प्रतिनिधिसभातर्फ दल र स्वतन्त्रबाट २१ सय २८ जनाको उम्मेदवारी दर्ता – Nepal Press

प्रतिनिधिसभातर्फ दल र स्वतन्त्रबाट २१ सय २८ जनाको उम्मेदवारी दर्ता

प्रदेशसभातर्फ २८४५ जनाको उम्मेदवारी

काठमाडौं । आगामी मंसिर ४ गतेका लागि तय भएको प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन अन्तरगत प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फ देशभर २ हजार १२८ जनाको उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन आयोगको सूचना प्रणालीमा प्रविष्ट भएका आधारमा अहिलेसम्म एक हजार ९३७ पुरुष र १९१ महिला गरी यति उम्मेदवारको उम्मेदवारी दर्ता भएको निर्वाचन आयोगले जनाएको हो ।

आयोगका अनुसार प्रदेशसभातर्फ भने २ हजार ८४५ जनाको उम्मेदवारी दर्ता भएको छ । जसमा २ हजार ६०० पुरुष, २४४ महिला तथा १ अन्यको पनि दर्ता भएको निर्वाचन आयोगका प्रवक्तासमेत रहेका सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए ।

उनका अनुसार प्रदेशसभातर्फ प्रदेश नं। १ मा ४४५ पुरुष, ४९ महिला गरी ४९४, मधेश प्रदेशमा ७११ पुरुष, ५५ महिला र १ अन्य गरी ७६७, बागमती प्रदेशमा ५६१ पुरुष, ७४ महिला गरी ६३५ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यस्तै गण्डकी प्रदेशमा १९९ पुरुष, २९ महिला गरी २२८, लुम्बिनी प्रदेशमा ४१४ पुरुष, २३ महिला गरी ४३७, कर्णाली प्रदेशमा ७९ पुरुष, २ महिला गरी ८१ र सुदूरपश्चिम प्रदेशमा १९१ पुरुष, १२ महिला गरी २०३ उम्मेदवारले प्रदेशसभा सदस्यका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

आगामी मङ्सिर ४ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फको निर्वाचनको मनोनयन दर्ता कार्य शान्तिपूर्ण रूपमा सम्पन्न भएको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले आइतबार उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको जनाएको हो ।

आयोगका अनुसार बिहान १० बजेबाट सुरु भएर साँझ ५ बजेसम्म तोकिएकोको समयभित्र सम्बन्धित निर्वाचन कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारको दर्ता कार्य अहिले पनि जारी रहेको छ ।

आयोगका अनुसार कतिपय जिल्ला र निर्वाचन क्षेत्रमा सञ्चार सम्पर्क सहज नभएकाले यकिन विवरण प्रविष्ट हुन बाँकी नै छ ।

दर्ता भएका उम्मेदवारको सूची आजै सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले प्रकाशन गर्ने कार्यक्रम रहेको छ ।

असोज २४ गते विहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन दर्ता भएका कुनै पनि उम्मेदवारविरुद्ध सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिन सकिने कार्यपालिका छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर