भूपू गोर्खा सैनिकबारे बेलायतसँग वार्ता सुरु भइसक्यो : राजदूत आचार्य – Nepal Press

भूपू गोर्खा सैनिकबारे बेलायतसँग वार्ता सुरु भइसक्यो : राजदूत आचार्य

लण्डन । बेलायतस्थित नेपाली राजदुत ज्ञानचन्द्र आचार्यले भूतपूर्व गार्खा सैनिकहरुका माग सम्बोधनका लागि प्रारम्भिक वार्ता सुरु भइसकेको बताएका छन् ।

बेलायतमा सक्रिय नेपाली पत्रकारहरु र विभिन्न १४ सञ्चारसंस्थाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै राजदूत आचार्यले नेपालले गोर्खा सैनिकसम्बन्धी वार्तालाई उच्च प्राथमिकतामा राखेको बताए ।

गोर्खा सैनिकका समस्याबारे बेलायतसँग वार्ता गर्न राजदूत आचार्य नेतृत्वकै वार्ता टोली सक्रिय रहँदै आएको छ । राजदूत आचार्यले आफ्नो कार्यकालमा नेपाल–बेलायत सम्बन्धलाई अझ सुदृढ बनाउने प्रतिवद्धता व्यक्त गरे ।

‘बेलायतसंग व्यापार, पर्यटन , कला संस्कृति लगायतका विविध विषयमा आफ्नो कार्यकालमा ठोस र उपलब्धिमुलक कार्य गरिने योजना बनाएको छु’, आचार्यले भने । राजदूत आचार्यले बेलायतस्थित नेपाली दूतावासमा सूचना केन्द्र र पुस्तकालय बनाउन सकरात्मक रहेको बताएका थिए ।

नेपाल पत्रकार महासंघको बेलायत शाखाका अध्यक्ष विपिन निरौलाले बेलायतमा रहेका नेपालीहरुको सरोकार सम्बोधन गर्न दूतावासलाई नेपाली पत्रकारहरुले आवश्यक सहयोग गर्ने बताए ।

कार्यक्रममा वरिष्ठ पत्रकारहरु सुमन खरेल, बालमुकुन्द जोशी, गोविन्द बेलवासेलगायतले बेलायतमा नेपाली पत्रकारिताको विगतको अनुभव र भविष्यको चनौतीका बारेमा चर्चा गरेका थिए ।

कार्यक्रममा लण्डन नेपाल न्युज डटकमको निर्देशक राजकुमार त्रिपाठीले बेलायतमा अनलाईन मिडियाका समस्याका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा नेपाली चलचित्र पत्रकारिताका बारेमा वरिष्ठ संचारकर्मी मनिष श्रेष्ठ आफ्नो अनुभव सुनाए । पत्रकार तथा सामाजिक अभियन्ता संगीता मरहठ्ठाले सञ्चारमा महिलाको भुमिका बढाउनु पर्नेमा जोड दिएकी थिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर