एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक – Nepal Press

एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्डः वर्ष प्रशिक्षक र युवा खेलाडीको मनोनयन सार्वजनिक

कैलाली । ‘एसपीए सुदूरपश्चिम स्पोर्टस अवार्ड २०७८’ का थप दुई विधाको मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले धनगढीमा आयोजनामा हुने स्पोर्टस अवार्डको तेस्रो संस्करणको वर्ष प्रशिक्षकमा भलिबलका जगदीश भट्ट, फुटबलका ललित चन्द र वक्सिङका डमरदत्त भट्ट मनोनयनमा परेका छन् ।

महिला भलिबल टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले बङ्गलादेशमा भएको एभिसी सेन्ट्रल जोनको उपाधि नेपाललाई जितेका थिए । उनले लगातार दोस्रो पटक नेपाली महिला भलिबल टोलीलाई च्याम्पियन बनाएका हुन् ।

फुटबल प्रशिक्षक ललित चन्दले नेपालगन्जमा भएको प्रेसिडेन्ट कपमा कैलालीको स्टार सिटी युवा क्लबलाई च्याम्पियन बनाएका थिए । उनी सोही प्रतियोगिताको उत्कृष्ट प्रशिक्षक समेत बनेका थिए । पहिलो पटक आयोजित नेपाल सुपर लिगमा धनगढी फुटबल उपविजेता बन्दा उनी सहायक प्रशिक्षक रहेका थिए । उनले नेपाली अन्डर–२३ फुटबल टोलीलाई पनि प्रशिक्षण दिएका थिए ।

ओलम्पीयन समेत रहेका वक्सिङका डम्बरदत्त भट्ट दुबईमा भएको एसियन यूथ एन्ड जुनियर च्याम्पियनसिपमा नेपाली खेलाडीलाई पदक जिताउने मध्येका प्रशिक्षक हुन् । उनले प्रशिक्षण दिएकी स्वस्तिका तिरुवाले पहिलो पटक सो प्रतियोगितामा कांस्य पदक जितेकी थिइन् । एसियन यूथ एन्ड जुनियर च्याम्पियनसिपमा नेपाली टोलीले पहिलो पटक पदक जितेको छ ।

वर्ष युवा खेलाडीको मनोनयनमा क्रिकेटका लोकेश बम फुटबलकी चन्द्रा भण्डारी र भलिबलका विशाल भण्डारी परेका छन् । क्रिकेटका लोकेश बमले कलिलो उमेरमै युएइ विरुद्धको नेपाली टोलीबाट डेब्यु गरेका छन् । उनले डेब्यु खेलमा २१ बलमा ३३ रनको पारी खेलेका थिए । घरेलु प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका उनी अन्डर–१९ नेपाली टोलीमा नपरे पनि आईसीसी टी–२० विश्वकपको छनोट खेलमा पनि प्लेइङमा परेका खेलाडी हुन ।

प्रधानमन्त्री कपमा ६ खेलमा १५२ रन बनाउँदै आफ्नो क्लबलाई उपाधि जिताएका थिए भने आक्रामक रूपमा अर्धशतकीय पारी समेत लेखेका थिए ।फुटबलकी चन्द्रा भण्डारीले महिला लिग छनोट प्रतियोगिताको उपाधि धनगढीलाई जिताउन उत्कृष्ट प्रदर्शन गरेकी थिइन् ।

फाइनलमा दुई सहित ५ खेलमा १२ गोल गर्दै महिला लिग छनोट प्रतियोगिताको उत्कृष्ट फरवार्ड बनेकी थिइन् । उन्नाई वर्ष मुनिको साफ महिला फुटबल च्याम्पियनसिपमा नेपाली महिला फुटबल टोलीको सदस्यको रूपमा भुटान समेत गएकी थिइन् । हाल सञ्चालन भइरहेको राष्ट्रिय महिला लिगमा वालिङ विरुद्ध ह्याट्रिक सहित चार गोल र चन्द्रपुर नगरपालिका विरुद्ध एक गोल गर्दै प्लेयर अफ द म्याच भएकी थिइन् ।

भलिबका विशाल भण्डारी कलिलो उमेरमै खेलको छाप छोड्न सफल भएका छन् । १७ वर्षको उमेरमै क्षेत्रीय प्रतियोगितामा डेब्यु गर्दै उत्कृष्ट लिवरोको उपाधि समेत उनले जितिसकेका छन् । १८ वर्षको उमेरमा राष्ट्रिय पतियोगितामा डेब्यु गर्दै सुदूरपश्चिमका लागि उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी मध्येमा विशाल पर्छन् ।

यसअघि वर्ष महिला र पुरुष विधाको मनोनयन सार्वजनिक भएको थियो । वर्ष पुरुष खेलाडीमा क्रिकेटका दीपेन्द्र सिंह ऐरी फुटबलका टिकेन्द्र थापा र ब्याडमिन्टनका प्रिन्स दाहाल मनोनयनमा परेका थिए । महिला वर्ष खेलाडी तर्फ भलिबलकी सरस्वती चौधरी, फुटबलकी उषा नाथ र एथलेटिक्सकी राजपुरा पछाई मनोनयनमा परेकी छिन् ।

सुदुरपश्चिम आईकन महिला र पुरुष विधाको मनोनयन केही दिनमा सार्वजनिक हुने मञ्चका महासचिव तथा कार्यक्रम संयोजक प्रदीप पाठकले जानकारी दिए । उनका अनुसार दुई विधा लाईफटाईम एचिभमेन्ट अवार्ड र स्पेशल अवार्डको घोषणा भने कार्यक्रम आयोजना भएकी स्थानमा घोषणा गरिनेछ ।

विभिन्न ८ विधामा दिईने अवार्डको तेस्रो संस्करणको तयारी तीव्र रूपमा भइरहेको छ । उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाइफ टाइम एचिभमेन्ट अवार्ड, सुदूरपश्चिम आइकन महिला र पुरुष विधामा अवार्ड प्रदान गरिनेछ ।

उत्कृष्ट खेलाडी पुरुष र महिला विधाका विजेतालाई ३५/३५ हजार, उत्कृष्ट प्रशिक्षकलाई ३० हजार, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड र लाइफ टाइम एचिभमेन्ट अवार्डका विजेतालाई २५/२५ हजार नगदबाट पुरस्कृत गरिने आयोजक नेपाल खेलकुद पत्रकार मञ्च कैलालीले जनाएको छ । यस्तै सुदूरपश्चिम आइकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । कार्यक्रम यही चैत्र २५ गते धनगढीमा आयोजना हुने छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर