प्रियंकाले दिएको जवाफ, जसले उनलाई मिस नेपालको ताज दिलायो – Nepal Press

प्रियंकाले दिएको जवाफ, जसले उनलाई मिस नेपालको ताज दिलायो

काठमाडौं । मिस नेपाल २०२२ को ग्रान्ड फिनाले शनिवार राती ललितपुरको गोदावरीमा सम्पन्न भयो । २४ जना प्रतिस्पर्धीलाई पछि पार्दै २४ वर्षीय प्रियंका रानी जोशीले मिस नेपाल वर्ल्डको उपाधि हात पारेकी छन् ।

प्रियंका ६ वर्षअघि ऐन भो मोडलिङ प्रतिस्पर्धाको फर्स्ट रनर अप पनि हुन् । मिस डिलाइटको उपाधिसमेत हात पारेकी जोशी पढाइमा पनि अब्बल छिन् । उनले विद्यालयको शिक्षा दार्जिलिङमा पूरा गरेकी हुन ।

दुई वर्षको अन्तरालपछि भएको यसपालिको मिस नेपाल अलि फरक तरिकाले आयोजना गरिएको थियो । यसपालि मिस ट्यालेन्ट भएन । कार्यक्रममा तीन मुख्य उपाधि सहित नौ वटा अरू विधा समावेश थिए । सम्पन्न ग्रान्ड फिनालेमा मिस नेपाल इन्टरनेसनल २०२२ न्यान्सी खड्का हुन सफल भइन् भने मिस नेपाल अर्थ २०२२ को ताज सरिसा श्रेष्ठले लगिन् ।

ब्युटी ह्विथ प्रपोजको उपाधि स्मारिका शर्माको हातमा पर्‍यो । त्यसै गरी फेस अफ २०२२ गंगा गुरुङ, मिस ब्युटिफूल हेयर रोज कँडेल, मिस फोटोजेनिक ममता ढकाल, मिस पपुलर च्वाइस न्यान्सी खड्का, मिस ग्ल्यामर सोफिया श्रेष्ठ, मिस इन्टेलेक्चुवल रोज कँडेल, मिस डिलाईट प्रियंका रानी जोशी र मिस कन्फिडेन्ट सरिसा श्रेष्ठ हुन सफल भए ।

कार्यक्रममा विभिन्न विधाबाट प्रतिनिधित्व गर्दै ११ जना जजहरूलाई जज प्यानलमा समावेश गरिएको थियो । जसमा मिस नेपाल वर्ल्ड २०१९ की विजेता अनुष्का श्रेष्ठ, सेवा निवृत्त लेफ्टिनेन्ट जनरल नेपाल भूषण चन्द, मिस नेपाल इन्टरनेशनल २०१७ नीति शाह, राज्य वाणिज्य बैंकका अध्यक्ष डा बलराम पाठक, मिस नेपाल १९९६ पुनम घिमिरे, नेपाल भारत सांस्कृतिक समन्वय संघ र समाज ललितपुरको विकास समितिका सदस्य तथा सल्लाहकार किशोर महर्जन, ड्रीम युनिभर्सल एलएलसी न्यूयोर्क युएसएका संस्थापक तथा सीईओ मिस लाक्पा तामाङ, इभेन्ट व्यवस्थापक तथा सल्लाहकार दीपक थापा, देशकै अग्रणी तेक्वान्दो खेलाडी मिस आयशा शाक्य, चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अन्तर्राष्ट्रियरूपमा परिचित मेकअप आर्टिस्ट तथा उद्यमी लेमी तामाङ रहेका थिए ।

आखिरमा प्रियंकाले कस्तो उत्तर दिएकी थिइन् जसले उनलाई विजेता बनायो ? उनलाई टप १२ मा सोधिएको प्रश्न र उत्तर यस प्रकार छन्:

प्रश्न–यो भनिन्छ कि शब्दहरूले पनि औषधीको काम गर्न सक्छ, दिन बिग्रिएर जिन्दगीलाई नराम्रो मानिरहेको व्यक्तिलाई के भन्न चाहनुहुन्छ ?

उत्तर– म विश्वास गर्छु कि हरेस खाएका व्यक्तिहरूको लागि शब्दहरू नै सबैभन्दा उचित औषधी हो । जब शब्दहरूले तपाईँलाई छुन्छ, त्यसले शारीरिक रूपमा मात्र छुँदैन, तपाईँको हृदयलाई पनि छुन्छ । जब शब्दहरूले तपाईँको हृदय छुन्छ, तब हरेक कुराले तपाईँलाई फरक पार्छ । हरेक कुराहरूले प्रभाव पार्छ । शब्दहरूले तपाईँलाई अघि बढ्न मद्दत गर्छ । तपाईँलाई राम्रो व्यक्तित्व विकास गर्न मद्दत गर्छ र तपाईँलाई दयालु बन्न प्रोत्साहन दिन्छ ।

जब तपाईँ मायाले कुरा गर्नुहुन्छ, तब तपाईँको हृदयले दया र करुणाको कुरा गर्छ, त्यसपछि एउटा विश्वासको सिर्जना हुन्छ जसलाई आशा भनिन्छ । र आशा नै मानवताको एउटा ज्योति हो जसले विविधतायुक्त यो संसारको हरेक तह चाहे त्यो राजनीतिक केन्द्र तह होस् या प्रदेश तहमा, यसले चारैतिर प्रकाश पार्छ । जब दयाका शब्दहरू बोलिन्छ, जब करुणाका शब्दहरू बोलिन्छ, अनि म तिनीहरूलाई भन्छु कि पर्खनुस्, अर्को दिन आउन बाँकी नै छ र त्यो दिनले तपाईँलाई अझ अगाडि लैजानेछ । राम्रा दिनहरू त आउँछ जान्छ तर आउने दिनहरूमा तपाईँ झन् बलियो हुनुहुनेछ । धेरै–धेरै धन्यवाद ।

टप १२ बाट छानिएर स्मारिका शर्मा, सुस्मिता बोगटी, सरिसा श्रेष्ठ, प्रियंका रानी जोशी, रोज कँडेल र न्यान्सी खड्का फाइनलमा पुगेका थिए ।

प्रियंकालाई टप ६ मा सोधिएको प्रश्न र उत्तर–

प्रश्न–तपाईँको विचारमा भविष्यमा आत्मनिर्भर र निडर महिला बन्नको लागि के गर्दा उदाहरणीय बन्न सकिन्छ?

उत्तर–२१ औँ शताब्दीको सुरुवातले विश्वभरका महिलाहरूका लागि सकारात्मक परिवर्तनहरूको खोजहरू ल्यायो । तिनीहरूले लडाइँको रूपमा सुरु गरे, आज हामी सबै खडा छौ ं। एउटै केटी परिवर्तनहरू खोज्नको लागि पर्याप्त शक्ति हो जसले अनुशासन, प्रेम र सम्पूर्ण संसारलाई एकसाथ ल्याउन सक्छे, किनभने नारीत्वको उदात्त सौन्दर्य उसमा संसारलाई समात्ने शक्तिलाई समानान्तर शक्तिमा राख्छ । र म त्यो शक्तिको उत्थान र सशक्तीकरणको लागि खडा छु । धन्यवाद ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *