जनजाति संग्राहलयको निर्माणाधीन भवन एकदशकदेखि अलपत्र – Nepal Press

जनजाति संग्राहलयको निर्माणाधीन भवन एकदशकदेखि अलपत्र

खोटाङ । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको अल्छेढुंगामा रहेको जनजाती संग्रहालयको भवन अलपत्र परेको छ । २०६७ सालमा निर्माण सुरु गरिएको आदिवासी जनजाति संग्रहालयको भवन निर्माणको काम आर्थिक अनियमितताका कारण सुरुवाती चरणमै अलपत्र परेको हो ।

तत्कालीन भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई, भवन निर्माणको जिम्मा लिएका विष्णुराज राई र भक्तकर्ण राईले कोषाध्यक्षको कीर्ते हस्ताक्षर गरेर बैंकबाट रकम झिकेको भन्दै बढेको विवादका कारण भवन निर्माणको काम बीचमै अलपत्र बनेको हो । आदिवासी जनजातिका पुर्खाले आदिम कालमा प्रयोग गरेका हातहतियार, लुगाफाटा, गरगहना, बाजागाजालगायतका सामग्री राख्नका लागि निर्माण सुरु गरिएको संग्रहालय भवनको जग र पर्खाल उठाउने बाहेकका काम अघि बढ्न सकेको छैन । निर्माणाधीन भवनको जगमा झार, झाडी र उत्तिसको रुख हुर्किसकेका छन्।

भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर, कामको जिम्मा लिएका विष्णुराज र भक्तकर्णले कोषाध्यक्ष रामकुमारी राईको कीर्ते हस्ताक्षर गरी बैंकबाट रकम निकासा गरेको भन्दै २०७० सालमा अख्तियार र जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । संग्रहालय भवन निर्माण उपभोक्ता समितिको दिक्तेलस्थित राष्ट्रिय वाणिज्य बैंकमा रहेको चल्ती खाता नम्बर २५८३ को रकम आफ्नो कीर्ते हस्ताक्षर गरी १३ लाख ८३ हजार निकासा गरिएको भन्दै कोषाध्यक्ष राईले उजुरी दिएकी थिइन् । गुणस्तरहीन भवन बनेकाले आफूले रकम निकासा गर्न हस्ताक्षर नगरेको तर कीर्ते गरेर रकम निकासा गरिएको कोषाध्यक्ष राईको भनाइ छ ।

आर्थिक अनियमितता भएको भन्दै अख्तियार र प्रशासनमा उजुरी परेकाले थप रकम छुट्टयाउन नमिल्ने भएपछि अलपत्र भवन निर्माणको कामलाई अघि बढाउन सकिने अवस्था छैन । भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष जयबहादुर राई र भवन निर्माणको काममा संलग्न भक्तकर्ण राईको मृत्यु भइसकेका कारण पनि यस विषयमा कुनै काम कारबाही हुन सकेको छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर