स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन – Nepal Press

स्थानीय तह निर्वाचन : प्रदेश १ मा जोखिममा सत्ता गठबन्धन

काठमाडौं । प्रदेश १ मा सत्ता गठबन्धनमा आवद्ध नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई चुनावी गठबन्धन जोगाउन मुस्किल हुने सम्भावना बढेको छ ।

यसको सुरुवात संखुवासभाबाट भएको छ । यहाँ नेपाली कांग्रेसले एकतर्फी रुपमा गठबन्धन टुटेको सार्वजनिक घोषणा गरेको छ । यसको असर प्रदेश १ का अन्य धेरै ठाउँमा पर्ने कांग्रेस नेताहरु बताउँछन् । स्थानीय तह चुनावमा तालमेल गर्ने सत्तारुढ दलहरुको सहमति तल्लो तहसम्म कार्यान्वयन गर्न समस्या भइरहेको छ । गठबन्धनका दलहरुबीच धेरै जिल्लामा सहमति जुट्न सकेको छैन । पछिल्लो समय धेरै ठाउँमा गठबन्धनमा दरार आएका खबरहरु सार्वजनिक भएका छन् ।

संखुवासभामा लगातार पाँच दिनसम्म चलेको सत्तारुढ गठबन्धनको बैठकले तालमेलको सहमति जुटाउन सकेन । उल्टै कांग्रेसले तालमेल नगर्ने र एक्लै चुनाव लड्ने घोषणा गर्‍यो । कांग्रेसको घोषणाप्रति माओवादी केन्द्रले आपत्ति जनाएको छ ।

अघिल्लो स्थानीय तह, प्रदेश र संघको निर्वाचनमा आफ्नो स्वायत्तताको आन्दोलन गरेर एक मत पनि नखसाल्दा जनप्रतिनिधिविहीन सोलुखुम्बुको चर्चित स्थान तिङलामा समेत कांग्रेसले चुनावी गठबन्धन नगर्ने संकेत दिएको छ ।

पहिले कांग्रेसको गढका रुपमा रहेको हुँदा तिङलामा आफूहरू एक्लैले चुनाव जित्ने कांग्रेस तिङलाका सभापति बालकुमार कार्कीले नेपाल प्रेससँग बताए । उनले भने, ‘हामी एक्लै चुनावी प्रतिस्पर्धामा जान सक्षम छौं । तिङलामा चुनावी गठबन्धन हुँदैन ।’

माओवादीले आफ्नो हठ नछाडेकाले तिङ्लामा कांग्रेस एक्लै चुनाव लड्ने तयारीमा रहेको कार्की बताउँछन् ।

ओखलढुंगामा पनि सत्ता गठबन्धनको बैठक निरन्तर बसिरहेको छ । तर निष्कर्ष निस्किएको छैन । जसले गठबन्धन तोडिने सम्भावना बढेको छ । ८ स्थानीय तह रहेको ओखलढुंगामा कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका ४ गाउँपालिकासहित ६ वटा स्थानीय तहमा आफूले नेतृत्व पाउनुपर्ने दाबी गर्दै आएको छ । जिल्लामा ६ वटा स्थानीय तहमा कांग्रेस, एउटामा माओवादी केन्द्र र बाँकी एउटामा सबैलाई मिलाएर जान सकिने कांग्रेसका एक नेता बताउँछन् । कांग्रेसको बढी भाग पाउनुपर्ने दाबीका कारण गठबन्धन हुन नसक्ने अवस्था आएको बताइएको छ ।

यता उदयपुरमा माओवादी र कांग्रेसको अडानले चुनावी तालमेल हुने सम्भावना क्षीण बनेको माओवादी केन्द्रको जिल्ला सचिवालयका एक नेताले बताए । कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरुबीच पालिकाहरुमा तालमेल गर्ने विषयमा भएको सकस, कांग्रेसबाट माओवादीलाई अति उपेक्षा, अवमूल्यन भइरहेको अवस्थामा जिल्लामा गठबन्धन नहुने उनले बताए ।

‘कांग्रेसले अघिल्लो निर्वाचनमा जितेका सबै स्थान र त्यसमाथि पनि थपेर स्थानीय तहको नेतृत्व सुम्पिनुपर्ने भए गठबन्धनको के औचित्य भयो ?’, उनले प्रश्न गरे ।

आफ्नो दलभित्र उत्पन्न समस्याको व्यवस्थापन गर्नुको सट्टा कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्मविपरीत एकपक्षीय रुपमा गठबन्धन टुटाउने कसरत गरिरहेका कारण संखुवासभामा गठबन्धन नहुने संकेत देखिएको र आफ्नो जिल्लामा पनि यो अवस्था नआउला भन्न सकिने अवस्था नरहेको नेकपा माओवादी केन्द्र ओखलढुंगाका अध्यक्ष निशान्त शर्माले बताए ।

काग्रेसको अडानकै कारण प्रदेश १ मा गठबन्धन जोखिममा पर्दै गएको माओवादी केन्द्रको प्रदेश कार्यालय सचिव मुक्ति बराल बताउँछन् । उनले भने, ‘माओवादी केन्द्र आफ्नो राजनीतिक अस्तित्व कायम राख्दै जनताको नेतृत्व गर्न आगामी स्थानीय निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्न पनि तयार र सक्षम छ ।’

पाँचदलीय गठबन्धनको मर्म, भावना र निर्णयलाई उल्लंघन गरेर कांग्रेस एकलौटी अगाडि बढेमा माओवादी सबै स्थानीय तहमा आवश्यक निर्णय लिन स्वतन्त्र रहेको उनले जिकिर गरे ।

नेपाली कांग्रेस प्रदेश १ का सभापति उद्धव थापा भने जिल्लाको निर्णय मान्य नहुने र सबैतिर गठबन्धन हुने बताउँछन् । उनले भने, ‘संखुवासभामा जिल्ला कार्यसमितिले निर्णय गरेको भए पनि स्थानीय तहमा छलफल जारी रहेकोले चुनावमा गठबन्धन हुन्छ ।’

संखुवासभाको कारण प्रदेश १ मा गठबन्धन हुने सम्भावना कम भएको अन्य दलको भनाइ छ नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले थपे, ‘हरेक स्थानीय तहमा अनुकूलता हेरेर चुनावी गठबन्धन हुन्छ । संखुवासभाले गरेको निर्णयले केही असर पर्दैन ।’

जितेका स्थानभन्दा केही बढी स्थानमा कांग्रेसले मात्रै होइन सबैले दावी गर्नु नौलो नभएको भन्दै थापाले त्यस विषयमा छलफल गरेर अगाडि बढ्ने बताए । उनले भने, ‘कांग्रेसले अघिल्लो निर्वाचनमा जीत हासिल गरेका स्थानीय तहसहित अनुकूल हेरेर गठबन्धनमा आफ्नो माग राखिरहेको छ । तर यति हुँदैमा गठबन्धन तोडिने सम्भावना भइहाल्दैन ।’

१३७ स्थानीय तह रहेको प्रदेश १ मा २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले ५१, नेकपा एमालेले ६९, माओवादी केन्द्रले ९, मधेसी जनअधिकर फोरमले ३, राप्रपाले ३, संघीय समाजवादी फोरमले २ स्थानमा परिणाम आफ्नो पक्षमा पारेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर