एमालेको माओवादीसँग तालमेल सम्भव छ, समाजवादीसँग छैन: पृथ्वीसुब्बा गुरुङ – Nepal Press
नेपाल टक

एमालेको माओवादीसँग तालमेल सम्भव छ, समाजवादीसँग छैन: पृथ्वीसुब्बा गुरुङ

स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा विभिन्न राजनीतिक दलहरू चुनावी प्रचार–प्रसारमा केन्द्रित छन् । अहिलेसम्मको अवस्थामा पाँचदलीय गठवन्धनसँग प्रतिपक्षी दल एमालेको सोझो भिडन्त हुनसक्ने आँकलन गरिएको छ ।

स्थानीय तहमा गठवन्धन गरेर जाने निर्णय भए पनि अहिलेसम्म गठबन्धनका दलहरू भित्र तालमेलको खाका तयार भएको छैन । एकीकृत समाजवादी बाहेकका सबै दलहरू आवश्यकताको आधारमा स्थानीय तहका गठबन्धन हुन सक्ने बताइरहेका छन् । एकीकृत समाजवादीले भने सबै स्थानीय तहको वडा स्तरसम्मै गठबन्धन हुनुपर्ने बताउँदै आइरहेको छ ।

एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ भने चुनावसम्ममा अहिलेको समिकरण फेरिन सक्ने दावी गर्छन् । सबै दल एक्लाएक्लै भिड्न सक्ने वा गठबन्धन भित्रका केही दलहरू टुक्रिएर ‘गठवन्धन भर्सेस गठवन्धन’ भिडन्त हुनसक्ने सम्भावनाको अन्त्य नभएको उनको बुझाइ छ ।

तालमेलका क्रममा कुरा नमिलेर आपसी तिक्तता सुरु हुने र अन्तिममा कांग्रेसले माओवादी लगायतका अन्य दलहरूलाई बाध्यात्मक गठबन्धन गर्न लगाउन सक्ने गुरुङले बताए । गठबन्धनबाट बाहिरिए माओवादीसँग एमालेको तालमेल हुन सक्ने पनि उनको संकेत छ ।

सबै दल एक्लाएक्लै लड्दा एमालेले ६७ प्रतिशत र पाँच दलीय गठबन्धनविरुद्ध एमाले एक्लै लड्दा ३० देखी ४० प्रतिशतसम्म सिट जित्नसक्ने विश्लेषण गुरुङले सुनाए । प्रस्तुत छ, उपमहासचिव गुरुङसँग निर्वाचन, गठबन्धन र एमालेको रणनीतिको विषयमा गरिएको कुराकानी नेपाल टकमा:

स्थानीय तह निर्वाचनको लागि एमालेको तयारी कस्तो छ ?

यसपटक हामी एकल रूपमा स्थानीय तहको निर्वाचनमा होमिने तयारीमा छौँ । अहिले हामी घोषणापत्र तयार गरेर सम्पादनको क्रममा छौँ । आगामी वैशाख ९ गते घोषणा पत्र सार्वजनिक गर्छौं।

प्रत्येक पालिकाको आवश्यकताको आधारमा हामीले घोषणापत्र तयार गरिरहेका छौँ । त्यो आइसकेपछि प्रत्येक पालिकाहरूले अझै के-के थप्नु पर्ने हो, त्यो पनि समेट्छौँ । प्रतिबद्धतापत्र र घोषणापत्र तयार गर्नेमा हामी सबैभन्दा अगाडी छौँ । उम्मेदवार छनोट प्रक्रिया, सिफारिसको विधिहरू पनि हामीले तयार गरिसकेका छौँ । अब चैत्र मसान्तभित्र हामी उम्मेदवारहरू चयन गरिसक्छौँ ।

अर्को कुरा उनीहरूले पाँच दलीय गठबन्धनको कुरा मात्रै गरिरहेका हुन् । त्यसमा पनि उनीहरूको कुरा मिलेको छैन । जसपाले हामीभन्दा पछि स्थानीय परिवेशअनुसार गठबन्धन गर्न सकिने भनेको छ । पाँच दलीय गठबन्धनमा प्रतिबद्ध छौँ भनेका छैनन् । निरपेक्ष रूपमा केन्द्रको गठबन्धन जिल्ला जिल्लामा कायम हुन्छ भन्ने छैन ।

किन ?

उनीहरू हामीसँग आतङ्कित भएर सत्ता गठबन्धनको कुरा गरिरहेका हुन् । कांग्रेसलाई पनि गठबन्धन नगरे एमालेले भ्याइहाल्छ भन्ने छ । माओवादीहरू हामीसँग मिल्ने कुरा छैन । त्यसैले गठबन्धनबाट बाहिरिएपछि समस्या हुन्छ भन्ने होला । माधवकुमार नेपालहरूलाई हामीसँग कुरा निकाल्ने पनि नैतिकता छैन । उहाँहरूसँग हामीले तालमेल नगर्ने भनेर भनिसकेका छौँ ।

एकीकृत समाजवादीसँग त सम्भव नै छैन भन्नुभयो । माओवादीसँग चाहिँ सम्भव छ चुनावी तालमेल ?

पहिले मैले त्यो सम्भावना देखेको हो । विभिन्न चरणमा भित्र–भित्र सबैसँग कुरा भइरहेकै हो । एमालेसँग कांग्रेसको भइरहेको छ । माओवादी केन्द्रको भइरहेको छ । जसपाको भइरहेको छ । जोगी देखेर भैँसी डराउने र भैँसी देखेर जोगी डराउने ताल छ उनीहरूको अहिले । गठबन्धन तोडियो भनेर शेरबहादुर देउवाले भने प्रचण्ड केपी ओलीसँग मिलिहाल्छन् कि भन्ने डर छ देउवालाई ।

यता गठबन्धन छोडियो भन्ने बित्तिकै माओवादीलाई सत्ता र शक्ति गुम्ने डर पनि छ । त्यसैले उनीहरू सबै अन्यौलमा छन् । अहिलेसम्म ठोस कुनै सहमति भएको छैन । सबै वार्ताकै क्रममा छन् । एकले अर्कोलाई तान्ने प्रयासमा छन् ।

एमालेको उच्च स्तरका नेताहरूसँग तालमेलका विषयमा माओवादी र कांग्रेसका नेताहरू छलफलमा हुन् र ?

माथिल्लो स्तरमा यो छलफल भएको छैन । हामीले पहिले नै तल–तल यस्तो गठबन्धन हुनसक्ने निर्णय गरिसकेका छौँ । तर, केन्द्रीय स्तरबाट यस्तो तालमेल हुने कुरा छैन । राजनीतिमा कतै–कतै यो सम्भावना पनि नकार्न सकिँदैन । ठोस रूपमा कांग्रेससँग त्यस्तो भएको छैन । माओवादीसँग पनि छैन ।

केही समयअघि एमाले उपाध्यक्ष विष्णु पौडेल सहितका नेता चीन पुगेर फर्किनु भयो । त्यसलगत्तै माओवादीका केही उच्चस्तरका नेताहरू पनि चीन जानुभएको थियो । चीनले के माओवादी र एमालेलाई स्थानीय तहकै निर्वाचनमा तालमेल गराउने गरी भूमिका खेलिरहेको हो ?

अहिले चीनले मिलाएर मिल्ने भएर त पार्टी नै फुट्ने थिएन नि । चीनले त्योबेला पनि प्रचण्डलाई पार्टी फुटाएर नजाउ भनेको भनेर हामीले पनि त्यो बेला सुनेको हो । हामी कोसँग तालमेल गर्ने वा नगर्ने, कोसँग मिल्ने या नमिल्ने भन्ने कुरा हाम्रो पार्टीको आन्तरिक मामिला हो ।

चिनिया कम्युनिस्ट, भारतीय कम्युनिष्ट पार्टी या भियतनामी कम्युनिस्ट पार्टी हामी कसैलाई पनि गुहार माग्दैनौँ । हामीसँग उनीहरूको मित्रतापूर्ण सम्बन्ध छ । त्यसको अर्थ आन्तरिक मामिलामा एकले अर्कोलाई हस्तक्षेप गर्ने भन्ने कुरा होइन ।

चीनका विदेशमन्त्री वाङ यी पनि नेपाल आउनुभयो । नेपालका कम्युनिष्ट पार्टीहरूका विषयमा चीनको पछिल्लो दृष्टिकोण के रहेछ ?

मन्त्रीले पार्टीको कुरा गर्नुभएन । मन्त्री एमसीसी पास भएको सन्दर्भ, बीआरआईको स्थिति हेरेर नेपालको नाडी छाम्न आएको भन्छु मत । कुन कुन विषयमा नाडी छाम्यो त्यो त थाहा भएन ।

एकातर्फ पाँचदलीय गठबन्धन, अर्काेतर्फ एमाले एक्लै । तर पनि ६० प्रतिशत, ७० प्रतिशत जित्छौँ भनिरहनुभएको छ । यो त निराश कार्यकर्ताहरूलाई हौसाउने काम मात्रै त होला नि हैन ?

सबै पार्टीहरु एक्लाएक्लै लड्दा हामीले ६७ प्रतिशत जित्छौँ भनेका हौँ । त्यो तथ्यपरक कुरा पनि हो । सबै पार्टी मिलेर आए भने हामीले त्यो उपलब्धि हासिल गर्न सक्दैनौँ । त्यो बेला हामी ४० वा ३५ प्रतिशत जित्छौँ भन्ने कुरा निश्चित हो । हाम्रो पनि अरू कुनै दलहरूसँग गठबन्धन भएमा त्यो प्रतिशत फेरी बढेर जान्छ ।

अहिले राप्रपासँग गठबन्धन गर्ने कुरा पनि आइरहेको छ नि । यो हल्ला मात्रै हो कि सम्भावना पनि छ ?

राप्रपाको त खास शक्ति नै के छर ? उनीहरूसँग हामीले धेरै ठाउँमा गर्नुपर्ने स्थिति नै छैन । कहीँ टेक्ने हाँगो त चाहियो । समात्ने आधार त चाहियो । त्यस्तो छैन नि । केन्द्रको पार्टी भनेर मात्रै कहाँ हुन्छ र ?

त्यसमा पनि उनीहरूको दुई वटा पार्टी बनेको छ, राप्रपा र राप्रपा नेपाल । दुईवटैको शक्ति खासै छैन अहिले जस्तोसुकै गफ लगाए पनि । व्यक्ति छन्, नेता छन् । तर, जनता र कार्यकर्ता त्यति धेरै त छैनन् नि । उनीहरूसँग तालमेल भएर हामीलाई ठुलो उपलब्धि केही पनि हुँदैन । यसका हामी हौसिनुपर्ने धेरै कुरा हुँदैन ।

केन्द्रबाटै नभए पनि स्थानीय तहमा हुन्छ होला नि ?

कहीँ–कहीँ त पहिले पनि भएकै हो । हाम्रो गण्डकीमै उनीहरूसँग कुरा गरेर बेनीको मेयर हामीले जिताएको हो । बाग्लुङको उपमेयर हामीले जिताएको हो । बेनीको उपमेयर जिताएको हो । सानो–सानो ठाउँमा हुन्छ तर, केन्द्रीय स्तरमै हुन सम्भावना नहुन पनि सक्छ ।

त्यसो भए तपाईंहरुले निर्णय गरेकै जसरी एक्लै नै निर्वाचनमा जानुहुने भयो कि दलहरूसँग तालमेल हुन सक्ने भयो त ?

हामीलाई एक्लै बनाउने डिजाइन हो । तर, हामी एक्लै पनि सक्षम छौँ, सामना गर्छाै भन्ने हाम्रो निष्कर्ष हो । चुनौतीको बिचमा हामीले सम्भावना पनि देखेका छौँ । अवसर पनि देखेका छौँ ।

जनता हामीबाट टाढा छैनन् । हामीसँगै छन् । अर्को कुरा स्वयम् माओवादीका तलका कार्यकर्ताहरू रुखमा भोट हाल्ने पक्षमा छैनन् । उनीहरूले कांग्रेसलाई भोट दिँदैनन् । कांग्रेस र माओवादीको तालमेल भएमा माओवादीको ३० देखी ४० प्रतिशत मत हामीलाई आउँछ । कांग्रेसलाई आउँदैन । त्यस्तै प्रकारले कतिपय स्थानमा कांग्रेसले पनि १५ देखी २५ प्रतिशतसम्म भोट माओवादीलाई हाल्दैन । उनीहरूले युद्ध अपराध गरेर आएका भन्छन् नि ।

त्यसो भएर हामीलाई उनीहरूबीच चुनावी तालमेल कार्यान्वयन हुन्छ भन्ने विश्वास त छैन । भइहाले पनि त्यो फाइदा हामीलाई हुन्छ । एमसीसी पारित भएपछि धेरै नेता कार्यकर्ताहरू एमाले आइरहनु भएको छ । मैले नै कयौँलाई गण्डकीमा प्रवेश गराएको छु ।

‘कांग्रेसमा भोट हालेर कम्युनिष्ट हुनभन्दा बरु एमालेमै प्रवेश गर्ने’ भन्दै हजारौँ हजार माओवादी केन्द्रका नेता कार्यकर्ताहरू एमालेमा आइरहनु भएको छ । त्यो लहर बढिरहेको छ, चलिरहेको छ ।

तपाईंको विचारमा कांग्रेसले केही समयपछि गठबन्धनभित्र पनि एक्लाएक्लै निर्वाचन लड्ने प्रस्ताव लैजाने सम्भावना बाँकी छ ?

त्यस्तो हुन सक्छ । अहिलेसम्म कांग्रेसले सत्ता गठबन्धनको लागि माओवादीलाई अल्झाइरहेको छ । अहिले एमालेसँग कार्यगत एकता गर्न नदिन माओवादीलाई अल्झाइरहेको हो । कांग्रेसको आधार रहेको ठाउँ, जहाँ माओवादीले जितेको थियो, त्यहाँ मरिकाटे पनि कांग्रेसले छोड्दैन । त्यसो भएपछि उनीहरूबीच द्वन्द्व बढिहाल्छ नि ।

चितवनमै हेर्नुहोस् न रेणुलाई छोड्ने कुरा अहिलेसम्म काँग्रेसले स्वीकार गरेको छैन । काँग्रेसको के दाउ छ भने माओवादीलाई अहिले अल्झाइ राखेर पछि ‘खाए खा नखाए घिच’ भन्छ । उनीहरूलाई सजिलो हुने ठाउँमा मात्रै माओवादीलाई छाडेर जाने देखिन्छ । यो कुरा बुझ्नु पर्ने हो माओवादीले । कांग्रेसले छोडिहाले एमालेले के गर्छ गर्छ भनेर मात्रै माओवादीले आँट गर्न नसकेको हो ।

पटक–पटक प्रचण्डले देउवालाई एमालेसँग मिल्नसक्ने घुर्की लगाइरहेको कुरा पनि आइरहन्छ । तपाईंले भनेजस्तै गठबन्धनमा सम्मानजनक स्थिति भएर भनेर माओवादीले एमालेसँग तालमेलको प्रस्ताव गर्ने सम्भावना कति छ ? यदि त्यस्तो प्रस्ताव आए एमालेले के गर्छ ?

कतिपय स्थानमा त अहिले पनि कुरा भइरहेको छ नि । असम्भव भन्ने कुरा हुँदैन ।

अनि एकीकृत समाजवादीसँग को तालमेल नि ?

एकीकृत समाजवादीलाई हामीले अहिलेसम्म ढोका खोलेका छैनौँ । मेरो व्यक्तिगत कुरा चाहिँ माओवादीसँग चुनावी तालमेल गर्न मिल्छ भने एकीकृत समाजवादीसँग गर्न नहुने भन्ने कुरा केही छैन सैद्धान्तिक रूपमा । यो नैतिकताको प्रश्न मात्रै हो ।

यति गद्दारी गरेको, हाम्रो अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएको, पार्टीभित्र अन्तर्घात गरेको भन्ने छ । त्यस्तोसँग आलै घाउमा के सम्झौता गर्ने त, के मिलेर जाने भन्ने त भन्ने हो । यसो गर्दा जनता रुष्ट हुन्छन् । हाम्रो कार्यकर्ता रुष्ट हुन्छन् भन्ने चिन्ता छ हामीलाई ।

नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री भर्खरै भारत भ्रमणमा जानुभयो । भारतीय जनता पार्टीको मुख्यालयमा पनि पुग्नु भयो….

(प्रश्न पुरा हुन नपाउँदै) यो कुटनीतिक अपरिपक्वता हो । देउवाले आफ्नो दासत्व देखाउनु भएको हो । बिजेपीसँग शेरबहादुर देउवाले आफ्नो सम्बन्ध राम्रो छ भन्ने देखाउन खोज्नु भएको पनि हो ।

मैले सोध्न खोजेको यो भ्रमणले चुनावमा कांग्रेसलाई कत्तिको बल पुर्याउला ?

भारतलाई रिझाएर बलियो भइन्छ भन्ने उनीहरूको सोच होला । त्यसले हामीलाई केही फरक पर्दैन । उनीहरू र हाम्रो दृष्टिकोण नै फरक छ । उनीहरू त्यसलाई सम्पत्ति सम्झन्छन्, सहयोग सम्झन्छन् । उनीहरूका कार्यकर्ताहरुले हामीलाई त भारतको समर्थन छ भन्छन् ।

त्यही फरक हो । उनीहरूको शक्ति स्रोतमा, पैसामा, जालझेलमा हो । हाम्रो शक्ति जनतामा हो । जनताको अहित हुने कुरा हामी गर्दैनौँ र दासत्व पनि हामी स्वीकार गर्दैनौँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर