महिला युरो २०२२ : सेमिफाइनलमा स्विडेनलाई हराउँदै घरेलु मैदानको फाइदा उठाउने योजनामा इङल्यान्ड – Nepal Press

महिला युरो २०२२ : सेमिफाइनलमा स्विडेनलाई हराउँदै घरेलु मैदानको फाइदा उठाउने योजनामा इङल्यान्ड

काठमाडौं । महिला युरो-२०२२ को पहिलाले सेमिफाइनल खेलमा आज स्विडेन र आयोजक इङल्यान्ड भिड्दैछन् ।

ब्रमल लेन स्टेडियममा हुने खेल नेपाली समय अनुसार मंगलबार राती १२ : ४५ बजे सुरु हुनेछ ।

घरेलु मैदान र घरेलु दर्शकबीच उत्कृष्ट जित निकाल्दै फाइनल पुग्ने लक्षसहित इङल्यान्ड मैदान उत्रिनेछ । तर इतिहास हेर्दा इङल्यान्डभन्दा स्विडेन बलियो देखिन्छ । फिफा वरियताको दोस्रो स्थानमा रहेको स्विडेन हालसम्म महिला युरोमा इङल्यान्डसँग सातौं पटक भिड्दैछ । यस अघिका ६ खेलमा इङलयान्डले स्विडेनविरुद्ध एक खेलमा मात्रै जित निकालेको छ ।

सन् १९८२मा आयेजना भएको पहिलो युरोकपको उपाधि जितेयता स्विडेन युरो कपमा तीनपटक फाइनल पुगेर पराजित भएको छ । यस्तै तीनपटक सेमिफाइनलबाट बाहिरिएको छ ।

समूह चरणम अपराजित रहँदै इङल्यान्ड क्वार्टरफाइनल पुगेको थियो । क्वार्टरफाइनल खेलको अतिरिक्त समयमा स्पेनमाथि २–१ को नतिजामा जित निकाल्दै इङल्यान्डले सेमिफाइनल यात्रा तय गरेको थियो ।

सेमिफाइनल पुग्नु इङल्यान्डका लागि नयाँ कुरा हैन, सन् २०१५ र २०१९ मा विश्वकप को फाइनल समेत पुगेको इङल्यान्ड दुवै फाइनलमा पराजित भएको थियो । इङल्यान्ड सन् २०१७मा युरो कपको फाइनल पनि पुगेको थियो । तर, युरो कप फाइनलमा नेदरल्यान्डसँग पराजित भएको थियो ।

इङल्यान्डकी फरवार्ड फ्रान किर्बी यी सबै हारहरुको साक्षि छिन् । र, यसपटका घरेलु मैदानमा स्विडेनविरुद्ध जित निकाल्दै फाइनल पुग्न उनी थप उत्प्रेरित छिन् ।

‘म फेरि अर्को मुख्य प्रतियोगितामा सेमिफाइनलमा पराजित भएर फाइनल नपुग्ने खेलाडी बन्न चाहान्न,’ उनले भनिन् । फाइनल पुग्न नसक्दाको पिडाले महिनौ सताउने गरेको म अनुभव गर्न चाहान्न । इङल्यान्ड टिम यस पटक फाइनल पुग्नुले धेरै ठूलो अर्थ राख्छ,’ उनले थपिन् ।

यस्तै, स्विडेनकी फरवार्ड कोसोभारे अस्लिानीले घरेलु टिमसँग खेल्दा निकैनै विशेष र रोमाञ्चक हुने बताएकी छिन् ।

‘दुवै टिमले आक्रामक फुटबल खेल्न खोजिरहेका छौँ । जुन खेल हामीलाई भने उपयुक्त हुनेछ । घरेलु टिमसँग खेल्नु निकैनै विशेष र रोमाञ्चक हुने गर्छ,’ उनले भनिन् । ‘उनीहरु रक्षात्मक र आक्रामक रुपमा उत्कृष्ट छन् । तर हामी पनि त्यसमा उत्तिकै अब्बल छौँ । हामी उत्साहित छौँ । हामी उत्कृष्ट टिमसँग प्रतिस्पर्धा गदैछौँ । तर, हामीलाई यो थाहा छ आयोजक टिमसँग खेल्नु निकैनै विशेष हुनेछ,’ अस्लिानीले थपिन् ।

महिला युरोको दोस्रो सेमिफाइनल बुधबार राती फ्रान्स र जर्मनीबीच हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर