किन भयो गाउँपालिका अध्यक्षको घरमा आक्रमण ? एमाले र माओवादीबीच आरोप-प्रत्यारोप – Nepal Press

किन भयो गाउँपालिका अध्यक्षको घरमा आक्रमण ? एमाले र माओवादीबीच आरोप-प्रत्यारोप

सुर्खेत । नेकपा एमालेका केन्द्रीय सदस्य तथा हुम्लाको अदानचुली गाउँपालिकाका अध्यक्ष दलबहादुर फडेराको घरमा माओवादी र समाजवादी कार्यकर्ताले घेरा हालेर आज आक्रमण गरेका छन् । आफ्नो र छिमेकीको घरमा समेत ढुंगामुढा गरिएको फडेराले नेपाल प्रेसलाई बताए ।

आज दिउँसो साढे बाह्र बजेदेखि करिब एक घण्टा आक्रमण भएको थियो । ढुंगामुढा हुँदा फडेरासहित उनकी श्रीमती र राष्ट्रिय सभाका सदस्य कविता बोगटी घरभित्र थिए । आक्रमणबाट घरमा क्षति पुगेको छ, भने नियन्त्रणका क्रममा एक असई घाइते भएका छन् ।

माओवादीले हिजो आफ्नो पार्टीका कार्यकर्ताको पसल र होटेलमा एमाले कार्यकर्ताहरूले तोडफोड गरेको भन्दै त्यसको प्रतिवाद गरिएको जनाएको छ । हिजोको घटनामा फडेरा पनि संलग्न रहेको दाबी माओवादीको छ ।

नेकपा माओवादी हुम्लाका जिल्ला सचिव धर्मराज बोहराले अदानचुलीमा विवाद भएको बताए ।

‘अध्यक्ष फडारासँगै रहेका कार्यकर्ताले बिच बजारमा रहेका नवराज होटेल र अनिता बुमीको पसलमा तोडफोड गरेको पाइयो,’ उनले भने, ‘त्यसैको प्रतिकार स्वरूप हाम्रा कार्यकर्ताले आज अध्यक्षको घरमा आक्रमण गरेका हुन् ।’

अनिता बुमी नेकपा माओवादीकी प्रदेश कमिटी सदस्य पनि हुन् ।

फडेराले भने एमाले कार्यकर्ताबाट आक्रमण भएको अस्वीकार गरेका छन् ।

घटनाबारे उनले यसरी सुनाए :-

‘हिजो सामान अनलोड गर्न एमालेका आठ–दश जना गाउँ गएका थिए । उनीहरू त्यहाँबाट फर्कँदै गर्दा अदानचुली गाउँपालिका ३ श्रीनगर बजारमा नेकपा एमाले जिन्दाबाद भन्दै नारा लगाएका रहेछन् । आउने क्रममा एक जना माओवादी समर्थकको घरबाहिर साँघुरो बाटोमा पानीको ड्रम राखिएको थियो । हाम्रो समर्थक ठोकिएर ड्रम ढल्यो । हाम्रा साथीहरूले नै ढलेको ड्रम उठाएर माथि राखेका हुन् ।’

एमाले अध्यक्ष केपी ओली ४ गते श्री नगरमा आउने कार्यक्रमको तयारीलाई प्रभावित तुल्याउन आक्रमण गरिएको फडेराको दाबी छ । उनले बजारमा सुरक्षा संयन्त्र कमजोर भएको गुनासो गरे ।

‘बजारमा सेक्युरिटी कमजोर थियो । असईलाई चोट लागेको छ । मेरो घरमा ठूलो क्षति भएको छ । काठका रेलिङ भाँचिएका छन् । कर्कटपाता कामै नलाग्ने भएका छन् । सोलार सिस्टम पूर्ण रूपमा क्षति भएको छ । छिमेकीको घरमा सिसा फुटाइएको छ । छिमेकीको सानो बच्चामाथि आक्रमण भएको छ । ती बच्चा बेहोस भएको मैले सुनको थिएँ,’ उनले भने ।

जिल्ला प्रहरी कार्यालय हुम्लाका डिएसपी कृष्ण ओझाले हिजो एमाले समर्थकबाट तोडफोड भएको र आज माओवादीबाट तोडफोड भएको बताए ।

‘अहिले हामी त्यही छलफलमा छौँ,’ उनले भने ।

यता माओवादी र समाजवादीले भने फडेराले मदिरा सेवन गरेर माओवादी समर्थकको होटेलमा तोडफोड गरेको तथा एक महिलामाथि हातपात गरेकोसमेत आरोप लगाएका छन् ।

यस विषयमा उनले जवाफ दिए, ‘यी आरोप मात्रै हुन् । हिजो मसँगै राष्ट्रिय सभा सदस्य हुनुहुन्थ्यो । अरू केही नभएर ड्रम खसालेको निहुँमा उनीहरूले आक्रमण गरेका हुन् । हामीबाट न होटेल तोडफोड भएको छ न कसैमाथि हातपात भएको छ ।’

नेपाल पत्रकार महासंघ हुम्लाका पूर्व अध्यक्ष एवम् पत्रकार अर्जुन बोहराले अदानचुलीमा एमाले समर्थकले माओवादी समर्थकका दुई वटा होटेलमा तोडफोड गरेको जानकारीमा आएको बताए ।

‘दुई वटा होटेलमा तोडफोड भएको खबर आएको छ । अहिले फडेराकै घरमा दुई पार्टीका नेताहरूको प्रहरीकै रोहवरमा छलफल भइरहेको छ,’ उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर