ऋषि धमलाको चुनावी बहसमा चित्रलेखा र राजकिशोरबीच चर्काचर्की (भिडिओ) – Nepal Press

ऋषि धमलाको चुनावी बहसमा चित्रलेखा र राजकिशोरबीच चर्काचर्की (भिडिओ)

जनकपुरधाम । सिरहा प्रतिनिधिसभा क्षेत्र २ का सत्ता गठबन्धनकी उम्मेदवार चित्रलेखा यादव र एमाले-जसपा गठबन्धनका उम्मेदवार राजकिशोर यादवबीच एक अन्तर्वार्तामा चर्काचर्की भएको भिडिओ यतिखेर भाइरल भएको छ ।

सिरहाको औरहीमा मंगलबार पत्रकार ऋषि धमलाले उम्मेदवारलाई राखेर चलाएको चुनावी बहस कार्यक्रममा उम्मेदवारद्वय चित्रलेखा र राजकिशोरबीच चर्काचर्की भएको हो । नेपाली कांग्रेसकी प्रमुख सचेतकसमेत रहेकी चित्रलेखाले जुन प्रतिगमनकारी पार्टीविरुद्ध केही दिनअगाडि मात्र आन्दोलन गरिरहेका थिए, त्यही पार्टीसँग कसरी गठबन्धन गरेको भनेर राजकिशोरलाई प्रश्न गरेपछि दुईजनाबीच विवाद बढेको थियो ।

पटक-पटक प्रतिगमन गर्नेलाई नभइ प्राप्त उपलब्धिको रक्षा गर्ने र अहिले देखिएका नागरिकतालगायतका समस्या समाधान गर्ने वाम-लोकतान्त्रिक गठबन्धनको पक्षमा जनता रहेको उनले बताइन् ।

जवाफ दिने क्रममा जसपाका राजकिशोरले कांग्रेस २०१५ सालमा बहुमत ल्याएर सरकार बनाएको र आन्तरिक किचलोका कारण तत्कालीन राजाले ‘कु’ गरेको बताएलगत्तै चित्रलेखाले प्रतिवाद गरिन् । चित्रलेखाले ‘पार्टीको आन्तरिक किचलो कारण होइन्’ भनेपछि चर्काचर्की सुरू भयो । दुवैजना कुर्सीबाट उठेर एक अर्कालाई औंलासमेत तेर्स्याएका थिए ।

उनी दुबै जनाको बीचमा कार्यक्रम प्रस्तोता पत्रकार धमला थिए । दुई उम्मेदवारबीच चर्काचर्की चल्दा दर्शदीर्घाले हुटिङ गरेका थिए ।

उक्त कार्यक्रममै चित्रलेखाको पारिवारिक विवादसम्बन्धी प्रश्न गरेका एक युवक कुटिए पनि । आफ्नै बुहारीमाथि अन्याय गरेको हो भने अन्य महिलाहरूका लागि के गर्न सक्नुहुन्छ ? भन्ने प्रश्न गरेपछि ती यूवकलाई चित्रलेखाका समर्थकहरूले खेदेका थिए । पटक-पटक विवाद भएपछि पत्रकार धमलाले कार्यक्रम छोट्याए ।

एमाले र कांग्रेसको चरित्र उस्तै रहेको भन्दै एमालेसँग चुनावी तालमेल गरेर गलत नगरेको राजकिशोरले तर्क गरे । चुनावी तालमेल भएपनि जसपा आफ्नो एजेण्डा र एमाले आफ्नो एजेण्डा बोकेको बताए । उनले नागरिकतासम्बन्धीत समस्या एमालेलाई पनि सहमतिमा ल्याएर सम्बोधन गराउन सकिने पनि उनको भनाइ थियो ।

यता, चित्रलेखाले प्रतिगमनविरुद्ध २ वर्ष अगाडि नै वाम-लोकतान्त्रिक गठबन्धन बनेको दाबी गर्दै भनिन्, ‘चुनाव जित्न मात्र गठबन्धन गरेको होइन । यो गठबन्धनले पुनः सरकार बनेपछि मात्र सबै राष्ट्रिय समस्या समाधान हुन्छ ।’ उनले निर्वाचनपछि पुनः शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने पनि दाबी गरेकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *