बजेटमा सुदूरपश्चिमः यी हुन् सरकारले सम्बोधन गरेका क्षेत्रहरू – Nepal Press

बजेटमा सुदूरपश्चिमः यी हुन् सरकारले सम्बोधन गरेका क्षेत्रहरू

कैलाली । सरकारले आगामी आर्थिक वर्ष २०७९-८० का लागि १७ खर्ब ९३ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सुदूरपश्चिम प्रदेशमा पनि महत्त्वपूर्ण विषयहरू समेटिएका छन् ।

अर्थमन्त्री जर्नादन शर्माले धनगढीको फाप्लामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान र खेल ग्राम निर्माण गर्न आवश्यक बजेट विनियोजन गरेको बताए।
नीति तथा कार्यक्रममा गेटा मेडिकल कलेजको विषय उल्लेख नभएको भन्दै विरोध भइरहेको बेला सरकारले गेटा मेडिकल कलेज सञ्चालन गर्ने बताएको छ ।

सेती र र महाकाली प्रादेशिक अस्पतालको समन्वयमा गेटामा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गरेका गरिएको छ । यस्तै उक्त मेडिकल कलेज सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत सञ्चालन हुने पनि बजेट भाषणमा अर्थमन्त्री जनार्दन शर्माले जनाए ।
धनगढी विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थल बनाउन सम्भाव्यता अध्ययन गर्ने जनाएको छ। ।
अहिले धनगढी विमानस्थल स्तरोन्नतिका लागि जग्गा अधिग्रहणको कार्य अगाडि बढाइएको छ। त्यसका लागि नागरिक उड्न प्राधिकरणले एक अर्ब बजेट विनियोजन गरेको छ भने चार किल्ला सिमाङ्कनको कार्य भइरहेको छ।

कैलालीको अत्तरियामा जडीबुटी प्रशोधन केन्द्र सञ्चालन गरिने र लम्की मा ट्रमा सेन्टर स्थापना गर्ने कार्यक्रम भने नयाँ हो । सबै प्रादेशिक अस्पतालहरूमा निःशुल्क डायलिसिस सेवा प्रदान गरिने उनले बताए । मन्त्री शर्माका अनुसार डायलिसिस सेवा प्रदान गर्न सरकारले आगामी आर्थिक वर्षका लागि डायलिसिस मेसिन खरिदका लागि २० करोड विनियोजन गरेको छ ।
सुदूरपश्चिमका सात देवीका मन्दिरलाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गरिने भएको छ। आगामी आर्थिक वर्षको बजेटमा उक्त योजना परेको हो।

आगामी आर्थिक वर्षमा सात देवीलाई पर्यटकीय स्थलका रूपमा प्रवद्र्धन गरिने जनाएका हुन्। उनका अनुसार डिलासैनी, निङलासैनी, मेलौली, शैलेश्वरी, उग्रतारा, त्रिपुरासुन्दरी र बडिमालिकामा उक्त योजना कार्यान्वयन हुने छ।
कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन हुने भएको छ। अर्थमन्त्री शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा कञ्चनपुरको चाँदनी दोधरामा सुख्खा बन्दरगाह निर्माणका लागि सम्भाव्यता अध्ययन गरी निर्माण कार्य अगाडि बढाइने जनाएका हुन्।

यसअघि २०७७ कात्तिकमा तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले कञ्चनपुरमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको घोषणा नै गरेका थिए। दोधारा चाँदनीको माया पुरी र गौरीशङ्कर सामुदायिक वन क्षेत्रमा सुख्खा बन्दरगाह निर्माणको शुभारम्भ भएको उनको दाबी थियो।

२०६४ सालमा कञ्चनपुरको दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह निर्माणका लागि सरकारले प्रस्ताव गरेको थियो। महाकाली पारी दोधारा–चाँदनीको गौरीशङ्कर र माया पुरी सामुदायिक जङ्गल क्षेत्रमा प्रस्तावित उक्त परियोजनाका लागि २ सय ८० बिघा जमिन प्राप्तिको सुनिश्चितता भइसकेको दाबी गरिएको छ। तेस्रो मुकुलसँगको व्यापारको ढोका खोल्न दोधारा–चाँदनीमा सुख्खा बन्दरगाह र एकीकृत चौकी अपरिहार्य छ।
यो परियोजना सुदूरपश्चिम प्रदेशमा विकासको कोशेढुंगा हुने अपेक्षा गरिएको छ। तर सरकारले सुख्खा बन्दरगाहका लागि प्रस्ताव गरेको १४ वर्ष बितिसक्दा पनि देखिने गरी भने कुनै काम हुन सकेको छैन।

कञ्चनपुरको दैजीमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन भएको छ। अर्थमन्त्री जनार्दन शर्माले बजेट भाषण गर्दै आगामी आर्थिक वर्षमा दैजीमा औद्योगिक क्षेत्र निर्माणका लागि बजेट विनियोजन गरेको जनाए। बजेट भने तोकिएको छैन।
यस्तै कैलालीको हरैयामा विशेष आर्थिक क्षेत्र स्थापनाको योजना पनि बजेटमा परेको छ। हुलाकी राजमार्गका २४ वटा पुल र तीन सय किलोमिटर छ अरब सात करोड विनियोजन गरेको छ ।

महाकालीमा चार लेन पुलका लागि ४१ करोड बजेट विनियोजन भएको छ।
सेती लोक मार्गको टीकापुर–उरै भन्ज्याङ खण्ड निर्माण गरिने भएको छ। कैलालीको टीकापुरदेखि बझाङको उरै भन्ज्याङ सडक खण्डको निर्माण कार्य अगाडी बढाइने सरकारले आगामी आर्थिक वर्षको बजेटमा उल्लेख गरेको छ।

कैलालीमा निर्माणाधीन रानी जमरा कुलरिया सिँचाइ आयोजनाका लागि सरकारले आगामी आर्थिक वर्षमा दुई अर्ब ९० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। रानी जमराको नयाँ निर्माण भएको नहरबाट पानी सञ्चालन गर्ने र विद्युत गृह सञ्चालन गरिने अर्थमन्त्री शर्माले बताए।
त्यस्तै कञ्चनपुरको महाकाली सिँचाइ आयोजना तेस्रो चरणका लागि एक अर्ब ५२ करोड रुपैयाँ विनियोजन गरिएको अर्थमन्त्री शर्माले घोषणा गरे।
सरकारले आगामी बजेटबाट डडेल्धुरामा मेडिकल कलेज स्थापना गर्न व्यवस्था मिलाइने जनाएको छ।
७५० मेगावाटको पश्चिम सेती र ३०९ मेगावाटको सेती – ६ जलविद्युत आयोजना निर्माणका लागी प्राविधिक तयारीका साथ निर्माण कार्य अगाडी बढाइने बताए । यस्तै, पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको निर्माणका लागि नेपालको तर्फबाट गर्नुपर्ने तयारी कार्यलाई तीव्रता दिइने उनले बताए । अर्थमन्त्री शर्माले चैनपुर–सेती आयोजना कार्यान्वयनमा लगिने समेत जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *