कृषिकर्ममा जुटेका संविधानसभा सदस्य श्रेष्ठ- जसलाई छोएको छैन चुनावी चटारोले – Nepal Press

कृषिकर्ममा जुटेका संविधानसभा सदस्य श्रेष्ठ- जसलाई छोएको छैन चुनावी चटारोले

सिन्धुपाल्चोक । संविधानसभाको पहिलो चुनावमा सिन्धुपाल्चोक क्षेत्र नम्बर-१ बाट एमाले उम्मेदवार थिए अरुण नेपाल, माओवादी केन्द्रबाट राजकुमार श्रेष्ठ र नेपाली कांग्रेसबाट मोहनबहादुर बस्नेत ।
१६ वर्षपछि आइपुग्दा साविकको क्षेत्र नम्बर १ बाट मुख्य प्रतिष्पर्धी यी तीनैजना अहिले तितरबितर छन् ।

२०६४ को निर्वाचनमा यो क्षेत्रबाट माओवादीका राजकुमार श्रेष्ठ निर्वाचित भएका थिए भने एमालेका अरुण नेपाल दोस्रो र कांग्रेसका मोहनबहादुर बस्नेत तेस्रो भएका थिए । त्यसपछिका दुई निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका मोहनबहादुर बस्नेत लगातार उम्मेदवार भए भने एमालेका अरुण नेपाल २०७० मा उम्मेदवार भए र २०७४ मा भने प्रदेशसभामा निर्वाचित भए ।

आउँदो मंसिर ४ को प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा यी तिनै अनुहारलाई मतदाताले भेट्ने छैनन् । कांग्रेस केन्द्रीय सदस्य मोहनबहादुर बस्नेत यो क्षेत्र माओवादी लिएपछि अहिले क्षेत्र नम्बर-२ मा पुगेका छन् भने एमालेका अरुण नेपाल प्रतिस्पर्धामा नभइ क्षेत्र नम्बर-१ को निर्वाचन परिचालन कमिटीका संयोजक भएका छन् । उनी एमाले पोलिटब्युरो सदस्य छन् । मोहनबहादुर बस्नेत कांग्रेसका केन्द्रीय सदस्य छन् भने अहिले सिन्धुपाल्चोक-२ बाट प्रतिनिधिसभाको उम्मेदवार भएका छन् । तर, राजनीतिक रूपमा सक्रिय र पहिलो संविधानसभा निर्वाचनमा प्रतिस्पर्धीभन्दा दोब्बर मतले विजयी भएका राजकुमार श्रेष्ठ अहिले राजनीतिका यी सबै खेलहरूबाट टाढा छन् ।

माओवादी केन्द्रबाट २०६४ मा चुनाव जितेर संविधान निर्माणका लागि पुगेका राजकुमार श्रेष्ठ भने अहिले राजनीतिमा छैनन् । उनी आफू दलगत राजनीतिमा नभएको अर्थात् अहिले ‘स्वतन्त्र’ भएको बताउँछन् ।

नेताहरूले महासंग्रामका रूपमा लिने चुनावको संघारमा राजनीतिमा स्थापित एकजना पात्र भने यतिबेला ‘गुमनाम’ छन् । सहयोद्धा ध्रुव पराजुली स्वतन्त्र उम्मेदवारी दिएर आफूलाई राजनीतिमा सक्रिय गराउन खोजिरहँदा श्रेष्ठ भने कृषि कर्ममा व्यस्त छन् ।

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिका तौथलीमा जन्मिएका राजकुमार श्रेष्ठ २०५४ सालदेखि माओवादीमा भूमिगत भए । युद्धकालमा उनको भूमिका हतियार निर्माणमा थियो । उनी सानाठूला दर्जनजति लडाइँमा सहभागी भएको सुनाउँछन् ।

माओवादी युद्ध छाडेर शान्तिपुर्ण राजनीतिमा आएपछि संविधानसभा निर्वाचन २०६४ मा उनी सिन्धुपाल्चोक-१ बाट विजयी भए । दोस्रो संविधानसभा चुनावमा पनि आकांक्षी रहेका उनले टिकट पाएनन् । माओवादीले ७० मा सरल सहयात्रीलाई उम्मेदवार बनाएको थियो । माओवादीमा रहँदा श्रेष्ठ बाबुराम भट्टराईनिकट थिए ।

एमाले-माओवादीबीच एकीकरणपश्चात नेकपामा ओलीनिकट मानिएका उनी पछि एमालेको वागमती प्रदेश कमिटीमा मनोनयनमा परे । अहिले उनी कुनै कमिटीमा छैनन् । आफू अहिले कुनै पार्टीमा नभएको बरु स्वतन्त्र भएर कृषि पेशामा आबद्ध रहेको उनी बताउँछन् ।

श्रेष्ठले २०६८ सालदेखि भक्तपुरमा जग्गा भाडामा लिएर तरकारी खेती थालेका थिए । साथीभाइसँग मिलेर तरकारी खेती गरेपनि अहिले भक्तपुर छाडेर उनी दोलखामा व्यावसायिक रूपमा कफी र किबी खेतीमा लगानी गरे । दोलखाको जुगु (ससुराली गाउँ) मा श्रेष्ठ एक्लै अहिले करिब २ सय रोपनी जग्गा भाडामा लिएर कफी, किबी र एभोकाडोको खेती गरिरहेका छन् । २ वर्षमात्र भएकाले आम्दानी भने दिन थालेको छैन । राजनीति छाडेर कृषि पेशा अँगाल्नुपर्नाको कारणबारे श्रेष्ठ भन्छन्, ‘आफूलाई खानको लागि आफैँले दुःख गर्नुपर्छ ।’

‘राजनीतिक छाडेको होइन, भूमिका बदलिएको मात्रै’

एमाले-मा‌ओवादी कहिँ पनि कमिटीमा नरहेको बताएका उनले राजनीति संघर्ष भन्दै आफू अहिले संघर्षकै एक पाटोमा रहेको बताए । चुनावमा उठ्नु र टिकट पाउनु मात्रै राजनीति नभएको उनको तर्क छ ।

‘राजनीतिलाई उत्पादनसँग जोड्नु पर्ने भएपनि अहिले ठूला व्यापारी, व्यवसायीसँग चन्दा असुल्ने, जनतालाई दुःख दिने प्रविृत्त रहेको र ढाँटछल नै राजनीति हो भन्ने मान्यता स्थापित भएको छ । हामी सबै आत्मनिर्भर हुनुपर्छ भन्ने मान्यतामा छौं तर अहिलेको राजनीतिक आत्मनिर्भरभन्दा पनि जनतालाई दुःख दिने गरेर भइरहेको छ म यसको विरोधी हुँ’, उनले भने ।

अहिले सिन्धुपाल्चोकमा कम्युनिष्ट पार्टीबाट निर्वाचनमा सहभागी भएकाहरू कोही पनि कम्युनिष्ट नभएको श्रेष्ठको आरोप छ । ‘

उहाँहरू उत्पादनमा कहाँ जोडिनुभएको छ ? आर्थिक गतिविधि के छ ? तर पनि ऐस आरामको जिन्दगी बिताइरहनुभएको छ, श्रमजीवि जनताको सेवक भन्नेहरूको जिन्दगी हेरौं न सबै थाहा भइहाल्छ नी’,
श्रेष्ठले भने ।

आफू वामपन्थी विचारधारासँग नजिक रहेपनि हिलेका कुनै पनि कम्युनिष्ट पार्टीमा नलाग्ने श्रेष्ठको भनाइ छ । कृषिलाई आधुनिकीकरण गर्नुपर्ने, प्रविधिको विकासमा जोड दिनुपर्ने भनेर अभियान थालेको उनले बताए ।

राजकुमार श्रेष्ठको युद्धकालमा नै दोलखाकी देवी खड्कासँग विवाह भएको थियो । २०६४ को निर्वाचनमा खड्काले पनि दोलखाबाट निर्वाचन जितेकी थिइन् । उनी अहिले माओवादीको केन्द्रीय सदस्य भएपनि राजनीतिमा धेरै सक्रिय छैनन् । उनी मंसिर-४ को निर्वाचनमा दोलखाबाट टिकटको आकांक्षी भएपनि माओवादीले दोलखाका माओवादीका संस्थापकमध्येका एक गंगाबहादुर कार्कीलाई उम्मेदवार बनाएपछि उनी पनि अहिले पतिसँगै अभियानमा छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर