लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब – Nepal Press

लुम्बिनीका चार उपमहानगरमा एउटै भाग नपाएपछि नेकपा एस रुष्ट, यस्तो छ बदलिएको हिसाब

रुपन्देही । लुम्बिनी प्रदेशका ४ उपमहानगरपालिकामध्ये सत्तागठबन्धनमा रहेका पाँच दलले तीनवटामा नेपाली कांग्रेस र एक माओवादीलाई नेतृत्व दिनेगरी बाँडफाँट गरेका छन् । गत स्थानीय तहमा ३ उपमहानगर प्रमुख र उपप्रमुख नै एमालेले जितेकाले त्यो विरासत तोड्नका लागि गठबन्धन गरिएको उनीहरुको भनाइ छ ।

रुपन्देहीको बुटवल, दाङको घोराही र तुल्सीपुर तथा बाँकेको नेपालगन्ज चारै उपमहानगरमा अहिले गठबन्धनमा रहेका कुनै दलको नेतृत्व थिएन । बुटवल, घोराही, तुल्सीपुरमा एमालेले प्रमुख उपप्रमुख नै जितेको थियो भने नेपालगन्जमा मेयरमा राप्रपा विजयी भएको थियो ।

दोस्रो र तेस्रो अर्थात कांग्रेस र माओवादीको मत जोड्दा एमालेभन्दा धेरै भएका कारण पनि यो पटकको चुनावी अंक गणित कस्तो हुनेछ ? भन्ने जोडघटाउ सुरु भएको छ । एमालेले जितेको बुटवलमा कांग्रेस, माओवादी र जनमुक्तिको गठबन्धन रहेको थियो भने दाङमा अलग अलग प्रतिस्पर्धा थियो ।

बाँकेमा एमालेबाट ०५४ सालमा मेयर बनेका डाक्टर धवलशमशेर राणा राप्रपाबाट जितेका थिए । अहिले एमालेबाट छुटिएर बनेको नेकपा एस, जनमोर्चा, जसपा, र यसअघि अधिकांश पालिकामा गठबन्धन गरेको कांग्रेस र माओवादीसमेतको गठबन्धनले एमालेको विरासत जसरी पनि तोड्ने भनेर योजना बनाइसकेको बताएका छन् ।

भागवण्डापछि बुटवलबाहेकका उपमहानगरमा दलहरुबीच विवाद बढेको छ । बुटवलको मेयर अन्य पार्टीले खासै बलियो तरिकाले दाबी नगरेपनि नेपालगन्जमा जसपा, घोराहीमा कांग्रेस र तुल्सीपुरमा माओवादी तथा नेकपा एसले अन्तिमसम्म दाबी गरेका थिए । निर्णय भइसकेपछि पनि ती पालिकामा दलका अलग अलग बैठक बसेर गठबन्धनको निर्णय मान्न नसकिने बताइरहेका छन् ।

अर्कोतिर तत्कालीन अवस्थामा माओवादीमा रहेको अधिकांश नेता कार्यकर्ता र तराईमधेसका धेरै अन्य पार्टीबाट एमालेमा प्रवेश गरेकाले गत निर्वाचनको तथ्यांक जोडेर मूल्यांकन गर्न नहुने विषय अहिले चर्चामा छ । एमालेबाट छुट्टिएको नेकपा एसको जनपरीक्षण नभएकाले एमाले र नेकपा एसले आफ्नो दाबी गरिरहेका छन् । भने तराईमा बढी प्रभाव रहेका जसपा र लोसपाको परीक्षण नभएकाले अहिले आंकलन गर्न बढी कठिन छ ।

बुटवल उपमहानगरपालिका

एमाले उपाध्यक्ष विष्णु पौडेलको गृहनगर बुटवलमा गत निर्वाचनमा नेपाली काँग्रेस, माओवादी केन्द्र र जनमुक्ति पार्टीको गठबन्धनलाई पराजित गर्दै बुटबल उपमहानगरको प्रमुख र उपप्रमुख दुवैमा एमाले विजयी भएको थियो । प्रमुखमा एमालेका शिवराज सुवेदी २३ हजार २४९ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका खेलराज पाण्डेले २० हजार ८५१ मत प्राप्त गरेका थिए ।

त्यस्तै उपप्रमुखमा नेकपा एमालेकै गुमादेवी आचार्यले २५ हजार ३०१ मत प्राप्त गरी विजयी हुँदा गठबन्धनमा माओवादीबाट उम्मेदार बनेका जगत पोखरेलले १४ हजार ७९२ मत ल्याएका थिए । अहिले पोखरेल एमालेमा छन् । उनी मात्र होइन बुटवलमा रहेका धेरै माओवादी एमालेमा प्रवेश गरेकाले माओवादीको संगठन कमजोर बनेको छ । यहाँबाट एमालेले आफ्नो विरासत जोगाउन कसलाई पठाउँछ त्यो चासोको विषय छ । अहिलेका मेयर शिवराज सुवेदी दोहोरिन चाहेका छन् भने अघिल्लो पटक मेयरकै अन्तिम तीनमा परेका बाबुराम भट्टराई र गोपाल राना बलिया दावेदार हुन् । बहालवाला उपमेयर गुमादेवी आचार्य पनि मेयरमै दावेदारी गरेकी छन् । तर कसैको निर्णय हुन सकेको छैन ।

कांग्रेसबाट अघिल्लो निर्वाचनका बलिया प्रतिस्पर्धी खेलराज पाण्डेको नाम नगरबाट सिफारिस भएर गइसकेको छ । तर यो निर्णय एकपक्षीय भन्दै उनकै समूहका हरि लम्सालसहितको ठूलो समूहले विरोध गरेकाले यसलाई कांग्रेसले कसरी मिलाउनसक्ला भन्ने चासोको विषय बनेको छ । यहाँबाट उपमेयर नेकपा एसले पाएपनि कसलाई पठाउने निर्णय गरेको छैन । यहाँबाट राप्रपाले संचारउद्यमी मृगेन्द्र शेरचनलाई उम्मेदवार घोषणा गरिसकेको छ ।

घोराही उपमहानगरपालिका

नेपाली कांग्रेसले आफ्नो बलियो क्षेत्र भनेर दावी गरेको घोराहीमा भागवण्डामा माओवादीले पाएको छ । माओवादीले हेमराज शर्मा डायमण्डलाई मेयरमा पठाउने निर्णय गरिसकेको छ । तर उपमेयर पाएको कांग्रेसले कसलाई पठाउने निर्णय गरेको छैन । माओवादीलाई जिताउन नसकिने भन्दै स्थानीय कांग्रेस नेताहरुले सामाजिक सन्जालमा आफ्ना धारणा लेख्न थालेका छन् ।

एमाले महासचिव शंकर पोखरेल तथा माओवादी नेता कृष्णबहादुर महराको गृहजिल्ला दाङमा दुई उपमहानगर छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा एमालेका नरुलाल चौधरी २२ हजार ३० मतसहित विजयी भएका थिए । सो समयमा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्री १७ हजार ४८४ प्राप्त गर्दा माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएका थिए ।

घोराहीमा योपटक एमाले एक्लै लडे आफ्नो विरासत जोगाउला त ? भन्ने प्रश्न उठ्न थालेको छ । उपमेयरमा एमालेकै सीता न्यौपाने धेरै मतले विजयी भएकी थिइन् । उनले २० हजार ७९२ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुष्पा श्रेष्ठ १७ हजाार ६०३ मा मत ल्याएकी थिइन् । यहाँबाट पनि एमालेका नरुलाल चौधरी दोहोरिने निश्चितजस्तै छ । उनी महासचिव शंकर पोखरेल निकट भएकाले पनि टिकट पाउने धेरैले आंकलन गरेका छन् ।

कांग्रेस र माओवादी दुवैले यहाँ मेयरको दावी गरेकाले नेताहरुको चर्चा कम भएको छ । यहाँबाट माओवादीको ठूलो समूह नै एमालेमा प्रवेश गरेकाले ऊ कमजोर रहेको कांग्रेसको दाबी छ ।

तुलसीपुर उपमहानगरपालिका

तुल्सीपुर उपमहानगरपालिकाको मेयर कांग्रेस र उपमेयर नेकपा एसलाई परेको छ । यसअघि मेयर र उपमेयर दुवैमा एमालेले विजयी भएको थियो । एमालेका उम्मेदवार घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मत प्राप्त गर्दै विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मतसहित दोस्रो हुँदा नेकपा माओवादी केन्द्रका शेषुराम भण्डारीले ८ हजार ६ सय ९३ मत प्राप्त गरेका थिए ।

उपमेयरमा एमालेकी माया आचार्य २१ हजार ३७ मत प्राप्त गर्दै विजयी हुँदा उपमेयरका प्रत्यासी कांग्रेसकी देबकी नेपालीले २० हजार १ सय ८५ मत गर्दा नेकपा माओवादी केन्द्रका सीता ओलीले ९ हजार ५१ मत प्राप्त गरेकी थिइन् । यहाँबाट एमालेले यसअघि पार्टीको जिल्ला अध्यक्ष रहेका टिकाराम खड्कालाई उठाउने निश्चितजस्तै छ । यहाँबाट कसलाई पठाउने भनेर निर्णय कुनै पार्टीले गर्न सकेका छैनन् ।

नेपालगञ्ज उपमहानगरपालिका

भागबण्डामा जसपाले दाबी गरेको नेपालगञ्ज उपमहानगर पालिका नेपाली कांग्रेसलाई परेपनि यहाँ गठबन्धन नगर्ने जसपाले भनिसकेको छ । भागवण्डामा मेयर नेपाली कांग्रेस तथा उपमेयर जसपालाई परेको हो । यसअघि राप्रपाका धवलशमशेर राणाले १२ हजार ५ सय १५ मत ल्याएर मेयर बनेका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका सुरेशकुमार कनौडियाले ८ हजार ७३० मत ल्याएका थिए ।

तेस्रो स्थानमा आएका माओवादीका उम्मेदवारले ७ हजार १९८ मत ल्याएका थिए । एमाले चौथो स्थानमा थियो । हाल राप्रपा र एमालेको गठवन्धनको त्यस्तै कांग्रेस,माओवादी सहितको गठवन्धनका कारण नेपालगञ्ज उपमहानगरपालिकाको चुनावी रौनक बढ्ने देखिन्छ । नेपालगञ्जको उपमेयरमा कांग्रेसकी उमा थापामगर विजयी भएकी थिइन् । उनले राप्रपाकी उम्मेदवारलाई करिब २ हजार मतले पछि पारेकी थिइन् । यहाँका मेयर राणा नदोहोरिने भनिसकेका छन् भने नेकपा एमालेले केही महिना अघि प्रवेश गरेका पशुपतिलयाल मिश्रलाई भावी मेयरका रुपमा प्रचारमा ल्याइसकेको छ ।

जसपाले गठबन्धन नहुने घोषणा गरेपछि कांग्रेसलाई अन्यौल भएको छ । यही अन्यौलका कारण यहाँ उम्मेदार पनि चयन हुनसकेको छैन ।

गठबन्धनपछिको टकराव

केन्द्रबाट भएको अनिवार्य गठबन्धनमा स्थानीय नेताहरु सन्तुष्ट छैनन् । कुन पालिकामा कसलाई अगाडि सार्ने वा नसार्ने निर्णय केन्द्रबाट भएकाले कार्यान्वयनमा चुनौती हुने गठबन्धनमै रहेका दलका नेताहरुले बताउन थालेका छन् ।

जसपा लुम्बिनी महासचिव यज्ञ पोखरेलले गठबन्धन हुबहु सबै पालिकामा कार्यान्वयनमा चुनौती रहेको बताउँछन् । ‘एकले अर्को पार्टीको अस्तित्व स्वीकार्न समस्या छ, हामीले पहाडमा नटुंगाइ तराईमा गठबन्धन हुँदैन भनिरहेका छौं’, नेपालगन्जमा हाम्रो बटमलाइन थियो नदिएपछि हाम्रो साथीहरु बिच्किनुभयो, तराईमा मित्रवत लड्ने भनेर निर्णय भएको छ, गठबन्धन गर्ने त निर्णय हुन्छ अनि मित्रवत लड्न नि निर्णय गर्नुपर्छ र ?’

कांग्रेस लुम्बिनीका कोषाध्यक्ष प्रकाश राना सबै पालिकामा गठबन्धन कार्यान्वयनमा चुनौती भएको बताउँछन् । आफ्नो दलको क्षमता कति हो नजाँची माग गरेकाले पनि समस्या भएको उनको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर