राष्ट्रिय जनमुक्तिको २७ बुँदे घोषणा पत्र सार्वजनिक – Nepal Press

राष्ट्रिय जनमुक्तिको २७ बुँदे घोषणा पत्र सार्वजनिक

चुनावअघि दलीय गठबन्धनले मुलुकलाई राजनीतिक दिशाहीन बनायो’

रुपन्देही ।देशव्यापी रुपमा एकल उम्मेदारी दिएर निर्वाचनमा गएको राष्ट्रिय जनमुक्ति पार्टीले प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि २७ बुँदे आफ्नो चुनाबी घोषणापत्र सार्वजनिक गर्दै चुनावअघिको दलीय गठबन्धनले देशलाई गतिहीन बनाएको निष्कर्ष निकालेको छ ।

रुपन्देहीको तिलोत्तमामा मंगलबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको सार्वजनिक घोषणापत्र गर्दै निर्वाचित जनप्रतिनिधिहरुको तलब–भत्तालगायतको सेवासुविधालाई हटाएर स्वयंसेवी जनप्रतिनिधिको रुपमा रुपान्तरण गरिने उल्लेख गरिएको छ ।

सो पार्टीका कार्यकारी अध्यक्ष केशव सूर्यवंशीले सार्वजनिक गर्दै चुनावअघि दलीय गठबन्धनले मुलुकलाई राजनीतिक दिशाहिनतर्फ बनाएको पार्टीको निष्कर्ष रहेको बताए ।

प्रतिनिधि सभा तथा प्रदेश सदस्य निर्वाचनलाई लक्षित गरी राजनीतिक दलहबीच भएको गठवन्धनप्रति इंगित गर्दै सूर्यवशीले मुख्य दलहरुले राष्ट्रिय आवश्यकता र मुद्दाहरु बिर्सेर बहुमतको अंकगणितमा तल्लीन भएको आरोप लगाए ।

‘मुलुकमा संघीयता खारेज गर्छु भन्ने दलसँग संघीयता बचाउँछु भन्ने दलले एउटै चुनावी गठबन्धन बनाएका छन्’–अध्यक्ष सुर्यवंशीले भने‘यसबाट संघीयता संरक्षण हुने हो कि खारेज हुने हो जनतालाई बुझ्नै गाह्रो ।’

यसैगरी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको चुनावी तालमेललाई इंगित गर्दै उनले ‘धर्म निरपक्षेता पक्षधर’ दल र ‘धर्म निरपक्षता खारेज गर्नुपर्छ’ भन्ने दल एउटै चुनाबी गठबन्धनमा रहेर कस्तो परिणाम आउला भनेर प्रश्न गरेका छन् ।

दलहरु आफ्नो र राष्ट्रिय मुद्दाभन्दा पनि चुनाब जित्ने अंकगणितको राजनीतिमा केन्द्रित भएको उनको आरोप थियो ।

जनमुक्तिले जारी गरेको घोषणापत्रमा भ्रष्टाचारलाई देशद्रोह सरहको अपराध घोषणा गर्ने, दलहरुले घोषणापत्र अनुसार नगरे सो विरुद्ध कानूनी उपचारका लागि न्यायलय जान पाउने व्यवस्था गर्ने, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, सबै नेपालीको स्वास्थ्य बीमा, काठमाण्डौबाहेक अन्य एक शहरमा देशको वैकल्पिक राजधानी निर्माण लगायतका बुँदाहरु समेटिएका छन् ।

पार्टीका महासचिव टोप अस्लामीले घोषणापत्र बाचन गर्दै मिटरब्याजी कार्यलाई गम्भीर अपराध घोषणा गर्नुपर्ने तथा सोही अनुसारको कारबाही हुने व्यवस्था गर्नुपर्ने उल्लेख गरे ।
यसैगरी निलम्बित प्रधानन्यायधीश चोलेन्द्रशमसेर राणाले संसदीय सुनुवाई विशेष समितिमा दिएको बनायनको सत्यतथ्य जाँचबुझ गरी सो अनुसार कारबाही अगाडी बढाउनु पर्ने उल्लेख गरे ।

पार्टीका प्रदेश अध्यक्ष झमबहादुर गुरुङले जनमुक्तिले पार्टीले तयार गरेको घोषणा पत्रको आधारमा मतदातासमक्ष मत मागिने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर