युथ कांग्रेसले भन्यो- वैशाखमा स्थानीय निर्वाचन नहुनु प्रतिगमन – Nepal Press

युथ कांग्रेसले भन्यो- वैशाखमा स्थानीय निर्वाचन नहुनु प्रतिगमन

काठमाडौं । नेपाली कांग्रेसप्रति शुभेच्छा राख्ने युवाहरूको संस्था युथ कांग्रेस नेपालले स्थानीय तहको निर्वाचन नसार्न सरकारको ध्यानाकर्षण गराएको छ ।

युथ कांग्रेसका राष्ट्रिय संयोजक सचिन तिमल्सेनाले विज्ञप्ति जारी गर्दै आवधिक निर्वाचन लोकतन्त्रको प्रमुख अभ्यास रहेको भन्दै स्थानीय तहलाई रिक्त बनाएर निर्वाचन सार्ने कुरा स्वीकार गर्न नसकिने बताएका हुन् । संविधानतः वैशाखमा हुनुपर्ने निर्वाचनलाई ६ महिना पछाडि धकेल्दा संवैधानिक संकट निम्तिन सक्ने खतरासमेत युथ कांग्रेसले औल्याएको छ ।

‘स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा ३ को उपदफा १ बाधक भएको निष्कर्ष निकालेर संविधानको एउटा धारालाई हेरेर मात्रै आफ्नो नियत अनुकूल निर्णय गर्न खोज्नु संविधान र लोकतान्त्रिक व्यवस्था माथिको ठाडो प्रतिगमन हो’, विज्ञप्तिमा भनिएको छ ।

वैशाखमा स्थानीय निर्वाचन नभए जनप्रतिनिधिविहीन हुने स्थानीय तहको कार्यकारिणी, व्यवस्थापिका र न्यायिक कामहरू प्रभावित हुने भन्दै युथ कांग्रेसले जनप्रतिनिधि नहुने स्थानीय तहले साउनदेखि राजश्व संकलन र खर्च गर्न नपाउने संवैधानिक प्रावधानप्रति सचेत रहन समेत सरकारको ध्यानकर्षण गराएको छ ।

‘संविधान र ऐनअनुसार लोकतान्त्रिक मूल्य र मान्यता अनुसरण नगरिएमा देशको शान्ति, लोकतान्त्रिक अभ्यास र परिपाटीलाई नै खलबल्याउन सक्छ । अतः समयमै स्थानीय तहको निर्वाचन सम्पन्न गरी संविधान र लोकतन्त्रको गरिमा कायम गर्न नेपाल सरकारलाई युथ कांग्रेस नेपाल हार्दिक अपिल गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर