तीव्र गतिमा अघि बढ्दै भेरी बबई डाइभर्सन निर्माण, ४० प्रतिशत भौतिक प्रगति – Nepal Press

तीव्र गतिमा अघि बढ्दै भेरी बबई डाइभर्सन निर्माण, ४० प्रतिशत भौतिक प्रगति

सुर्खेत । राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको भौतिक निर्माण प्रगति ४० प्रतिशत सम्पन्न भएको छ । हालसम्म कुल भौतिक र वित्तीय गरी ५३ प्रतिशत प्रगति हासिल भएको आयोजनाको काम तीव गतिमा अघि बढिरहेको हो ।

आयोजनाका सूचना अधिकारी एवं सिनियर डिभिजनल इन्जिनियर लेखनाथ सुवेदीले बाँध र विद्युतगृहका लागि आवश्यक पर्ने हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलतर्फका खरिद सम्झौता सम्पन्न भइ डिजाइनको काम थालिएको बताए । ‘समग्रमा आयोजनाको प्रगति ५३ प्रतिशत भएको छ, दोस्रो चरणको सिभिल निर्माणका काम पनि झण्डै ४० प्रतिशत सम्पन्न भएको अवस्था छ,’ उनले भने, ‘तोकिएको समयमै सम्पन्न गर्न दोस्रो र तेस्रो चरणका कार्यहरु अघि बढाइएको छ ।’

हाल बाँध (हेडवक्र्स) र विद्युत्गृह (पावरहाउस) निर्माण, हाइड्रोमेकानिकल (एचएम) र इलेक्ट्रोमेकानिकल (ईएम)सम्बन्धी डिजाइनका कामहरु भइरहेको आयोजना कार्यालयले जनाएको छ ।

आयोजनाले दोस्रो चरणमा सिभिल संरचनाअन्तर्गत हेडवक्स, पावर हाउस (विद्युत्गृह), बाँध (कफर ड्याम), सर्ज साफ्ट तथा हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकलसम्बन्धी कामलाई तेस्रो चरणमा रुपमा काम अघि बढाएको हो । पहिलो चरणमा सुरुङको निर्माण कार्य तोकिएको समयभन्दा एक वर्ष अगावै सम्पन्न भइसकेको थियो । उनका अनुसार सिभिल निर्माणअन्तर्गत बबई हात्तीखालमा विद्युत्गृह निर्माणको जग खन्ने काम भइरहेको छ ।

आयोजनाको कुल लागत ३६ अर्ब ८० करोड ७७ लाख रुपैयाँमध्ये हालसम्म १४ अर्ब बढी रकम खर्च भइसकेको छ । सरकारले आयोजनाका लागि चालु आर्थिक वर्षमा ३ खर्ब ४ करोड ६ लाख रुपैयाँ बजेट पुँजीगततर्फ विनियोजन गरेको छ ।

आयोजनाले पहिलो चरणअन्तर्गत सुरुङ निर्माण कार्य पूरा गरिसकेको छ । चिनियाँ कम्पनी चाइना इन्जिनियरङ ओभरसिज प्रालि (कोभेक)ले टनेल बोरिङ मेसिन (टिबिएम)का सहायताले सुरुङ निर्माण गरेको थियो ।

दोस्रो चरणका मुख्य कामहरु बाँध र विद्युत्गृह निर्माणका लागि चिनियाँ कम्पनी ग्वाङ्डोन तथा नेपालको रमण निर्माण जेभी र आयोजनाबीच २०७६ साउनमा ठेक्का सम्झौता भएको थियो । कम्पनीले दोस्रो चरणका सबै कार्यहरु आर्थिक वर्ष २०७९–८० मा सम्पन्न गर्ने कार्यादेश पाएको छ ।

सुर्खेतको भेरीगंगा नगरपालिका–५ चिप्लेमा भेरीको पानी बबईमा खसाल्न छ गेजसहितको ब्यारेज निर्माण गर्न लागिएको हो । उक्त ब्यारेज ११४ मिटर लामो र १४ मिटर अग्लो हुनेछ । त्यहाँबाट १२ किमी २१० मिटर लामो सुरुङमार्फत भेरीगंगा नगरपालिका– ११ हात्तीखालमा भेरीको पानी बबई नदीमा खसालिने छ । जहाँ ४८ मेगावाट क्षमताको विद्युत् उत्पादन गरिनेछ ।

संघीय सरकारले आफ्नो स्वामित्वमा रहने गरी भेरी बबई डाइर्भसन जलविद्युत् कम्पनी स्थापना गरिसकेको छ । यस आयोजनाले लुम्बिनी प्रदेशका बाँके र बर्दिया जिल्लाको ५१ हजार हेक्टरमा सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर