कैलाली जिसस: उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति, कांग्रेससँग बेग्लै सम्झौता – Nepal Press

कैलाली जिसस: उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति, कांग्रेससँग बेग्लै सम्झौता

कैलाली । कैलालीमा नेकपा एमाले र नागरिक उन्मुक्ति पार्टीसँग जिल्ला समन्वय समितिका लागि सम्झौता गरेको नेकपा माओवादी केन्द्रले पुनः सत्तागठबन्धनसँग पनि सम्झौता गरेको छ ।

जेठ ३० गते सम्पन्न हुने जिल्ला समन्वय समितिका लागि जेठ १९ गते माओवादी, एमाले र नागरिक उन्मुक्तिले लिखित सहमति गरेका थिए । तर, त्यसको दुई दिनपछि पुनः माओवादी केन्द्रले सत्तागठबन्धनसँग पनि समन्वय समितिका लागि लिखित सहमति गरेको हो ।
शनिबार कैलालीका मसुरीयामा सम्पन्न बैठकमा समन्वय समितिका लागि तीन दलीय गठबन्धन गर्ने निर्णय भएको नेपाली कांग्रेस कैलालीका सभापति नारायणदत्त भट्टले जानकारी दिए ।

उनका अनुसार नेपाली कांग्रेसले प्रमुखसहित एक सदस्य, माओवादीको उपप्रमुखसहित तीन सदस्य र नेकपा एकीकृत समाजवादीको तीन सदस्य पाउने सहमति भएको छ ।

यसअघि एमाले र नागरिक उन्मुक्तिसँग भएको सहमतिमा माओवादीले चार सदस्य पाउने सहमति गरेका थिए । नागरिक उन्मुक्तिले प्रमुखसहित २ सदस्य र एमालेले उपप्रमुखसहित २ सदस्य पाउने सहमति गरिएको थियो । उक्त निर्णयमा माओवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हरि ज्ञवाली (अखण्ड) र केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा क्षेत्र नम्बर १ का इन्चार्ज सुरेन्द्र देवकरले सहमति जनाएका थिए । उनीहरू दुवैजनाको हस्ताक्षरसहितको निर्णय सार्वजनिक भएको थियो ।

शनिबार गठबन्धनमा माओवादीले तर्फबाट सम्झौता गर्नेमा माओवादीको तर्फबाट इन्चार्ज ज्ञवाली बैठकमा सहभागी भए पनि निर्णयमा सहभागी नभएको बताउँछन् । ‘उपस्थितिमा म सहभागी भएको हो तर, निर्णयमा म छैनँ’ उनले भने ‘मेरो पुरानो अडान छ ।’

शनिबारको बैठकमा उनको उपस्थितिमा नाम लेखिएको भए पनि हस्ताक्षर भने छैन । सहमतिमा कांग्रेसको तर्फबाट जिल्ला सभापति नारायण दत्त भट्ट, नेकपा एकीकृत समाजवादीको तर्फबाट केन्द्रीय सदस्य दीर्घ सोडारी, माओवादी केन्द्रका केन्द्रीय सदस्य विरभान चौधरी र कृष्ण चौधरी, माओवादीका जिल्ला संयोजक विरमान चौधरी, नेकपा एकीकृतमा जिल्ला उपाध्यक्ष विमल जोशी र सचिव खडक रावत, कांग्रेसका जिल्ला सचिव केशव मिश्रले हस्ताक्षर गरेका छन् ।

रोचक अंकगणित

माओवादी केन्द्र गठबन्धनमै फर्किने निर्णयसँगै कैलालीमा जिल्ला समन्वय समितिको निर्वाचन थप रोचक हुने देखिएको छ । १३ पालिका भएको कैलालीका गठबन्धनका तीन दल मिल्दा १३ मत पुग्छ । यहाँ कांग्रेसको आठ मत, माओवादी केन्द्रको चार मत र एकीकृत समाजवादीको एक मत रहेको छ ।

यता गठबन्धनइतर समूह अर्थात् एमाले र नागरिक उन्मुक्तिको सहमति यथावत् रहेको एमाले कैलालीका सचिव डेजी पाण्डेयले जानकारी दिए । यसो गर्दा कैलालीमा एमाले र नागरिक उन्मुक्तिको मत १२ पुग्न जान्छ । कैलालीमा एक जना स्वतन्त्र उम्मेदवार गोपाल हमालले भने अझैसम्म जिल्ला समन्वय समितिको विषयमा आधिकारिक प्रतिक्रिया दिएका छैनन् ।

गोपाल हमालले आफ्नो मत गठबन्धनलाई दिए गठबन्धनको मत १४ पुग्छ । एमाले–नागरिक उन्मुक्तिलाई दिए । दुवैको १३–१३ पुग्छ । स्वतन्त्र रूपमा निर्वाचन जितेका हमाल स्वतन्त्र बस्ने आँकलन गरिएको छ । उनी स्वतन्त्र रहे एमाले–नागरिक उन्मुक्तिको १२ र गठबन्धनको १३ पुग्छ ।

गठबन्धनका अर्काे रोचक नतिजा कैलारी गाउँपालिकाका अध्यक्ष राज समझ चौधरीको कारण पनि हुनसक्ने अनुमान गरिएको छ । उनी गठबन्धनका उम्मेदवार लाजुराम चौधरीलाई हराउँदै कैलाली गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । गठबन्धनको उम्मेदवारविरुद्ध उम्मेदवार बनेको भन्दै गठबन्धन र कांग्रेस दुवैले उनलाई कारबाही गरेको थियो । आफ्नो कारबाही फुकुवा नभएसम्म जिल्ला समन्वय समितिको निर्वाचनमा आफू तटस्थ बस्ने उनको घोषणा छ ।
‘मैले अहिलेसम्म क्लिन चिट पाएको छैन । ३० गतेसम्म त्यो आएन भने म तटस्थ बस्छु’ उनले भने ।

उनी र गोपाल हमाल तटस्थ बस्ने अवस्थामा एमाले–नागरिक उन्मुक्तिको मत र गठबन्धनको मत बराबर हुन जान्छ । त्यसपछि थप रोचक हुने अनुमान गरिएको छ ।
तर, कांग्रेस स्रोतले भने उनको कारबाही फिर्ता गराउन लागिपरेको जनाएको छ ।


प्रतिक्रिया

One thought on “कैलाली जिसस: उपप्रमुख पाउने भएपछि माओवादीले तोड्यो एमालेसँगको सहमति, कांग्रेससँग बेग्लै सम्झौता

  1. च्याँखे थापेर खान पल्केकाहरूकाे यस्तै हाे । जसले बढी दिन्छ उसैकाे दलाली गर्छन । मूल्य मान्यता भन्ने नै छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर