जनताको अवस्था बदल्नु अबको प्रमुख कार्यभार : लीला गिरी – Nepal Press

जनताको अवस्था बदल्नु अबको प्रमुख कार्यभार : लीला गिरी

रुपन्देही । नेकपा एमालेका पोलिटव्युरो सदस्य, लुम्बिनी प्रदेशका सहइन्चार्ज, पूर्वमन्त्री लीला गिरी समकालीन नेताहरुमा शालीन र अनुशासित मानिन्छन् । राजनीतिमा अनुभवी, समर्पित र इमानदारिता उनको परिचय रहेको समर्थकहरु बताउँछन् । राजनीतिक व्यापार, पद, शक्ति र इमान दुरुपयोग जस्ता आरोपबाट मुक्त गिरीलाई अहिले प्रदेश सांसदमा उम्मेदवार बनेकाहरुमध्ये सिनियर भएकाले भावी मुख्यमन्त्रीका रुपमा हेरिएको छ । रुपन्देही क्षेत्र नं २ को प्रदेशसभा १ का प्रत्यासी गिरी २०११ चैत १४ गते गुल्मीको रुरुक्षेत्र गाउँपालिका-५, बम्घा सौरीबोटमा जन्मिएका हुन् ।

तत्कालीन सामाजिक परिवेश, राजनीतिक अवस्था र त्यसवेलाको निरंकुशताका विरुद्धमा आवाज उठाउन सहज थिएन । अहिलेको जस्तो सञ्चारका माध्यमहरु नभएकाले सूचनाहरु एक ठाउँबाट अर्को ठाउँ पुर्‍याउन जोखिमपूर्ण थियो । सबैले पढ्न पाउँदैनथे, स्कुल र पाठशाला पर्याप्त थिएनन् । त्यस्तो वेलामा सामाजिक रुपान्तरणका लागि चेतना जागेको बताउने गिरी थिचोमिचोका विरुद्धमा बोल्थे, आवाज उठाउनुपर्छ भन्थे ।

यसरी सुरु भयो राजनीतिक यात्रा ?

२०२२ सालतिरको एउटा घटना थियो । उनी ११/१२ वर्षका थिए । त्यसवेला मुलुकमा निरंकुश शासन थियो । पञ्चायतका नाममा थिचोमिचो, विभेद र आवाज उठाउन बन्देज थियो । त्यहीवेला गाउँमा तत्कालीन पञ्चायतका विरुद्ध आवाज उठ्यो र आन्दोलन पनि भयो । आन्दोलनको नेतृत्व गिरीकै छिमेकमा रहेका नेता सिद्धिनाथ ज्ञवालीले गरेका थिए । नेता ज्ञवाली कम्युनिष्ट आन्दोलनका एउटा धरोहर मानिन्थे । ज्ञवालीसँगै गिरी पनि विभिन्न आन्दोलनमा सहभागी भए । गिरीका बुबा बुद्धिनाथले पनि छोरालाई पार्टीको काममा जान सहयोग गर्थे ।

त्यसवेला मुलुकमा रहेको निरंकुश व्यवस्थाका विरुद्ध आवाज उठाउनु चानचुने कुरा थिएन र भूमिगत भएर ज्यानको बाजी लगाएर बोल्नुपर्थ्यो । त्यसवेलाका गाउँका ठालूहरुले गर्ने विभेदकारी व्यवहार, हेंलाहोचो र अनेक असमानता देख्दा गिरीलाई मन छुन्थ्यो । त्यही भएरै उनी निरंकुशताविरुद्धको आन्दोलनमा जोखिम मोलेरै सरिक भएका थिए । त्यसपछि त्यहाँ बस्न सहज भएन । उनी एकजना अभिभावकको साथ लागेर केही समयका लागि भारत (लुधियाना पञ्जाब) गए । त्यहाँ जाने आउने गर्दा उनले त्यहाँ सिकेका र सानो-तिनो काम गर्दै र पढ्दै गरेका विषयलाई व्यवहारमा लागु गर्दै गए र बीएसम्मको अध्ययन सकाए ।

उनी गुल्मीबाट २०३४ सालमा रुपन्देहीको शंकरनगरमा (हालको तिलोत्तमा नगरपालिका) बसाइ सरेर आए । यहाँको पहिलो गाविस अध्यक्षमा निर्वाचित भएर यसलाई नमुना बनाउन सफल भएका थिए । गिरीका आमा, पत्नी, दुई छोरी र एक छोरा छन् । गिरीको मुख्य पेशा कृषि हो ।

पार्टीमा जिम्मेवारी र नेतृत्व

उनले तत्कालीन शंकरनगरमा रहेको सहिद गंगालाल पुस्तकालयको महासचिव, क्रान्तिकारी बुद्धिजीवी संघ, शिक्षक संगठन, युवा सक्रिय दल, ऐतिहासिक सोह्रछत्तीस कुला मौजाको नेतृत्व गरे । २०४६ सालमा नेकपा मालेको जिल्ला कमिटी सदस्य र वाममोर्चाको जिल्ला सदस्य बने । २०४७ सालमा पार्टी एकीकरण भएपछि नेकपा एमालेको जिल्ला सदस्य बने उनी । २०५४ मा जिल्ला कमिटी रुपन्देहीको उपसचिव बनेका गिरीले २०५८ देखि २०६१ सम्म कार्यबाहक सचिव भएर काम गरे ।

तत्कालीन सचिव विजय पौडेल नेतृत्वमा आएलगत्तै पढ्न भन्दै काठमाडौं गएकाले कार्यबाहक नेतृत्व गिरीले सम्हालेका थिए । २०६१ देखि २०६६ र २०६६ देखि २०६९ सम्म एमाले जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेका उनी पार्टीको जिल्ला कमिटी अध्यक्ष बने । २०६९ सालमा एमालेको साविकको लुम्बिनी अञ्चल समन्वय कमिटी सदस्य र संगठन विभाग प्रमुख, २०६९/७० मा अञ्चल कमिटी सदस्य र नवौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय कमिटी सदस्यमा निर्वाचित भए ।

नेकपा एमाले र नेकपा माओवादीको एकतासँगै बनेको नेकपाकालमा उनले केन्द्रीय कमिटी सदस्य र लुम्बिनी प्रदेश कमिटी अध्यक्षको जिम्मेवारी पूरा गरेका थिए । दशौं महाधिवेशनबाट गिरी पोलिटब्युरो सदस्य र लुम्बिनी प्रदेशको सहइन्चार्जको जिम्मेवारीमा छन् ।

जेल यातना र नेतृत्व

वि.सं.२०६१ माघ १९ गते तत्कालीन राजा वीरेन्द्रको हत्यापछि राजा बनेका ज्ञानेन्द्रले शासनसत्ता हातमा लिएर शाही ‘कु’ गरे । उक्त शाही कदमको विरोधमा नेता गिरीको नेतृत्वमा रुपन्देहीमा आन्दोलन भयो । आन्दोलनको नेतृत्व गरेको भन्दै गिरीलाई प्रहरीले पक्राउ गर्‍यो र जेल चलान गरियो । गिरीसँगै रुपन्देहीका अर्का एमाले नेता हितराज पन्थीलाई पनि पर्चा छरेको आरोपमा गिरफ्तार गरेर जेल हाल्यो । २०६१ माघ २७ देखि २०६२ बैशाख २८ गतेसम्म जिल्ला कारागारमा जेल यातना भोगे । जेलमा रहँदा नै उनले निरंकुशताविरुद्धको अर्को ठूलो जनआन्दोलनको खाँचो रहेको ठहर गरेका थिए । नभन्दै उनी जेलमुक्त भएपछि राजनीतिक दलहरु मिलेर जनआन्दोलन घोषणा गरे ।

२०६२/६३ को जनआन्दोलनमा उनै गिरीले यहाँको कमाण्ड सम्हाले । आन्दोलन सफल भयो, राजनीतिक व्यवस्था बदलियो, नयाँ संविधान बन्यो र संविधानको कार्यान्वयन हुँदै पहिलो चुनाव भयो । चुनावमा नेकपा एमालेबाट गिरी रुपन्देही क्षेत्र नंं २ (१) प्रदेशसभामा निर्वाचित भए । लुम्बिनी प्रदेश सरकारको मन्त्रीका भएपछि गिरीले वन र पर्यावरणको संरक्षण गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने पहिलो निर्णय गरे ।

वन, वातावरणको संरक्षण गर्दै कृषि उत्पादकत्व बढाउने, औद्योगीकरण, पर्यटन प्रवर्द्धन, वन क्षेत्रको संरक्षण र उत्पादकत्व वृद्धि एवम् स्वच्छ वातावरणका कार्यक्रम तथा लुम्बिनीलाई केन्द्रमा राखेर पर्यटन सर्किट बनाइ लुम्बिनी भ्रमण वर्ष घोषणा गरेर महत्वपूर्ण अभियान सञ्चालन उनको कार्यकालमा भएको थियो । आफ्नो पालामा लुम्बिनी प्रदेशको समृद्धिका आधार तयार भएको, प्रदेश समृद्ध बनाउने आधार र कार्यक्रम तयार पारे पनि बीचमै छाड्नुपरेकाले ती अधुरा काम पूरा गर्न आफू पुनः उम्मेदवार भएको गिरीको भनाइ छ ।

यस्ताे छ गिरीकाे प्रतिबद्धता

एमालेबाट रुपन्देही क्षेत्र नं २ (१) बाट लुम्बिनी प्रदेशसभा सदस्यको उम्मेदवारका रुपमा मैदानमा छु । मुलुकमा नयाँ राजनीतिक व्यवस्था कायम भएको छ, संविधान कार्यान्वयन भइरहेको छ । तर, जनताको अवस्था बदल्ने काम अधुरा छन् र तिनलाई पूरा गर्नुपर्नेछ । व्यवस्था बदलिएसँगै सुरु भएका समृद्धि लक्षित कामलाई पूर्णता दिनु छ ।

अबको प्रमुख कार्यभार नै जनताको अवस्था बदल्नु हो । संविधान जारी भएसँगै पुरानो राजनीतिक व्यवस्था अन्त्य भएको र राजनीतिक अधिकार प्राप्तिको लडाइँ पूरा भएकाले अब जनताको अवस्था बदल्नुपर्नेछ । केपी ओली नेतृत्वको अघिल्लो सरकारले तयार पारेको ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य र संकल्पलाई साकार पार्दै समाजवादको आधार निर्माण गर्नुपर्नेछ । यसो गर्दा नै जनताको जीवनस्तर बदल्न सकिन्छ । मतदातासँग मेरो अनुरोध एमालेलाई देश बनाउने जिम्मा दिनुहोस्, समृद्धिका आधारलाई साकार पार्ने अवसर दिनुहोस् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर