घनश्यामलाई छविलालको आरोप- टिकट नपाएपछि पार्टी छाडेर अरू दलको शरणमा पुगे – Nepal Press

घनश्यामलाई छविलालको आरोप- टिकट नपाएपछि पार्टी छाडेर अरू दलको शरणमा पुगे

रुपन्देही । नेकपा एमालेका केन्द्रीय सचिव छविलाल विश्वकर्माले नेपाली कांग्रेसले २६ वर्षमा गर्न नसकेको विकास एमालेले ५ वर्षमा गरेको बताएका छन् । नेता विश्वकर्माले विकासका अभियान बनाउन र त्यसलाई पूर्णता दिनका लागि नेकपा एमालेको जित अपरिहार्य भएको दाबी गरेका छन् ।

उनले राष्ट्रिय एकतालाई मजबुत बनाउन एमाले, राप्रपा र जसपावीच चुनावी तालमेल भएको बताए । रुपन्देहीको देवदहमा नेकपा एमाले, राप्रपा र जसपाका संयुक्त भेलालाई सम्बोधन गर्दै उनले रुपन्देहीको क्षेत्र नम्बर १, को उत्तर दक्षिणलाई विकासको हिसाबले जोड्नको लागि दशगजाबाट काम सुरुवात गरेको बताए ।

उनले रुपन्देहीको क्षेत्र नम्बर १, मा नेपाली कांग्रेसले पटक/पटक निर्वाचन जिते पनि विकास गर्न नसकेको बताउँदै कांग्रेसले २६ वर्षमा गर्न नसकेको विकास नेकपा एमालेले ५ वर्षमा गरेर देखाएको दाबी गरे ।

नेता विश्वकर्माले घनश्याम भुसालप्रति इंगित गर्दै एक पटक टिकट नपाउँदैमा पार्टी छाडेर अरू दलको शरणमा पुगेर स्वतन्त्र उम्मेदवार बन्नु राजनीतिक बेइमानी भएको आरोप लगाए ।

‘२५ वर्षदेखि पार्टीबाट टिकट पाइरहेका मान्छेले एक पटक टिकट नपाउँदा पार्टी नै छाडेर अरूको शरणमा टिकट लिन जानू कहाँ सम्मको इमान हो, सबैले यो विषय बुझेकै हुनुपर्दछ’, उनले भने ।

उनले तिन दलका साझा उम्मेदवारलाई विजयी गराउनको लागि अबका दिनमा वडा/टोलमा केन्द्रित हुनुपर्नेमा जोड दिए । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश सभा १ को १ का उम्मेदवार आशिषकुमार चौधरीले सुखी नेपाली, समृद्धि नेपाल निर्माणको लागि एमाले, राप्रपा र जसपाका साझा उम्मेदवारलाई जिताउन आवश्यक रहेको बताए ।

जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य मधु सिंहले तीन दलको तालमेलबाट साझा उम्मेदकारलाई जिताउने प्रयासमा सबैले जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर