समुन्नत र सुरक्षित विराटनगर बनाउने योजनासहित मेयरमा मेरो उम्मेदवारी : नागेश कोइराला (भिडिओ) – Nepal Press
नेपाल टक

समुन्नत र सुरक्षित विराटनगर बनाउने योजनासहित मेयरमा मेरो उम्मेदवारी : नागेश कोइराला (भिडिओ)

'कोइराला परिवार जोडिएका कारण मैले टिकट पाएको होइन'

विराटनगर । कांग्रेसलाई महानगरपालिका उम्मेदवार टुंग्याउने क्रममा सबैभन्दा सकस विराटनगरको विषय बन्यो । नगर कमिटीले केन्द्रीय सदस्य अमृत अर्याल, डा. डिला संग्रौला, वर्तमान मेयर भीम पराजुली, जिल्ला उपसभापति नागेश कोइराला, बहालवाला उपमेयर इन्दिरा कार्की, महानगर सभापति दीपक चापागाईं, प्रदेश समिति सदस्य गोपाल रेग्मीको नाम मेयरका लागि सिफारिस गरेको थियो ।
जसमा सभापति देउवा अमृत अर्याल, कृष्णप्रसाद सिटौला भने भीम पराजुली तथा शेखर कोइरालाले नागेश कोइरालाको पक्षमा अडान लिए । चार दिनसम्म कांग्रेस बैठक आचार्य, पराजुली र कोइरालाका नाममा केन्द्रित भएको थियो ।

१४ औं महाधिवेशनमा कोइराला समूह छोडेर पराजुली सिटौला क्याम्पमा पुगेका थिए । सिटौलाको सिफारिसमा देउवा समूहबाट पराजुली केन्द्रीय सदस्यको उम्मेदवारमात्र बनेनन्, विजयीसमेत भए । अहिले पनि सिटौलाले मेयरमा पराजुलीलाई दोहोर्‍याइ नछोड्ने अडान लिएका थिए । तर, विराटनगरको मेयरमा उम्मेदवार चयनको विषयलाई शेखर कोइरालाले प्रतिष्ठाको लडाइँ बनाएपछि देउवा र सिटौला ‘ब्याक’ हुन बाध्य भए । अन्ततः शेखर कोइराला निकट नागेश कोइरालालाई कांग्रेसले विराटनगरको मेयरका रूपमा मैदानमा उतारेको छ । सभापति देउवाले विराटनगर शेखर कोइराला समूहलाई दिएर पार्टीभित्रको भागबन्डा पनि मिलाएका छन् । अहिले पाँच दलीय गठबन्धनका तर्फबाट विराटनगर महानगरपालिकाको मेयर पदमा कोइरालालाई अघि सारिएको छ ।

बुवा उमेश कोइराला र माता जया कोइरालाको कोखबाट वि सं २०३० सालमा जन्मिएका कोइराला विराटनगरका स्थायी बासिन्दा हुन् ।
विद्यालय अध्ययन गर्दादेखि नै राजनीतिमा लागेका कोइरालाले युनिभर्सिटी अफ बावियो फिलिपिन्सबाट जनप्रशासनमा स्नातकोत्तर अध्ययन गरेका थिए । २०५४ सालमा नेपाल तरुण दल मोरङको कोषाध्यक्ष भएका नागेश २०५६ सालमा सभापति भएका थिए । त्यस्तै २०६६ सालमा नेपाली कांग्रेस मोरङको कोषाध्यक्ष र २०७२ सालमा सचिवमा अत्यधिक मतका साथ निर्वाचित भएका । उनी २०७८ सालमा सम्पन्न १४ औं महाधिवेशनबाट उपसभापतिमा निर्वाचित भए ।

सामाजिक क्षेत्रमा समेत सक्रिय रहेका कोइरालाले अहिले मोरङ कांग्रेसका उपसभापति हुन् ।  नागेश कोइरालासँग नेपाल प्रेसले गरेको नेपाल टकमा ।

– विराटगर महानगरको मेयरमा उम्मेदवारी दिनुभएको छ । महानगर बनाउने खाका चाहिं तपाईसँग के छ ?

महानगरवासीको मन छुने खालका समस्याको समाधान गरी सन्तुष्ट बनाउने मेरो मूल मुद्दा रहन्छ । पुनर्निर्माणतर्फ हेर्दा दुई वटा कोरिडोर बनाउने योजना मेरो रहेको छ । जसको एकतर्फ केशलिया करिडोर र अर्कोतर्फ सिघिया करिडोर निर्माण गर्ने योजनामा छु । यी दुई वटा करिडोर निर्माण गर्न सकेमात्र पनि विराटनगरको सौन्दर्यले पक्कै पनि माइलेज पाउने छ । त्यसैगरी रानीदेखि दुहबीसम्मको नहरको बाटोलाई साइकल जोन बनाउने, त्यहाँ तटबन्ध गरी बोटिङको व्यवस्था गर्न सके पर्यटकीय हबको रुपमा विकास गर्न सकिने सम्भावना म देख्छु ।

विराटनगरलाई चिनाउने अर्को मुख्य कुराको फाकस इन्डष्ट्रिजको संरक्षण हो । विराटनगरको जुटमिल्सबाट मजदुर आन्दोलन सुरु भयो नेपालभरि । त्यो इतिहास छँदैछ । यही इतिहासलाई फर्काउने काम गर्नेछु । विराटनगर जुटको निर्यात गर्ने भनेर चिनाएको इतिहासलाई मेटिन पुग्ने अवस्थामा छ । जुट त छँदैछैन । एउटा जुट मिल पनि समस्याग्रस्त अवस्थामा चहिरहेको छ । त्यसलाई पनि प्रवर्द्धन गर्न सक्छौं । त्यसको ठूलो सम्भावना छ । यो बेल्टमा किसानहरुले पनि आयआर्जन गर्न सक्ने र उनीहरुले नै तोकेको मूल्यमा जुट मिलहरुले खरिद गर्न सक्ने व्यवस्था गरिनेछ । त्यसैगरी हामीसँग एउटा चिनी फ्याक्ट्री पनि रहेकाले त्यहाँ पनि किसानले आफूले निर्धारण गरेको मूल्यमा उखु बेच्न सक्ने वातावरण बनाउन सकेको खण्डमा विराटनगरको लागि उपलब्धि हुनेछ । थुपै सम्भावना छन् । तिनलाई पहिला सम्बोधन गर्ने पाइलट प्लान मसँग छ । मैले अहिले केही उदाहरणमात्र यहाँ प्रस्तुत गरेँ । यहाँ धेरै सम्भावना छन् । यो सबैलाई समेटेर नयाँ समुन्नत र सुरक्षित विराटनगर बनाउने योजनासहित मेयर उम्मेदवार भएको छु । शिक्षा, स्वास्थ्य र सरसफाइलाई प्राथमिकता दिएर काम गर्ने योजना छ । विराटनगरलाई मेडिकल हब बनाउने र विराटनगरवासीले चाहेको महानगर बनाउने मेरो अठोट रहेको छ ।

– यति धेरै महत्वाकांक्षी योजनाहरु अघि सारिरहँदा स्रोत व्यवस्थापनमा चुनौती हुन्न र ?

मेरो मुख्य एजेन्डा करको दायरा बढाएर दर घटाउने हो । विराटनगरवासीको गुनासो जहिल्यै पनि कर बढी भयो भन्ने भएकाले करको दायरा बढाएर अहिले लिइरहेको कर घटाउने पहिलो एजेन्डा हुनेछ ।

करको दायरा बढाउने, करको दायरामात्र बढाएर भएन, के के फ्लो गर्ने ? यदि करको दायरा बढाइरहँदा, मेनिप्युलेशन छ भने क, ख, ग र घ श्रेणीका जमिनहरु हुन्छन् । त्यस्ता खालका वर्गीकरण गरिएको उपभोक्ताले कर तिर्न आउँदा कर छली गर्ने गरेका छन् । यसलाई कर छली गर्न नसक्ने गरी डिजिटलाइट गरी, जे चिज एन्ट्री भयो, त्यसको पारदर्शी हुने रुपमा त्यसलाई व्यवस्थापन गरी कडाइका साथ करको रुल फ्लो गरेको खण्डमा र नगरपालिका भित्र हुने सबैखाले कमिकमजोरीमा कडाइ गरिएको खण्डमा महानगरको आयस्रोतमा निकै ठूलो वृद्धि गर्न सकिन्छ । यसलाई नै हामीले विकास निर्माणमा सही सदपुयोग गर्न सक्छौं । यसतर्फ मेरो ध्यान केन्द्रित हुनेछ ।

– विराटनगर विशेषतः औद्योगिक हबको रुपमा चिनिन्छ । तर, पछिल्ला समय उद्योगहरु थपिने भन्दा पनि बन्द हुने क्रम बढेको छ । विराटनगरको औद्योगिक हबको साखलाई जोगाउनेबारे तपाईसँग के छ प्लान ?

विराटनगर पुरानो सिटी हो । पहिले विराटनगर औद्योगिक सहर भनेर चिनिने सिटी हो । त्यसको साख गिरेको छ । अब फेरि उद्योगहरुलाई पुनःस्थापित गर्ने मेरो कर्तव्य रहनेछ । त्यसलाई बढाउँदा फेरि विराटनगरको गुमेको साखलाई पुनः जिवित गर्ने काम हुनेछ । जसले मेटिन लागेको औद्योगिक सहरको परिचयमा पुनर्ताजगी आउने छ । सँगसँगै हामीले बिर्सन नहुने कुरा भनेको विराटनगरसँग दुई ठूला इतिहास जोडिएको छ ।

एउटा, सात जना प्रधानमन्त्री जन्माएको छ विराटनगरले । अर्को, धार्मिक तथा ऐतिहासिक विराट राजाको दरबार रहेको छ । यो विराटनगरको इतिहाससँग जोडिएको छ । तसर्थ यी दुवै इतिहाससँग जोडिएका चिजलाई हामीले प्रवर्द्धन गर्न सकेको खण्डमा मात्र पनि विराटनगरको छुटै परिचय बन्न सक्छ ।

सर्वप्रथम सातवटा प्रधानमन्त्री जन्मिाएकोले उनीहरुको नाममा संग्रहालय बनाउने योजना छ । त्यसैगरी राजा विराटको दरवारलाई व्यवस्थित गर्दै त्यसलाई पुनःस्थापित गर्नुपर्ने दायित्व छ । यी दुई कुरा गर्न सकेको खण्डमा विराटनगरलाई मुलुकभित्र मात्र नभएर विश्वभर चिनाउन सक्नेछौं ।

– हिजो विराटनगर आर्थिक नगरीका रुपमा रहेको थियो । तर, अहिले महानगर अन्यभन्दा पुछारमा किन रहन गयो ?

पछिल्लो समय लामो समयसम्म स्थानीय तहमा जनप्रतिनिधिको रिक्तताका कारण पनि यस्तो भएको हो । त्यसैगरी केन्द्रले पनि सबै कुराले विराटनगरलाई ठग्ने काम गरेको छ । विभिन्न आन्दोलनका कारण पनि विराटनगर खस्किएको देखिन्छ । अब फेरि विराटनगर पुरानै लयमा फर्कने अवस्था आउँदैछ । त्यसका लागि हामी राजनीतिक दल, समाजका अगुवाले लिडरसिप लिन आवश्यक छ । विराटनगर बनाउन प्रदेश र केन्द्रमा पनि हरतरहबाट अबका दिनमा दबाब दिन पर्छ । त्यसो भएको खण्डमा विकासको मुहार फेरिन धेरै समय कुर्न पर्दैन । भिजन र योजनामा काम गरे पुग्छ ।

– विराटनगर महानगरमात्र नभएर प्रदेशको राजधानी पनि हो । यसलाई राजधानीको स्वरुपमा लैजान संरचनागत रुपमा गर्नपर्ने के कस्ता योजना छन् ?

पहिला त नगरभित्र भएका सरकारी जग्गाको पहिचान गर्ने र त्यो जग्गा प्रदेश सरकारलाई उपलब्ध गराउने । त्यसमा प्रदेशसँगको सहकार्यमा आवश्यक भौतिक संरचना बनाउनेलगायतका काम गर्न सकिन्छ । समय र आवश्यकताअनुसार तथा विराटनगरले मागेअनुसार हामी काम गर्ने अठोट गर्छौं । त्यसका लागि महानगरको बजेटबाट मात्र असम्भव छ । प्रदेश र केन्द्र सरकारको सहायता लिएर काम गर्नेछौं ।

– महानगरवासीले तपाईलाई मत किन दिने ?

म मेयरको उम्मेदवार भइरहँदा विशेष पाँच वटा कुरा छन् । एउटा, करको दायरा बढाउने र कर दर घटाउने हो । शिक्षा, स्वास्थ्य, खानेपानी र सरसफाइ मूल एजेण्डा हो मेरो । बाढी डुबानको समस्या छ, त्यसको व्यवस्थापन गर्ने हो । १० हजार बढी सुकुम्बासी रहेका छन्, उनीहरुलाई एकीकृत बस्ती विकास गरी व्यवस्थापन गर्ने योजना छ ।

विराटनगरको क्षेत्रफल ७७ वर्ग किलोमिटर छ । कतैतिर विकास धेरै, कतै कम भएको पनि छ । त्यसलाई समान ढंगले विकाको पहुँचमा पुर्‍याउने काम हुनेछ । बिजुली महसुल सहुलियत दिनेलगायतका कारणले मलाई नगरवासीले भोट दिनु हुनेछ भन्ने लाग्छ ।

– एमालेलगायतका उम्मेदवारहरु घरदैलोमा छन् । तपाईंहरु गठबन्धन चाहि किन ढिलो ?

घोषणापत्र अर्थात प्रतिबद्धतापत्र बनाउन ढिलाइ भएको जस्तो लाग्दैन । समय अनुकूल नै हो, आज त नोमिनेशन फिर्ता लिने समय हो । भोलि या पर्सिसम्म्म हाम्रो घोषणापत्र जारी हुनेछ । सिंगल दलको भए एक खालको वातावरण हुन्थ्यो । सबै दललाई मिलाएर अघि बढ्नुपर्ने भएकाले ढिलो भएको हो । तर, चाँडै घोषणापत्र जारी गरेर नगरवासीको घरआँगनमा पुग्नेछौं ।

– कांग्रेस नेता शेखर कोइराला तपाईंको नातेदार भएकै आधारमा अरु नेताहरुलाई पाखा लगाएर मेयरको टिकट पाउनुभएको भन्ने तपाईमाथि चार्ज छ । यस्तो स्थितिमा पार्टीभित्रबाटै असहयोग हुने सम्भावना कति देख्नुभएको छ ?

म दुई वर्ष नेपाल तरुण दलको कोषाध्यक्ष भएँ । १३ वर्ष तरुण दलको अध्यक्ष भएँ । त्यसपछि पाँच वर्ष पार्टीको कोषाध्यक्ष भएँ । पाँच वर्ष सचिव भएँ । अहिले उपसभापति छु । यो सबै जोड्दा २३ वर्ष मैले नेपाली कांग्रेसमा बिताएको छु । के अझै म मेयरका लागि योग्य भएको छैन त ? मैले कोइराला भएकैले टिकट पाएको पक्कै पनि होइन । क्षमता र योग्यता पनि सँगै जोडिन्छ । मैले पार्टीको लागि गरेको योगदान, समाजका लागि गरेको योगदानको मूल्याङ्कन हो नि यो त ? त्यसैले यसलाई कोइराला परिवार भनेर हेर्दिनु भएन । म नागेश कोइरालामात्र होइन, म नागेश विराटनगरवासी भनेर चिनाउन चाहन्छु । त्यसरी तपाईंहरुले चिनाइदिनु पर्‍यो । मेरो लामो संघर्षबाट पाएको हो । कोइराला परिवार जोडिएका कारण मैले टिकट पाएको होइन । यति बुझिदिनु पर्‍यो ।

विराटनगरको जुटमिल्सबाट मजदुर आन्दोलन सुरु भयो नेपालभरि । त्यो इतिहास छँदैछ । यही इतिहासलाई फर्काउने काम गर्नेछु । विराटनगर जुटको निर्यात गर्ने भनेर चिनाएको इतिहासलाई मेटिन पुग्ने अवस्थामा छ । जुट त छँदैछैन । एउटा जुट मिल पनि समस्याग्रस्त अवस्थामा चहिरहेको छ । त्यसलाई पनि प्रवर्द्धन गर्न सक्छौं ।

अर्को कुरा, बजारमा धेरै चर्चा पनि भइरहेको छ । म यो कुरा क्लियर गर्न चाहन्छु, म पार्टीको उपसभापति हो, कार्यसम्पादन गर्न व्यक्तिमात्र हो, सामान्य कार्यकर्ता र हामीमा केही फरक छैन । हामी बराबर हैसियतमा छौं । हामी यो घरका सदस्यमात्र हौं । एउटा साधारण सदस्यको हैसियत जति छ यो पार्टीमा, मेरो पनि अवस्था उस्तै हो । तसर्थ टिकट पाउने कुरामा शीर्ष नेता ठूलो–सानो भन्ने कुरा छैन हाम्रो पार्टीमा । हामी सबैले मेयरको दाबी गरेको अवस्थामा पार्टीको सर्वोच्च निकायले मलाई यो ठाउँमा यतिको व्यक्ति पठाउँदा ठिक्कै हुन्छ भनेर पठाउँदा सबै साथीहरु एकजुट भएर काम गर्ने हो । न कोही ठूलो न त कोही सानो । यो मामिलामा सबै बराबरी हो । पार्टीभित्र हामी सबै सच्चा सिपाहीको रुपमा काम गरिरहेका छौं । सबै साथीहरु मिलेर काम गर्ने हो यसमा ।

– केन्द्रले गठबन्धन गरेर जाने निर्णय गर्‍यो तर स्थानीय तहमा गठबन्धनभित्र त भद्रगोलको अवस्था छ नि ?

मलाई त सन्तोषजनक नै छ भन्ने लाग्छ । यसमा जिल्ला तहमा गठबन्धनभित्रका दलहरु सबै संवेदनशील छौं । यसमा केन्द्रसँग पनि लगातार कुरा भइरहेको छ । जिल्ला तहमा पनि दलहरुबीच छलफल जारी छ । मैले गर्नुपर्ने सहजीकरण निरन्तर गरिरहेको छु । केन्द्र यसबारे जानकार छ । उहाँहरुले चाँडै यो विषयलाई मिलाउनु हुनेछ भन्ने मैले विश्वास लिएको छु ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर