इनरुवामा पनि भाँडियो गठबन्धन, मेयरमा नेकपा एसबाट पत्रकार सुवेदीसहित तीनजना सिफारिस – Nepal Press

इनरुवामा पनि भाँडियो गठबन्धन, मेयरमा नेकपा एसबाट पत्रकार सुवेदीसहित तीनजना सिफारिस

सुनसरी । सुनसरी सदरमुकाम इनरुवा नगरपालिकाको उम्मेदवारीबारे सत्तारुढ गठबन्धनमा कुरा नमिलेपछि नेकपा (एकीकृत समाजवादी)ले मेयर पदका लागि तीनजनाको नाम केन्द्रमा सिफारिस गरेको छ ।

उपमेयरसहित चार वडाध्यक्ष दाबी गरेको समाजवादीलाई माओवादी केन्द्रले उपमेयर छोड्न तयार नभएपछि बेग्लै उम्मेदवार सिफारिस गरिएको हो ।

कांग्रेस–माओवादीको ‘असहिष्णु व्यवहार’बारे छलफल गर्न शुक्रबार बिहान नगर अध्यक्ष सुवास राईको अध्यक्षता र जिल्ला सचिव वसन्त सुवेदीको प्रमुख आतिथ्यतामा बसेको मेयरका लागि जिल्ला सचिव वसन्त सुवेदी, समाजवादी प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदी र प्रदेश कमिटी सदस्य तीर्थ अधिकारीको नाम सिफारिस गरेको छ ।

सिफारिस हुनेमध्ये सचिव सुवेदी भर्खरै अखिलको राजनीतिबाट पार्टीको जिम्मेवारीमा गएका युवा हुन् भने प्रेस संगठनका वरिष्ठ उपाध्यक्ष सुवेदी केन्द्रीय राजनीतिमा सक्रिय छन् । अधिकारी भने खेलकुद क्षेत्रबाट पार्टी राजनीतिमा लागेका हुन् ।

नगर कमिटीको बैठकले शनिबारसम्म उपमेयरसहित १० वटै वडाध्यक्षको नाम सिफारिस गर्ने नगर अध्यक्ष राईले बताए । ती नामहरु अनुमोदन गरी पार्टीकै चिह्नमा चुनावमा भाग लिने गरी प्रदेश र केन्द्रबाट अनुमति पाइने विश्वास राईले व्यक्त गरेका छन् ।

नगर कमिटीको बैठकमा पार्टी जिल्लाका सचिवालय सदस्य विनोद कटुवाल, नगर इञ्चार्ज राजेश दाहाल, प्रदीप खड्का, बाबुराम दाहाल, राहुल सिंह, रोजन आचार्यसहितको उपस्थिति थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर