‘कर्णालीमा कांग्रेस एक्लैले धेरै स्थानीय तहमा जित्न सक्छौं, तर तालमेलकै सम्भावना छ’ – Nepal Press

‘कर्णालीमा कांग्रेस एक्लैले धेरै स्थानीय तहमा जित्न सक्छौं, तर तालमेलकै सम्भावना छ’

‘तालमेल हुँदा ७९ मध्ये कम्तिमा ४५ पालिकामा दाबी गर्छौ’

स्थानीय तहको निर्वाचन आउन डेढ महिना मात्रै बाँकी छ । कर्णाली प्रदेशमा विभिन्न राजनीतिक दलहरुले चुनावी प्रचार गर्न थालिकसकेका छन् । दलका नेताहरु गाउँ फर्कनेक्रम बढ्दोछ । विभिन्न स्थामनमा चुनावी सभा, पार्टी प्रवेश तथा प्रशिक्षण कार्यक्रमले तीव्रता पाएका छन् ।

अघिल्लो निर्वाचनमा व्यक्त भएको मतको रुझान हेर्ने हो भने कर्णालीमा एमालेको ३८, माओवादीको ३१ र काँग्रेसको झण्डै २७ प्रतिशत मत रहेको थियो । आसन्न स्थानीय निर्वाचनमा सत्तारुढ ५ दलीय गठबन्धनबीच तालमेलको सम्भावना छ ।

नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा अधिकांशले पार्टीलाई लाभ हुनेगरी चुनावी तालमेल गर्नुपर्नेमा जोड दिएका छन् । कांग्रेस केन्द्रीय समितिमा आमन्त्रित कांग्रेसको कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले ‘माओवादीमो मोडलमा चुनावी तालमेल गर्न नहुने’ बताएका थिए ।

माओवादीले भनेबमोजिम तालमेल हुँदा कर्णालीमा कांग्रेसलाई क्षति हुने चर्चा गरेका शाहीसँग चुनावकेन्द्रीत प्रसंगमा नेपाल प्रेसकर्मी शेरबहादुर थापाले गरेको कुराकानी, नेपाल टकमा–

कांग्रेस बैठकमा तपाईंँले माओवादीसँग तालमेल गर्दा कांग्रेसलाई क्षति हुने बताउनुभएछ । के कर्णालीमा एमालेसँगको तालमेल उपयुक्त हुन्छ भन्न खोज्नुभएको हो ?

केन्द्रीय समितिको बैठकमा मैले अन्य प्रदेशमा भन्दा कर्णालीमा अवस्था फरक छ भनेको हुँ । जहाँ जसले जितेको छ उसैले नेतृत्व लिएर जाने मोडलमा तालमेल गर्ने हो भने त कर्णालीमा कांग्रेसलाई घाटा हुन्छ भनेको हुँ । मेरो भनाइको तात्पर्य माओवादीसँग तालमेल नगर्ने, एमालेसँग गर्ने भन्ने होइन । राजनीतिक हिसाबले एमालेसँग कांग्रेसको तालमेल हुने सम्भावना देखिँदैन । हाम्रा नीजि विचारहरु जे भएपनि पार्टीले गर्ने निर्णय नै सर्वोपरी हो । मलाई लाग्छ अहिले केन्द्रमा भएकै गठबन्धनले प्रदेशमा र चुनावमा निरन्तरता पाउछ । केन्द्रीय समितिमा मैले जहाँ जसले जितेको छ उसलाई छोड्ने नभएर न्यायोचित तालमेल हुनुपर्छ भनेको हुँ ।

कर्णालीमा अघिल्लो निर्वाचनमा कांग्रेस त तेस्रो पार्टी भएको थियो । एमाले पहिलो र माओवादी दोस्रो स्थानमा थियो । कांग्रेसभन्दा माओवादी बलियो भएकोले माओवादीसँग मिल्दा कांग्रेस पछि पर्छ भन्नुभयो भन्ने चर्चा छ नि ?

मेरो भनाइको सन्दर्भ अर्कै हो । गठबन्धन गर्दा जसले हिजो जहाँ जितेको छ, अबपनि उसैलाई छाडेर एमालेले जितेकोमा तालमेल गर्ने कुरा उठेको थियो । त्यसमा मैले फरक मत राखेको हो । किनकि कर्णालीका केही जिल्लाको स्थानीय तहमा कांग्रेस नील छ । यदि त्यहीअनुसार तालमेल भयो भने त फेरीपनि कांग्रेसले केही नपाउने भयो । त्यसैले कर्णालीको हकमा हिजो जितेको आधारमा नभए पार्टीहरुको ताजा अवस्थाका आधारमा चुनावी तालमेल गर्नुपर्छ भनेको हुँ ।

चुनावी तालमेल हुँदा अब कांग्रेसको केन्द्रले नै पालिका र पद तोकिदिने त होला नि ?

पार्टीको केन्द्रबाट नै पालिका र पद तोक्नु व्यवहारिक हुने देखिँदैन । कांग्रेसमा अब प्रदेश, जिल्ला, क्षेत्र र वडासम्मको कार्यसमितिहरु छन् । त्यसैले स्थानीय तहबारे निर्णय स्थानीय समितिले नै गर्नुपर्छ । त्यसो हुँदा व्यवहारिक र जित्न सजिलो हुन्छ ।

‘घर घर जाउँ कागें्रस जिताउ’ भन्ने अभियान पनि जारी छ । कर्णालीको स्थानीय तहमा कांग्रेसको अवस्था कस्तो पाउनुभयो ?

कर्णाली प्रदेशमा कांग्रेसको संगठन सुध्रिएको अवस्था छ । गठबन्धन नहुने र मुख्य पार्टीहरु एक्लाएक्लै लड्ने हो भने कांग्रेस पहिलो शक्ति बन्छ । नेकपा र एमाले विभाजनको लाभ कांग्रेसलाई पुग्छ । तर राजनीतिक हिसाबले गठबन्धन भयो भने शक्ति सन्तुलन गर्नुपर्छ । गठबन्धन हुने अवस्थामा कसले कति तागत हासिल गर्ने भन्ने अझै छलफल र प्रतीक्षाकै विषय हो ।

एक्लै लड्दा काँग्रेस पहिलो पार्टी बन्छ भनेर त भन्नुभयो । यसको आधार के हो ?

अहिले नेकपा विभाजन भएको अवस्था छ । एमालेपनि फुटेर एकीकृत समाजवादी बनेको छ । माओवादीका पनि केही नेताहरुले पार्टी छाडेका छन् । त्यस्तै अघिल्लो स्थानीय निर्वाचनमा जितेका एमाले र माओवादीका जनप्रतिनिधिहरुको कामबाट जनता सन्तुष्ट छैनन् । त्यसैले जनमत यसपटक कांग्रेसतर्फ आकर्षित हुन्छ । यिनै कारणले कांग्रेस कर्णालीमा पहिलो पार्टी बन्छ भन्ने लागेको छ ।

माओवादी र एमालेप्रति वितृष्णा छ भन्नुभयो । त्यस्तो हो भने काँग्रेस एक्लै लड्ने निर्णय किन गर्न नसकेको ?

यो राष्ट्रिय राजनीतिको विषय हो । कर्णाली प्रदेशमा चैं एक्लै लड्छौं, बाँकी प्रदेशमा तालमेल गर्नुस भन्न मिल्दैन । पार्टीको केन्द्रीय समितिको निर्णयअनुसार हामी अगाडि बढ्नुपर्ने हुन्छ । हाम्रो तागत र हिम्मतले त यसपटक कर्णालीमा एक्लै जित्न सक्छौं भन्ने लागेको छ । तर प्रदेशको मात्रै अवस्था हेरेर भएन । राष्ट्रिय राजनीतिमा माओवादी र समाजवादीसँग हाम्रो सहकार्य भइरहेको छ । त्यसैले स्थानीय निर्वाचनमा तालमेलको सम्भावना रहेको हो । देशैभरी तालमेल हुने भएकाले कर्णालीमा पनि त्यहीअनुसार हुन्छ भन्ने हो ।

केन्द्रले आफैं निर्णय लिनुस् भन्यो भने प्रदेश समितिबाट एक्लै निर्वाचन लड्ने निर्णय गराउन सक्नुहुन्छ त ?

हेर्नुस् कर्णाली प्रदेशको पार्टी सभापतिका रुपमा म सहज अवस्थामा छु । कार्यसमितिमा मैले लगेका प्रस्ताव असफल हुने अवस्था छैन । मैले राखेका प्रस्ताव सर्वसम्मत रुपमा नै पारित हुन्छ । तर पार्टी भनेको प्रदेश मात्रै होइन । देशभरको आवश्यकता र केन्द्रको नीति अनुसार नै हामी अगाडि बढ्नु उपयुक्त हुन्छ ।

वैशाख तीस गतेको चुनावका लागि काँग्रेसले उम्मेदवार कहिले टुंगो लगाउँछ ?

हामीले चैतको अन्त्यसम्म उम्मेदवार टुंगो लगाउँछौं । खासमा उम्मेदवारी दर्ता गर्ने समयभन्दा एक महिना पहिले नै हामीले उम्मेदवार टुंगो लगाइसक्नुपर्ने हो । तर गठबन्धनको सम्भावना रहेकोले कुन पालिका कसले लिने भन्ने टुंगो लागेको छैन । त्यो टुंगो लाग्नासाथ कांग्रेसले उम्मेदवार छान्छ ।

गठबन्धन गर्ने निर्णय भयो भने तपाईको कति पालिकामा दाबी हुन्छ ?

यो बार्गेनिङको कुरा हो । कर्णाली प्रदेशका ७९ मध्ये कम्तिमा ४५ स्थानीय तहको नेतृत्वमा हाम्रो दाबी रहन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर