लुम्बिनीमा प्रदेशसभाका ९ क्षेत्रमा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको उम्मेदवारी – Nepal Press

लुम्बिनीमा प्रदेशसभाका ९ क्षेत्रमा गठबन्धनविरुद्ध एकीकृत समाजवादीको उम्मेदवारी

रुपन्देही । सत्ता गठबन्धनमा रहेको नेकपा एकीकृत समाजवादीले लुम्बिनी प्रदेशस्थित ४ जिल्लाका ९ निर्वाचन क्षेत्रमा गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दर्ता गराएको छ ।

प्रदेशको ४ संघीय क्षेत्रमा मात्रै गठबन्धनले भागबन्डा दिएर प्रदेशमा निल बनाएपछि असन्तुष्ट सो पार्टीका नेताहरुलेप्रदेशसभाका ९ क्षेत्रमा उम्मेदवारी मनोनयन गरेका हुन् ।

पश्चिम नवलपरासी, कपिलवस्तु, अर्घाखाँची र बर्दियाका प्रदेशसभामा एकीकृत समाजवादीले उम्मेदवारी दिएको छ ।

दुई प्रतिनिधिसभा क्षेत्र रहेको नवलपरासीमा उसले १ (क) मा टंकप्रसाद खनाल र २ (क) मा प्रकाश भट्टराईलाई उम्मेदवार बनाएको छ ।

एउटामात्रै प्रतिनिधिसभा क्षेत्र रहेको अर्घाखाँचीमा प्रदेशसभा (क) मा रामबहादुर चौहान उम्मेदवार बनेका छन् । उनी एकीकृत समाजवादीका जिल्ला अध्यक्ष हुन् ।

प्रतिनिधिसभातर्फ ३ क्षेत्र रहेको कपिलवस्तुमा दुई जना उम्मेदवार उठेका छन् । १ (ख) मा फैजल खान र ३ (क) मा जीवलाल पौडेलले उम्मेदवारी दर्ता गरेका छन् ।

दुई प्रतिनिधिसभा क्षेत्र रहेको बर्दियामा चार जनाले उम्मेदवारी दिएको एकीकृत समाजवादी बर्दियाले जनाएको छ । १ (क) मा बखतबहादुर खड्का र (ख) मा डिलबहादुर बीसीको उम्मेदवारी दर्ता गरिएको छ । त्यस्तै २ (क) मा लक्ष्मीकान्त शर्मा र (ख) मा हर्कबहादुर शाही उम्मेदवार बनेका छन् ।

एकीकृत समाजवादीका सचिव तथा प्रदेश इन्चार्ज भागवत विश्वासीले गठबन्धनको भावनाविपरीत आफ्नो पार्टीलाई प्रदेशसभामा शून्य बनाएकाले पार्टीले पहिल्यै असहमति जनाएको बताए । उनका अनुसार पार्टीले कम्तीमा ७ प्रदेशसभामा दाबी गरे पनि सहमतिमा त्यो भावना समेटिएन ।

सत्ता गठबन्धनबाट एकीकृत समाजवादीलाई लुम्बिनीका ४ वटा संघीय क्षेत्र दिइएको छ । जसमध्ये रुपन्देही १ मा राजु गुरुङ, पाल्पा २ मा सोमप्रसाद पाण्डे, दाङ १ मा मेटमणि चौधरी र गुल्मी २ मा रामकुमारी झाँक्रीले उम्मेदवारी दर्ता गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर