जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा जाने – Nepal Press

जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह पुनरावेदनमा जाने

काठमाडौं । जिल्ला अदालत नवलपरासीले अढाइ वर्षको जेल सजाय सुनाएपछि अभिनेता पल शाह पुनरावेदनमा जाने भएका छन् । अदालतको फैसलाप्रति असन्तुष्टि जनाउँदै उनको तर्फबाट पोखरा उच्च अदालतमा पुनरावेदन गर्ने तयारी भएको हो ।

जिल्ला अदालतले आज पल शाहले बाल यौन दुरुपयोग गरेको ठहर गर्दै उनलाई अढाइ वर्षको जेल सजायका साथै १० लाख रुपैयाँ क्षतिपूर्ति र २५ हजार जरीवानाको फैसला सुनाएको छ । उक्त फैसलामा आफूहरु सन्तुष्ट नरहेको पल शाहका वकिल कमलामोहन वाग्लेले बताए ।
‘कुनै पनि मिसिल-प्रमाणले कसुर प्रमाणित हुँदैन, त्यसैले यो फैसला नितान्त गलत छ,’ वाग्लेले भने, ‘हामी उच्चमा जान्छौं ।’

अदालतले बलात्कार नभएको ठहर गरेकोलाई सकारात्मक रुपमा लिन सकिँदैन भन्ने प्रश्नमा वाग्लेले भने, ‘विलकुल सकिँदैन । बाल यौन दुरुपयोग भने पनि त्यो कसुरदार नै हो । जबकि उ कसुरदार होइन भनिरहेका छौं । अब उच्च अदालतबाट न्याय पाउने आशा छ ।’

पीडित भनिएकी नाबालिगले पनि आफूमाथि कुनै यौन हिंसा नभएको भन्दाभन्दै अदालतले गरेको फैसलाले निजको छविमा दाग लाग्ने अवस्था आएको पनि उनले बताए ।

‘यसले पीडित भनिएकी नाबालिगमाथि पनि अन्याय भएको छ,’ उनले भने, ‘मलाई केही भएको छैन भन्दाभन्दै अदालतले तँमाथि यौन हिंसा भएको छ भनेर दाग लगाइदिनु गलत हो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *