११ उपमहानगरमा सत्तारूढ दलहरूको आ-आफ्नै दाबी, यस्तो छ प्रस्तावित भागबण्डा – Nepal Press
स्थानीय चुनाव

११ उपमहानगरमा सत्तारूढ दलहरूको आ-आफ्नै दाबी, यस्तो छ प्रस्तावित भागबण्डा

काठमाडौं । सत्तारूढ दलहरूबीच वैशाख ३० को स्थानीय तह निर्वाचनमा तालमेल गरेर जाने सहमतिले व्यवहारिक रुप लिन सकिरहेको छैन । सोमबारको संयुक्त वक्तव्यसँगै अब सिट भागबण्डाको विषयले प्रवेश पाएको छ । केन्द्रबाट तल्ला तहसम्ममा भागबण्डा मिलाउन नसकिनेमा सबै दलहरू सहमत देखिन्छन् ।

यद्यपि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी सबै तहको भागबण्डा केन्द्रबाटै हुनुपर्ने भन्ने पक्षमा छन् । जुन नेपाली कांग्रेसमा सम्भव नदेखिनेमा सबै दल सचेत छन् ।

कम्तिमा महानगरपालिका र उपमहानगरपालिकाहरूको भागबण्डा केन्द्रबाटै गर्नुपर्ने बुझाइमा गठबन्धनका दलहरू पुगेका छन् । यहीं कारण अहिले देशभरका ६ महानगर र ११ उपमहानगरको भागबण्डाको विषय सत्तारूढ दलहरूभित्र चर्चामा छ ।

स्रोतका अनुसार महानगरको भागबण्डा त पेचिलो छ नै, त्योभन्दा बढी पेचिलो उपमहानगरको भागबण्डा बनेको छ । जसमा दाबीकै हिसाबले हेर्ने हो भने, कांग्रेसले ११ वटै उपमहानगरमा आफू एक्लै लडे पनि जित्ने सम्भावना देखेको छ । सोहीअनुसार सबैमा उसको दाबी छ । दलहरूबीच बन्नसक्ने प्रस्ताव गरिएका ‘सम्भावित मापदण्ड’मा पनि कांग्रेसको सबै उपमहानगरमा योग्यता पुग्छ ।

तर गठबन्धनका अन्य दलहरूले गठबन्धनभित्र ‘न्याय’को विषयलाई पनि जोडतोडका साथ उठाएका छन् । विशेषगरी माओवादी केन्द्र, नेकपा एस र जनता समाजवादी पार्टीले आफूहरूले सम्मानजनक हिस्सा पाउनुपर्ने तर्क सारिरहेका छन् । जसअनुसार उनले मापदण्ड नै ‘सम्मानजनक बाँडफाँट’ बनाउन थालेका छन् । मापदण्डका विषयमा सत्तारूढ दलहरूबीच आजको बैठकमा छलफल हुने भनिएको छ ।

गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चाले भने महानगर र उपमहानगरको नेतृत्वमा कहीँ पनि दाबी गरेको छैन् ।

कहाँ कसको दाबी ?

इटहरी उपमहानगरपालिका

प्रदेश नम्बर १ को सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा नेकपा एमालेका उम्मेदवार द्वारिकलाल चौधरी २२ हजार ६ सय ७९ मत ल्याएर निर्वाचित भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका रोहितकुमार प्रसाईँले १९ हजार ९ सय ८५ मत ल्याउँदा तेस्रो भएका राप्रपाका रोहितबहादुर कार्कीले ३ हजार ७ सय १५ मत ल्याए भने माओवादी केन्द्रका उम्मेदवार हरिमाया जिमी चौथो स्थानमा थिइन् ।

यहाँ अहिले कांग्रेससहित माओवादी केन्द्र र नेकपा एसको पनि दाबी छ । कांग्रेस अघिल्लो निर्वाचनको उपविजेता भएकाले उसको स्वभाविक दाबी रहँदा नेकपा एसले भने एमालेले जितेका ठाउँहरू आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । अघिल्लो निर्वाचनमा राप्रपाभन्दा पनि पछि परेर चौथो स्थानमा चित्त बुझाएको माओवादी केन्द्रको दाबी भने आश्चर्य पार्ने किसिमको छ ।

धरान उपमहानगरपालिका

सुनसरी जिल्लाकै अर्को उपमहानगरपालिका धरानमा पनि २०७४ को निर्वाचनमा एमालेले नै जितेको थियो । एमालेका तारा सुब्बाले २० हजार ९ सय ७५ मत ल्याएर विजयी हुँदा कांग्रेसका तिलक राईले १६ हजार १ सय २ मत पाएका थिए । तेस्रोमा माओवादी केन्द्रका अइन्द्रविक्रम बेघाले ११ हजार एकसय ८० मत ल्याएका थिए ।

यहाँ निर्वाचित भएका मेयर सुब्बाको मृत्यु भएपछि भएको उपनिर्वाचनमा भने कांग्रेसले ऐतिहासिक जित निकालेको छ । एमालेको ‘लालकिल्ला’का रूपमा परिभाषित गरिएको यो उपमहानगरपालिकामा कांग्रेसले अघिल्ला स्थानीय निर्वाचनमा कांग्रेस कहिल्यै जितेको थिएन ।

उपनिर्वाचनका बेला एमाले र माओवादी केन्द्र एकीकरण भएर नेकपा बनेको थियो । यही एकीकरणकालमा नै भएको उपनिर्वाचनमा कांग्रेसका तिलक राई फेरि उम्मेदवार भएर निर्वाचित भइदिए । उनले २६ हजार ७ सय ९ मत ल्याउँदा नेकपाका उम्मेदवार प्रकाश राईले २३ हजार ९ सय १४ मत ल्याएका थिए ।ऐतिहासिक जितपछि कांग्रेस यो उपमहानगर फेरि गुमाउन चाहन्न । त्यसैकारण उसको यहाँ जबरजस्त दाबी छ । माओवादी केन्द्रले यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा ११ हजारभन्दा बढी मत ल्याएकाले गठबन्धन हुँदा आफूलाई जित्न सहज हुने आनुमान गरेको छ । उसले भागबण्डा गर्दा न्यायपूर्ण हुनुपर्ने भन्दै यहाँ भाग मागिरहेको छ भने नेकपा एसको उही तर्क ‘एमालेले पुरानो जितेको ठाउँ’ भन्दै दाबी गर्दै आएको छ ।

जसपाका नेता अशोक राई धरान उपमहानगरपालिकाकै निर्वाचन क्षेत्रमा चुनाव लड्छन् । त्यसैले यहाँ जसपाले पनि दाबी गरिरहेको छ ।

कलैया उपमहानगरपालिका

मधेस प्रदेशको बारा जिल्लाको कलैया उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसका उम्मेदवार राजेशराय यादवले झिनो मतान्तरले एमाले उम्मेदवार विनोदप्रसाद साहलाई पराजित गरेका थिए । यादवले १० हजार ९ सय ३ मत पाउँदा एमालेका उम्मेदवार साहले १० हजार ७ सय १६ मत पाएका थिए ।

तेस्रोमा संघीय समाजवादी फोरमका उम्मेदवार प्रमोदप्रसाद गुप्ताले ९ हजार ४ सय ४ मत ल्याउँदा चौथोमा माओवादी केन्द्रका मुकेश साहले ४ हजार ३ सय ७१ मत ल्याएका थिए ।

अहिले कलैयामा गठबन्धनका चारवटै दलहरूले दाबी गरिरहेका छन् । कांग्रेस अघिल्लो निर्वाचनमा निर्वाचित भएकाले नै दाबी गरिरहेको छ भने माओवादी केन्द्रले विगतको निर्वाचनभन्दा अहिले आफ्नो शक्ति बढेको तर्क गरेर दाबी गरिरहेको छ । नेकपा एसले विगतमा एमालेको मत आफूतिर आएकाले शक्ति आर्जन भएको भनिरहँदा जसपाको आधारक्षेत्र नै मधेस भएकाले यहाँ दाबी गरिरहेको छ ।

जीतपुर सिमरा उपमहानगरपालिका

बारा जिल्लाकै यो उपमहानगरपालिकामा अघिल्लो स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार कृष्णप्रसाद पौडेल १४ हजार ८ सय ६५ मत ल्याएर विजयी हुँदा कांग्रेसका कृष्णबर्त सिंह ११ हजार ९ सय ९५ मतसहित दोस्रो भएका थिए ।

यहाँ तेस्रो भएको माओवादी केन्द्र धेरैपछाडि थिएन् । उसका उम्मेवार रााजन पौडेलले ११ हजार २ सय ५१ मत पाएका थिए ।

अहिले यहाँ कांग्रेससहित माओवादी केन्द्रको दाबी छ । माओवादी केन्द्रले यो उपमहानगरपालिकालाई बटमलाइन बनाइरहेको छ।

जनकपुर उपमहानगरपालिका

मधेस प्रदेशकै धनुषा जिल्लाको यो उपमहानगरपालिकामा २०७४ को निर्वाचनमा मधेसवादी दलको दबदबा देखिएको थियो । त्यतिबेला तत्कालीन राजपा नेपालका उम्मेदवार लालकिशोर साहले २१ हजार ९ सय ३ मत ल्याएर विजयी हुँदा दोस्रो भएको नेपाली कांग्रेसका उम्मेदवार मनोजकुमार साह कुडीले ११ हजार १ सय ६४ मत मात्रै पाएका थिए ।

तेस्रोमा एमालेका लक्ष्मीनारायण भगतले ४ हजार ८ सय ६५ मत थियो । उपेन्द्र यादवको पार्टी संघीय समाजवादी फोरमका उम्मेदवार ३ हजार ६ सय १२ मतका साथ चौथो स्थानमा थिए ।

हाल मेयर साह जसपामा आवद्ध छन् । संघीय समाजवादी फोरम र राजपाको एकतापछि बनेको जसपामैँ उनी रहँदा पूर्व राजपा समूहले लोसपा गठन गर्दा उनी त्यहाँ गएनन् ।

अहिले यो उपमहानगरपालिकाको गठबन्धनको भागबण्डामा जसपाको स्वभाविक दाबी देखिन्छ भने अघिल्लो पटक दोस्रो भएको कांग्रेसले पनि दाबी गरिरहेको छ ।

हेटौंडा उपमहानगरपालिका

बागमती प्रदेशको राजधानी सहर हेटौंडा उपमहानगरपालिका पहिल्यैदेखि एमालेको ‘गढ’ हो । त्यसैले यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेस र माओवादी केन्द्रकाबीचमा तालमेल भएको थियो । तालमेलले पनि सम्भव भएन ।

मेयरमा एमालेका उम्मेदवार हरिबहादुर महत २३ हजार १ सय २४ मत पाएर बिजयी हुँदा कांग्रेसका आनन्दराम पराजुलीले २२ हजार ५ सय मत पाएका थिए । राप्रपाका मधुकरप्रसाद पराजुलीले ६ हजार ८ सय ५७ मत ल्याएका थिए ।

अहिले यहाँ गठबन्धन दलका कांग्रेस र नेकपा एसको दाबी छ । अघिल्लो निर्वाचनमा नजिकको प्रतिस्पर्धी भएकाले कांग्रेसले दाबी गर्दा एमालेले जितेको ठाउँ र परम्परागत गढमा आफ्नो संगठनतिर तमाम नेताकार्यकर्ता आएकाले नेकपा एसले पनि दाबी गरिरहेको छ ।

स्वास्थ्यमन्त्री विरोध खतिवडा पनि यही उपमहानगरपालिकाका भएकाले नेकपा एसले हेटौंडालाई बटमलाइन बनाएको छ । देशभर एउटा पाउँदा नेकपा एसले हेटौंडा नै पाउने देखिन्छ ।

बुटवल उपमहानगरपालिका

लुम्बिनी प्रदेशको अस्थायी राजधानी रहेको रुपन्देही जिल्लाको यो उपमहानगर वर्षैदेखि एमालेको लालकिल्ला हो । त्यसैले यहाँ कांग्रेस र माओवादी केन्द्र तालमेल गरेर २०७४ को स्थानीय तह निर्वाचनमा गएका थिए । यसरी पनि एमालेका उम्मेदवार शिवराज सुवेदी पराजित भएनन् ।

उनले २३ हजार २ सय ४९ मत प्राप्त गरेका थिए भने कांग्रेसका खेमराज पाण्डेयले २० हजार ८ सय ५१ मत ल्याउँदा जनमुक्ती पार्टीका जनकबहादुर थापामगरले १ हजार १ सय ५२ मत ल्याएर तेस्रो भए ।

अहिले यो उपमहानगरपालिकामा उतिबेला दोस्रो भएको कांग्रेस र एमालेबाट फुटेको बनेको नेकपा एसले दाबी गरिरहेका छन् । तर फुटको असर एमालेले बुटवलमा खासै झेल्नुपरेको छैन । बालकृष्ण खाँण भाइ रामकृष्णलाई तिलोत्तमाको मेयरमा जिताउनका लागि बुटवल माओवादी वा एसलाई छाड्न तयार भए भने अलग कुरा हो, नत्र कांग्रेसकै दाबी रहनेछ ।

घोराही उपमहानगरपालिका

लुम्बिनी प्रदेशकै अर्को जिल्ला दाङको सदरमुकाममा रहेको यो उपमहानगरपालिकामा २०७४ को स्थानीय तह निर्वाचनमा एमालेले नै जितेको छ । एमालेका नरुलाल चौधरीले २२ हजार ३० मत ल्याएर निर्वाचित हुँदा कांग्रेसका भुपबहादुर डाँगी क्षेत्रीले १७ हजार ४ सय ८४ मत पाएका थिए । माओवादी केन्द्रका जीवन गौतमले १२ हजार ८२ मत ल्याएर तेस्रो भएका थिए ।

सत्तारूढ गठबन्धनभित्रको भागबण्डामा अहिले यहाँ कांग्रेसले दाबी गरिरहँदा माओवादी केन्द्रले अघिल्लो निर्वाचनमा राम्रो मत पाएकोले आफूलाई जित्न सहज हुने भन्दै यहाँ दाबी गरिरहेको छ । माओवादी नेता जीवन गौतमका लागि यो उपमहानगर सो पार्टीले दाबी गरेर तुलसीपुर कांग्रेसलाई छाड्ने तयारी छ ।

तुलसीपुर उपमहानगरपालिका

दाङ जिल्लाकै अर्को उपमहानगरपालिका तुलसीपुरमा पनि अघिल्लो निर्वाचनमा एमाले नै जितेको थियो । एमालेका घनश्याम पाण्डे २२ हजार ८ सय ५७ मतसहित विजयी हुँदा कांग्रेसका गेहेन्द्र गिरीले १८ हजार ९ सय ३ मत पाएका थिए । माओवादी केन्द्रका शेषुराम भण्डारी ८ हजार ६ सय ९३ मतसहित तेस्रो भएका थिए ।

अहिले यहाँ अघिल्लो निर्वाचनमा दोस्रो भएको कांग्रेसले जबरजस्त दाबी गरिरहेको छ । यहाँ एमाले विभाजन र गठबन्धनको तालमेलको फाइदा उठाएर कब्जा जमाउने कांग्रेसको रणनीति छ भने नेकपा एसको झिनो दाबी छ ।

नेपालगञ्ज उपमहानगरपालिका

लुम्बिनी प्रदेशको ठूलो व्यापारिक तथा औद्योगिक सहर हो बाँके जिल्लाको नेपालगञ्ज । यहाँको लडाई सो क्षेत्रमा प्रतिष्ठाको लडाइँ हुनेगर्छ । यहाँ २०७४ को स्थानीय तह निर्वाचनमा पाँच दलकाबीच निकै कडा टक्कर भएको थियो ।

कांग्रेसको परम्परागत शक्ति रहेको यो नगरमा व्यक्तिगत रूपमा भने राप्रपाका उम्मेदवार धवलशमशेर जबरा लोकप्रिय थिए । कांग्रेसभित्रको अन्तर्घात पनि निर्णायक रह्यो । जसले राप्रपाका उम्मेदवार जबरा १२ हजार ५ सय १५ मतसहित निर्वाचित भए ।

कांग्रेसका सुरेशकुमार कनोडियाले ८ हजार ७ सय ३० मतसहित दोस्रो हुँदा, माओवादी केन्द्रका दामोदर आचार्य ७ हजार १ सय ९८ मतसहित तेस्रो, एमालेका समसुद्दीन सिद्दिकी ६ हजार ९ सय ६५ मतसहित चौथो र संघीय समाजवादी फोरमका कमरूद्दीन राई ५ हजार ४ सय ४१ मतसहित पाँचौ भएका थिए ।

कांग्रेस यहाँ मेयरमा पराजित भएपनि उपमेयरसहित कार्यपालिकामा बहुमत जितेकाले अब नेतृत्वसहितको सुनिश्चितता चाहान्छ । उसको यो चाहनामा जसपा बाधक बनेको छ । आंशिक भएपनि आफ्नो प्रभावक्षेत्र रहेकाले भागबण्डामा नेपालगञ्ज आफूले पाउनुपर्ने उसको दाबी छ ।

धनगढी उपमहानगरपालिका

२०७४ को स्थानीय तह निर्वाचनमा सुदूरपश्चिम प्रदेशको एकमात्र यो उपमहानगरमा कांग्रेसका उम्मेदवार नृपबहादुर वड र स्वतन्त्र उम्मेदवार गोपाल हमालको बढी प्रतिस्पर्धा भएको थियो ।

कांग्रेसका वडले १४ हजार ३ सय २४ मतसहित विजयी हुँदा स्वतन्त्र उम्मेदवार हमालले ११ हजार ५ सय २७ मत पाएका थिए । वडलाई पार्टीभित्रै अन्तर्घात भएको थियो । उनकोभन्दा तीनहजार बढी मत उपमेयरमा कांग्रेसकै सुशिला मिश्र भट्टले ल्याएकी थिइन् ।

उनको १७ हजार ४ सय ८ मत थियो । यसरी अन्तर्घात हुँदाहुँदै पनि वडले जितेका थिए ।

यहाँ माओवादी केन्द्रका उम्मेदवार रामसमझ रानाले १० हजार २ सय ९ मत ल्याउँदा एमालेका दुर्गाप्रसाद जोशीले ९ हजार ९ सय ४६ मत ल्याएर चौथो भएका थिए ।

आरजु देउवाको निर्वाचन क्षेत्र यहाँको नेतृत्व जस्तोसुकै गठबन्धनका लागि भएपनि कांग्रेस छाड्न चाहन्न । त्यसैले उसको यहाँ बलियो दाबी छ ।

यस्तै माओवादी केन्द्र र नेकपा एसले पनि दाबी गरेका छन् । तर उनीहरूको दाबीलाई बलियो रूपमा हेरिएको छैन ।

यस्तो छ सम्भावित भागबण्डा

दाबी जसको जेसुकै भएपनि निर्वाचनमा तालमेल गरेर जाने भए सबै दलले कहीँ न कहीँ त्याग गर्नैपर्छ । यसका लागि गठबन्धन दलहरू लगभग त्यो मनस्थितिमा पुगिसकेको स्रोत बताउँछ ।

सबै उपमहानगरपालिकामा एक्ला–एक्लै लड्दा जित देखिरहेको कांग्रेस आफूले तालमेल नगरे एमालेसँग कसै न कसैको तालमेल हुने र त्यसले आफूलाई नोक्सानी पुग्ने अवस्था देखेको छ । त्यसैले उसले केही त्याग गरेर अगाडि बढ्न चाहेको देखिन्छ ।

तर कति त्याग ? त्यो भने बार्गेनिङको क्रममा हुनेछ ।

दलहरूभित्र यो बार्गेनिङको क्रम चल्दैगर्दा हालसम्म अनौपचारिक छलफलमा चलेको खाका प्राप्त भएको छ ।

हालसम्म ११ मध्ये नौवटा उपमहानगरको भागबण्डाको एउटा प्रस्तावमा मोटामोटी सहमति भएको देखिन्छ । दुईवटामा अझै सहमति जुटिसकेको छैन । जसमा सबैको दाबी छ ।

अहिलेसम्म कांग्रेसलाई इटहरी, बुटवल, तुलसीपुर, नेपालगञ्ज र धनगढी लगभग पक्कापक्की भएको छ । यद्यपि इटहरीमा नेकपा एसले दाबी छाडेको छैन । यस्तै माओवादी केन्द्रलाई जीतपुर सिमरा र घोराही, नेकपा एसलाई हेटौंडा र जसपालाई जनकपुर राखिएको छ ।

धरान र कलैयामा कांग्रेस, माओवादी केन्द्र, नेकपा एस र जसपा सबैले दाबी गरेका छन् । तर कांग्रेसले पहिल्यै जितेका उपमहानगर भएकाले उसैले पाउनसक्ने स्रोत बताउँछ ।


प्रतिक्रिया

One thought on “११ उपमहानगरमा सत्तारूढ दलहरूको आ-आफ्नै दाबी, यस्तो छ प्रस्तावित भागबण्डा

  1. सम्मान का लागि भनेर जनमतको बिपरित गरिने गठवन्धन परिणाम मुखी हुन सक्दैन । आ आफ्नो दलिय जनमतको आधारमा पदहरुको भागवन्डा गर्नु र त्यसैमा चित्त बुझाउनु राम्रो हो । गठ्वन्धन चाहिएको हो भने सबैले “घाँटी हेरि हाड निलौ” ठुला कुरा कसैले नगरौं ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर