आम निर्वाचन २०७९ : खटाइँदै साढे २ लाख बढी कर्मचारी – Nepal Press

आम निर्वाचन २०७९ : खटाइँदै साढे २ लाख बढी कर्मचारी

काठमाडौं । निर्वाचन आयोगले जनशक्ति व्यवस्थापन निर्देशिका, २०७९ स्वीकृत गरेको छ । आयोगले निर्वाचनमा खटिने कर्मचारीको २० लाख बराबरको सामूहिक दुर्घटना बीमासहितको निर्देशिका स्वीकृत गरेको हो ।

निर्देशिकाबमोजिम निर्वाचन आयोग, निर्वाचन कार्यालय, निर्वाचन अधिकृतको कार्यालय, मतदानस्थल तथा मतगणनास्थलमा जनशक्ति परिचालन गरिने आयोगका प्रवक्ता सहसचिव शालिग्राम शर्माले नेपाल प्रेसलाई जानकारी दिए । उनका अनुसार ७७ जना जिल्ला न्यायाधीश र ८८ जना न्याय सेवाका राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरहका कर्मचारी गरेर १६५ वटा निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृत नियुक्त गरिनेछ ।

नियमित जनशक्तिले नपुगेको अवस्थामा मात्र अन्य निकायबाट कर्मचारी माग गरिने उनको भनाइ छ । मतदान केन्द्रमा मतदाता संख्याका आधारमा कर्मचारी परिचालन गरिने आयोगले जनाएको छ ।

मुख्य निर्वाचन कार्यालयमा नौ-नौ जना कर्मचारी

आयोग स्रोतका अनुसार प्रत्येक निर्वाचन अधिकृतको कार्यालयमा मुख्य निर्वाचन अधिकृतसहित नौ जना कर्मचारी रहनेछन् । जसमा एकएक जना मुख्य निर्वाचन अधिकृत, सहायक निर्वाचन अधिकृत, लेखा अधिकृत वा लेखापाल, सहायक कर्मचारी र कम्प्युटर अपरेटर रहनेछन् । त्यस्तै दुई÷दुई जना सहयोगी कर्मचारी र एक जना सुरक्षा अधिकारी रहने आयोगले जनाएको छ । यसअनुसार १६५ निर्वाचन क्षेत्रमा मुख्य निर्वाचन अधिकृतसहित एक हजार ४८५ जना कर्मचारी परिचालन हुनेछन् ।

निर्देशिकाअनुसार मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश वा न्याय सेवाको राजपत्रांकित द्वितीय श्रेणी अर्थात उपसचिवसरह, सहायक निर्वाचन अधिकृत राजपत्रांकित द्वितीय श्रेणीको उपसचिव वा सोसरह नभए राजपत्रांकित तृतीय श्रेणी वा शाखा अधिकृतसरहको खटाइनेछ ।

यस्तै लेखा अधिकृत वा लेखापाल राजपत्रांकित तृतीय श्रेणी अर्थात शाखा अधिकृत वा सोसरह नभए राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बासरह र एकजना सहायक कर्मचारी राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायव सुब्बा वा सो नभए राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार वा सोसरहको खटाइने छ ।

कम्प्युटर अपरेटर राजपत्र अनंकित प्रथम श्रेणी अर्थात नायब सुब्बा वा सो नभए राजपत्र अनंकित द्वितीय श्रेणी अर्थात खरिदार, दुई जना श्रेणीविहीन सहयोगी कर्मचारी खट्नेछन् । सवारीसाधन भएमा एकजना सवारी चालक र एकजना मुख्य निर्वाचन अधिकृतको निजी सुरक्षा अधिकारी (पीएसओ) रहने निर्देशिकामा व्यवस्था गरिएको छ ।

मतदान केन्द्रको लागि साढे २ लाख कर्मचारी आवश्यक

निर्देशिकाअनुसार मतदाताको संख्याको आधारमा मतदान केन्द्रमा कर्मचारी खटाइनेछ । जसमा २५० जना मतदाता रहेको केन्द्रमा नौजना , ५०० जना मतदाता रहेको केन्द्रमा ११ जना र ५०० माथि मतदाता रहेको केन्द्रमा १२ जनासम्म कर्मचारी खटाइनेछ ।

हालै सम्पन्न स्थानीय तह निर्वाचनमा २१ हजार ९५५ वटा मतदान केन्द्र रहेको थियो । मतदाताको संख्या थपिएकाले करिब एक हजारसम्म मतदान केन्द्र थपिने आयोगको अनुमान छ । यसअनुसार २३ हजार मतदान केन्द्र पुग्नेछ । २३ हजार मतदान केन्द्रमा प्रतिकेन्द्र ११ जनाका दरले २ लाख ५३ हजार कर्मचारी खटाइनेछ ।

प्रत्येक मतदान केन्द्रमा एकएक जना मतदान अधिकृत, सहायक मतदान अधिकृत र मतदाता नामावली रुजु गर्ने कर्मचारी खटिनेछन् । मतपत्र दिन थप ४ जना, सहयोगी एक जना, स्वयंसेवकमा मतदान गरेका मतदाताको तथ्यांक राख्न एक जना, मतदाताको नङमा मसी लगाउन महिला एकजनासमेत गरेर दुई जना तथा एक जना मतदाताको लाइन व्यवस्थापन र अन्य सहयोगका लागि खटाइनेछ । पाँच सयभन्दा बढी मतदाता भएको केन्द्रमा थप एक जना स्वयंसेवक खटाइनेछ ।

स्रोतका अनुसार असोज ११ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुनेछ । सँगै मुख्य निर्वाचन अधिकृत नियुक्त भएर असोज २१ गतेदेखि कर्मचारी मुख्य निर्वाचन अधिकृतको कार्यालयमा हाजिर भइसक्नेछ आयोगले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर