जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत – Nepal Press

जुगलको संयोग- गाउँपालिका अध्यक्षले आफूसँग हार्नेलाई कांग्रेसबाट एमालेमा गरे स्वागत

काठमाडौं । ठिक ५ वर्षअघि यतिबेला होमनारायण श्रेष्ठ र जयबहादुर लामा एक अर्काको प्रमुख प्रतिस्पर्धीका रुपमा जनताबीच भोट माग्न हिँड्दै थिए । प्रतिस्पर्धामा एमालेका होमनारायण श्रेष्ठले जिते, जयबहादुर १८१ मतको अन्तरले स्तब्ध भए ।

यो थियो सिन्धुपाल्चोकको जुगल गाउँपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनको दृष्य । त्यस चुनावमा एमालेका श्रेष्ठ २७१८ मतसहित बिजयी हुँदा जयवहादुर लामाले २६३७ मत पाएका थिए भने तेस्रो स्थानमा माओवादीका रेशम स्याङ्बोले २४४५ मत पाएका थिए ।

पाँच वर्षपछि शनिबार ठिक उल्टो दृष्य देखियो । आफूसँग झिनो मतान्तरले पराजित जयवहादुरलाई एमालेमामा भित्र्याउँदै उनैलाई गाउँपालिका अध्यक्षको उम्मेदवार बनाउने कार्यक्रमको सञ्चालक होमनारायण श्रेष्ठ थिए । गाउँपालका महासंघका अध्यक्ष समेत रहेका श्रेष्ठले यसअघि नै विपक्षीहरुको गठबन्धन भए आफैं भिड्ने नत्र अरुलाई मौका दिने बताएका थिए ।

नेपाली कांग्रेस सिन्धुपाल्चोकका पुराना नेता जयबहादुर लामा अन्ततः नेकपा एमालेमा प्रवेश गरेका छन्। लामासहित जुगल गाउँपालिका ५ का वडा अध्यक्ष सनत अधिकारी पनि एमाले प्रवेश गरेका छन्।

सोही कार्यक्रममा कांग्रेस केन्द्रीय यातयात विभागका सदस्य नबिन्द्र योन्जन,तरुण दलका नेतालगायत एक सय बढी काग्रेस कार्यकर्ता एमाले मा प्रवेश गरेका छन। उनीहरुलाई एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङ ,पोलिट्ब्युरो सदस्य अरुण नेपाल ,केन्द्रीय सदस्यहरु दावा तामाङ ,सरेश नेपाल ,जिल्ला अध्यक्ष कमल नेपाल लगायतले स्वागत गरेका थिए ।

पार्टी प्रवेश गरेसँगै लामालाई एमालेले जुगल गाउँपालिकाको अध्यक्षको उमेदवारसमेत बनाएको छ। काग्रेसबाट गाउँपालिकाको दाबेदार भए पनि का‌ंग्रेसले हिमाल श्रेष्ठलाई टिकट दिएपछि लामासहितका नेताहरुले पार्टी परित्याग गरेका हुन्।

सोही कार्यक्रममा वडा नम्बर ३ का वडा अध्यक्ष सानोकान्छा तामाङ पनि प्रवेश गरेका छन् । २०७४ मा कांग्रेसले जुगल गाउँपालिकाका दुई वडामा अध्यक्ष जितेको थियो ,अब दुवै वडा अध्यक्ष एमाले प्रवेश गरेका छन् ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर