने आफ्नो विरोध गरेर वा आफूविरुद्ध मुख छाडेर कसैको जीविका चल्छ भने त्यसबाट आफू खुसी नै हुने जवाफ दिएका छन् । यद्यपि विपक्षीमाथि प्रहार गर्न गठबन्धनका पाँच शीर्ष नेताभन्दा ओली एक्लै काफी देखिन्छन् ।

सातै प्रदेश, ओलीविरुद्ध आवेश

सत्तागठबन्धन आगामी मंसिर ४ मा हुने निर्वाचनमा आफ्नो पक्षमा मतदातालाई आकर्षित गर्न केन्द्रित छ । चुनावी प्रचारकै क्रममा गठबन्धनले सातै प्रदेशमा प्रदेशस्तरीय संयुक्त भेला गर्‍यो ।

भेलालाई सम्बोधन गर्नका लागि प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडल, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईलगायत शीर्ष नेताहरूले सम्बोधन गरे ।

उनीले गठबन्धन संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि बाध्यात्मक परिस्थितिमा बनेको प्रष्ट्याउन खोजिरहे । भने, गठबन्धनभित्रका असन्तुष्ट र बागी उम्मेदवारहरूलाई पनि सरकारी नियुक्तिको आश्वासनको पासो फ्याँके ।

चुनावपछि पनि गठबन्धनकै सरकार बन्ने दाबी गर्दै प्रधानमन्त्रीसहित शीर्ष नेताहरूले राजदूत, संवैधानिक नियुक्ति, राष्ट्रियसभा सदस्यजस्ता पदहरूको लोभ देखाइरहेका छन् । प्रधानमन्त्रीसहित सत्ता गठबन्धनका शीर्ष नेताहरूले निर्वाचन आचारसंहिताविपरीत मतदातालाई आश्वास बाँड्ने काम गरिरहेका छन् ।

यीबाहेक गठबन्धनका शीर्ष नेताहरूले चुनावपछि बन्ने सरकारले गर्ने कामबारे एकताबद्ध भएर फेहरिस्त सुनाउन र देखाउन सकेका छैनन् । भाषणका क्रममा नेताहरूले आफूले एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको र उनी शक्तिमा आए कसैको अस्तित्व नरहने भनेर कार्यकर्तालाई ‘ओली त्रास’ देखाएका छन् ।

हेर्नुस् भिडिओ-

गत मंगलबार गठबन्धन दलका शीर्ष नेताहरूले संयुक्त प्रतिबद्धता जाहेर गर्दै गठबन्धन दलहरूले लिएको उद्देश्य र लक्ष्यप्रति जनताको समर्थन रहने विश्वास व्यक्त गरेका थिए । उनीहरूको संयुक्त प्रतिबद्धतामा पनि ओलीलक्षित गर्दै प्रतिगमन कायम रहेसम्म गठबन्धन कायम रहने प्रष्ट्याउन खोजेका थिए ।

संयुक्त प्रतिबद्धतामा भनेका थिए, ‘राष्ट्र, राष्ट्रियता र लोकतन्त्रलाई सुदृढ र संस्थागत गर्ने गहन राष्ट्रिय आवश्यकतालाई आत्मसात् गर्दै जनताको संघर्ष र बलिदानको परिणामस्वरूप स्थापना भएको संघीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने मूल दस्तावेजमाथि अधिनायकवादी आक्रमणको खतरा जीवितै रहेको परिस्थितिमा संविधानमाथिको प्रतिगमनको खतरा रहेसम्म गठबन्धनको औचित्य कायमै रहने छ ।’

एजेण्डा के ?

गठबन्धनका शीर्ष तहबाट नभएर ओलीले गरेको संसद विघटनलाई प्रतिगमनलाई देखाएर भोट मागिरहेका छन् । भने, ओलीले त्यसको बचाउ गर्दै देश विकासविरोधी भएको आरोप लगाउँदै आइरहेका छन् । गठबन्धनले जिते के गर्ने भन्ने भन्दा पनि हारेमा ओलीको अतिवादले जित्ने र देशै छाड्नुपर्ने अवस्था आउने भनेर त्रास देखाइरहेका छन् ।

ओलीको प्रतिगमनको कारणले गठबन्धन बनेको हुनाले उपलब्धिको रक्षा गर्नका लागि आफूहरूले यही एजेण्डालाई प्राथमिकता दिएको कांग्रेस प्रवक्ता प्रकाशशरण महत दाबी गर्छन् ।

उनी भन्छन्, ‘हाम्रो रहरले गठबन्धन बनेको होइन । ओलीजीकै असंवैधानिक कारणले संविधान र लोकतन्त्रको रक्षा गर्दै देशलाई प्रतिमनमा जानबाट रोक्न एकजुट भएको हौँ । त्यसैले चुनावमा यही एजेण्डालाई अघि सारेका छौँ ।’

उनले मंसिर ४ को निर्वाचनपछि पनि गठबन्धनको सरकार बन्न दाबी गरे । ‘हामीले उलपब्धि रक्षाका लागि गठबन्धन गरेकोमा दुईमत छैन । त्यसैले आगामी सरकार पनि कांग्रेस नेतृत्वमा गठबन्धनकै बन्छ’ उनले भने ।

हेरौँ, ओलीमाथि गठबन्धन शीर्ष नेताको श्रृंखलाबद्ध आलोचना

कात्तिक ४ गते बुटवलमा

देउवा : एमाले-राप्रपासहितका पक्ष राष्ट्रवादी हुनै सक्दैन । सत्तागठबन्धनको खिलाफमा राजावादी तागत लागेको छ । उनीहरूले राष्ट्रवादी हो भन्न थालिसके, असली मानेमा राष्ट्रवादी हामी हौँ । लडेर व्यवस्था ल्याउने हामी, उनीहरू कसरी राष्ट्रवादी हुन्छन् ?

माधव नेपाल : केपी ओलीले अलिकति शक्ति आर्जन गरे भने, बहुमतको त कुरै छाड्नुस्, त्यसपछि देश नै छाडेर भाग्नुपर्ने हुन्छ । तिनले गणतन्त्रलाई जोखिममा राख्नेछन् । उनले जम्मै प्रतिगामी शक्तिसँग साँठगाँठ गरेका छन् । राप्रपाको नीति क्लिएर नै छ । राजतन्त्रलाई पुनःस्थापित गर्ने, इतिहासको रछ्यानमा फालिएको संस्थालाई जिउँदो बनाउने र सत्ता उनको हातमा पुर्‍याउने शक्तिसँग साँठगाँठ छ ।

कात्तिक ५ विराटनगरमा

प्रचण्ड : सानातिना कमीकमजोरी हिजो छन् भनेपनि यो महान् उद्धेश्यको निम्ति त्यसलाई थाती राखेर संविधान, लोकतन्त्र र जनताका एकढिक्का होइदिनुहोला, गठबन्धनका सबै साथीहरूलाई कुरो गहिरो छ, अहिले पनि षड्यन्त्र रोकिएको छैन ।

माधव नेपाल : कसैकसैले भन्छन् कांग्रेस र कम्युनिष्टले अगाडि बढ्न सक्दैन । ०४६/४७ को निरंकुश आन्दोलन कांग्रेस, कम्युनिष्ट मिलेर सफल भएको थियो, राजतन्त्रलाई हटाउन कांग्रेस कम्युनिष्ट मिलेको थियो । प्रचण्डको विद्रोही भावना र हाम्रो केपी ओलीलाई पछार्न सकेको छौँ ।

कात्तिक ५ गते जनकपुरमा

प्रचण्ड : मधेसको अधिकारका लागि लड्नेहरू आइसोलेसनमा पर्ने, विष वमन गर्नेहरू विजयी हुने, उनीहरू नै कता-कता बलियो देखिने यो विडम्बना किन भइरहेको छ ? यहाँका बुद्धिजीवि, नेता कार्यकर्ताको लागि पनि चुनौती हो । कतै न तकै हाम्रो गठबन्धन दलका नेताहरूको कमजोरी भयो ।

माधव नेपाल : केपी ओलीका भ्रममा नपर्नुस्, अलमलिनु आवश्यक छैन । मधेसको विरोधी कोही पार्टी छ भने त्यो एमाले मात्रै हो । केपी ओली एक नम्बर खतरनाक मान्छे हो । नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन् ।

रामचन्द्र पौडेल : मधेसमा केपी ओली र एमालेले जित्न लागेको जस्तो हाइ-हाइ गर्नु मधेसीको अहितमा हुन्छ । ओलीले मधेसका लागि राम्रो गर्दैनन् तपाईंहरू बेलैमा सचेत बन्नुहोला ।

कात्तिक ६ गते धनगढीमा

देउवा : संविधान बचाउने कि नबचाउने गणतन्त्र जोगाउने कि नजोगाउने भन्ने कुरा छ । संघीयता बच्न गठबन्धन जित्न आवश्यक छ । संविधान र सत्ता गठबन्धनविरुद्ध अन्तर्राष्ट्रिय शक्ति लागेका छन् ।

प्रचण्ड : आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँ हो । सबै उपलब्धिहरू धरापमा भएपछि गठबन्धन बनाएका हौँ । गणतन्त्र उल्टाउने एमालेको योजना छ । एमालेले राजतन्त्रलाई पुनःस्थापना गर्ने उद्देश्यले गठबन्धन बनाएको छ ।

माधव नेपाल : हामीले समयमा कदम नचालेको भए लोकतान्त्रिक संविधान जोगिने थिएन । गणतन्त्रको रक्षा हुने थिएन । मुलुक प्रतिगमनतिर जाने थियो । सबै उपलब्धि सकिने थियो । एमाले प्रगति र परिवर्तनको बाधक हो ।

कात्तिक ६ गते सुर्खेतमा

देउवा : अहिले नेपाल अत्यन्तै गम्भीर मोडमा उभिएको छ, देश कता जाने ? संविधान कता जाने भन्ने द्विविधा छ । हामीले २००७ सालदेखि लड्दा/लड्दा यो व्यवस्था आएको हो, त्यसैले यो शासन प्रणालीलाई बचाउनका लागि सुदूरपश्चिमको एकता आवश्यक छ ।

प्रचण्ड : अहिलेको एमाले एमाले होइन, माधवकुमार नेतृत्वमा रहेको बेलाको पो एमाले हो । विस्तृत शान्ति सम्झौताका बेला ओली नेतृत्वमा हुन्थे भने अहिले यो व्यवस्था आउने थिएन देश जोगाउन, संविधान जोगाउन र प्रतिगमन सच्याउने चुनाव हो ।

सोमबार काठमाडौंमा

बाबुराम भट्टराई : चर्को घामले सताइरहेका बेला हँसिया बोक्ने किसान, हतौडा बोक्ने मजदुर र कलम समात्ने बुद्धिजीवि एउटा ठूलो रुखको छायाँमा बसेर कपमा चिया खाँदा जुन आनन्द आउँछ ।

प्रचण्ड : ओलीले नेपालमा संविधानसभा सम्भव छैन । राजतन्त्र फाल्न सम्भव छैन भन्ने नेताहरू थिए । अहिले पनि संविधान स्वीकारेका रहेनछन् । आफू पावरमा आएपछि संविधान र गणतन्त्र उल्टाउने कसरत गरे । त्यसैले ओलीबाट मैले ज्ञान प्राप्त गरेको आएको छु । अब मिल्ने गल्ती गर्दिनँ ।

माधव नेपाल : हामीले गठबन्धनको साझा उम्मेदवारलाई जिताउन सकेनौँ भने प्रतिगमनकारीको मनोबल बढ्छ । ओलीले संविधान र लोकतन्त्रको मूल्य मान्यता कुल्चिएर अघि बढे । बयलगाडा प्रवृत्तिवाला ओलीले अहंकारमा डुबाए । अब उनी हिटलरको शैलीमा आफैँ समाप्त हुँदै जान्छन् ।

रामचन्द्र पौडेल : अहिलेसम्मको उलपब्धिमाथि राष्ट्रपति र तत्कालीन प्रधानमन्त्रीबाट प्रहार भएको छ । रक्षक नै भक्षक भए । त्यसैले अहिले केपी ओलीले गरेको गठबन्धन दलका अनुहार हेरे पुग्छ । राष्ट्रवादको मुकुन्डो उत्रिसकेको छ ।

यी माथि प्रस्तुत अभिव्यक्ति गठबन्धनका शीर्ष नेताहरूले चुनावी कार्यक्रमलाई सम्बोधन गर्दाका हुन् । ओली जिते फेरि देशमा राजतन्त्र फर्काउनेदेखि देश नै छाडेर भाग्नुपर्ने परिस्थिति आउने उनीहरूको भनाइ छ । अझ, भनौं ओलीबारे जनतामा त्रास फैलाइरहेका छन् ।

गठबन्धनमा कांग्रेसबाट ‘भोट ट्रान्सफर’ नहुने आसयमा अझै प्रचण्ड-माधव प्रस्तुत भइरहेका छन् । उनीहरूले ओलीको त्रासलाई देखाएर गठबन्धनको पक्षमा मत फकाउने र धम्काउने गरिरहेका छन् ।

हरेकजसो कार्यक्रममा प्रचण्ड र माधव नेपालले मत ट्रान्सफर नहुने आशंका व्यक्ति गर्दै आइरहेका छन् भने देउवा र नेता पौडेलले गठबन्धनको पक्षमा उपलब्धिको रक्षाको लागि मतदान गर्न आह्वान गरेका छन् ।

गठबन्धनको कुनै उद्देश्य नै नभएकाले एकमात्र उद्देश्य एमालेको समाप्ति र एकमात्र एजेण्डा केपी ओलीलाई सराप्ने रहेका एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दाबी गर्छन् ।

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले भने, ‘गठबन्धनको दृष्टिकोण, उद्देश्य, कार्यक्रम र गन्तव्य केही छैन । उनीहरूको उद्देश्य भनेको एमाले सिध्याउनमात्रै हो । राजनीतिक स्थायित्व, मुलुकको विकास र हितको पक्षमा काम गर्नै सक्दैनन् ।’

विश्लेषक भन्छन्-एजेण्डा नभएपछि गालीगलौज

दलहरूको कुनै एजेण्डा नै नभएका कारणले नेताहरू आरोप-प्रत्यारोपमा लागको राजनीति विश्लेषक खगेन्द्र प्रसाईँ टिप्पणी गर्छन् ।

उनी भन्छन्, ‘अहिलेको राजनीति सत्ताकेन्द्रित मात्रै छ । दलहरूसँग केही एजेण्डा छैन । राष्ट्र र जनता आवश्यकता प्राथमिकतामा परेको देखिँदैन । सरकारको वरिपरि देखिराख्नुपर्ने उनीहरूको एकमात्रै योजना भएजस्तो देखिएको छ । राजनीतिको प्राण नै सत्ता मात्रै हो भन्ने उहाँहरूलाई लागेको छ । अहिलेको राजनीतिका स्थिति पुँजीवादी व्यवस्था हो । अहिले राजनीतिमा अराजकता फैलिएको छ ।’

त्यसो त अर्का राजनीतिक विश्लेषक हरि रोक्का पनि दलहरू एजेण्डाविहीन भइसकेको दाबी गर्छन् ।

उनी भन्छन्, ‘दलहरूको न भोट माग्ने शैली फेरिएको छ न त अवस्था नै । एजेण्डाविहीन भएपछि अहिले सत्तास्वार्थमा रमेर त्यही अनुरूप चलिरहेका छन् ।’

गठबन्धनले ओलीलाई दोषी देखाएर भोट माग्नु स्वाभाविक भएको उनको बुझाइ छ ।

‘दलहरूको एजेण्डा बिक्न छाडिसक्यो । गत निर्वाचनमा गर्छु भनेका काम केही भएका छैनन् । त्यसैले गठबन्धन पक्षले ओलीको असफलता देखाउने ओलीले गठबन्धनको असफलतालाई दोषी देखाएर आफू जनतासमक्ष राम्रो बन्न खोजेका छन्’ रोक्काले भने ।

नेताहरूको अभिव्यक्ति र परिवर्तनको एजेण्डाबारे आश गर्नुको कुनै तुक नहुने उनको बुझाइ छ ।


प्रतिक्रिया

One thought on “गठबन्धनको रणनीतिक प्रयास- ‘भोट ट्रान्सफर’ गर्न कार्यकर्तालाई देखाउँदै ओलीको त्रास (भिडिओ)

  1. गठबन्धनको एजेण्डा केही छैन खाली ओलिको विरोध गर्ने मात्र हो । जनताले हेरिरहेका छन् यिनले डेढ वर्षमा देशलाई कहाँपुर्याए भनेर । ओलिले गरेको संसद विघटन राजनीतिक रूपमा ठिक कि बेठिक भन्ने कुरा जनताले मूल्याँकन गरिरहेका छन् । उनले किन विघटन गरे भन्दा मुख्य २ कारण देखिन्छन् । एक, उनलाई हटाएर प्रचण्ड प्रधानमन्त्री बन्न खोज्दै थिए । त्यसैले देश गलत व्यक्तिको हातमा नजाओस भनेर र दुई, आफ्नो पद जाने भएपछि व्यक्तिले विभिन्न उपाएहरू लगाउँदछ । कसैलाई काम गरेर देखाउँदा देखाउँदै, विना कसुर, विदेशीको इशारामा हटाउन खोज्दा निकास ख‍ोज्दा संसद भंग हुन पुगृको हो । त्यसैले एजेण्डा विहिनहरूको हार निश्चित देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर