खोटाङमा ब्रोइलर कुखुराको मासु अभाव – Nepal Press

खोटाङमा ब्रोइलर कुखुराको मासु अभाव

खोटाङ । चिसो मौसमका कारण ब्रोइलर कुखुरा उत्पादन गर्न नसक्दा खोटाङमा मासु अभाव भएको छ । गत मङ्सिर र पुषको हिमपातका साथै लामो समयसम्म वर्षा भएपछि बढेको चिसोका कारण ब्रोईलर उत्पादन गर्न नसक्दा पछिल्लो समय मासु अभाव भएको हो ।

ब्यवसायीका कुखुरा फार्महरुमा ब्रोइलर कुखुरा पाउन छाडेपछि जिल्लामा सञ्चालित सबै मासु पसलहरू प्रायः बन्द भएका छन् ।  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले यसअघि नगरपालिका ब्रोइलर कुखुराको मासु तथा अण्डामा आत्मनिर्भर भएको घोषणा गरेको थियो । उक्त घोषणासँगै तराईबाट आयात हुने ब्रोइलर कुखुरा तथा अण्डामा रोक लगाएपछि दिक्तेल बजारमा अहिले ब्रोइलर कुखुराको मासुको हाहाकार भएको छ ।

चिसो मौसमका साथै ओमिक्रोनको त्रासका कारण ब्रोइलर कुखुराको मासु उत्पादन गर्न नसक्दा व्यवसायीले करोडौँको घाटा व्यहोर्नु परेको पोल्ट्री व्यवसायी संघ खोटाङका अध्यक्ष सुवास जोशीले बताए । प्रति केजी पाँच सय रुपैंयामा बिक्री हुने ब्रोइलर कुखुराको मासु दिक्तेलबजारमा मात्रै दैनिक २ सय ५० देखि तीन सय केजीसम्म खपत हुने गरेको अध्यक्ष जोशीको भनाई छ ।

स्थानीय कुखुराकाे मूल्य बढ्याे

दिक्तेलबजार तथा आसपासका क्षेत्रमा समेत ब्रोइलर कुखुराको मासु पाउन छाडेपछि अहिले जिल्लामा स्थानीय जातका कुखुराले भने राम्रो मूल्य पाएको छ । यसअघिसम्म प्रति केजी रु आठ सयमा पाउने स्थानीय जातका कुखुराको मूल्य बढेर अहिले प्रति केजी नौ सयदेखि एक हजारसम्म पुगेको उपभोक्ताहरुले बताएका छन् । स्थानीय जातका कुखुरको माग बढेसँगै जिल्लामा व्यवसायिक रुपमा स्थानीय जातका कुखुरा पालन गर्नेको सङ्ख्यासमेत वृद्धि हुँदै गएको छ ।

दिक्तेल बजारमै ह्याचरी उद्योग (स्थानीय जातका कुखुरको चल्ला उत्पादन गर्ने मेसिन) सञ्चालन गरेर गाउँगाउँमा स्थानीय जातका कुखुराको चल्ला बिक्री वितरण शुरु भएको छ । गर्मी बढे सँगै हाल अधिकांश कुखुरा फार्ममा चल्ला हालिएको कृष्कहरुले बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर