अपराधीलाई पक्राउ नगरेको भन्दै सिरहामा राजमार्ग अवरुद्ध – Nepal Press

अपराधीलाई पक्राउ नगरेको भन्दै सिरहामा राजमार्ग अवरुद्ध

जनकपुरधाम । छुरा प्रहार घटनामा संलग्न अपराधीलाई पक्राउ गर्न नसकेको भन्दै गोलबजार नगरपालिका– ६ डोहटियाका बासिन्दाले पुनः पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन् ।

डोहटियाका सयौं महिला र पुरुषले लाठी बोकेर गोलबजारस्थित राजमार्गमा प्रशासनविरुद्ध प्रदर्शन गरिरहेका छन् । उनीहरुले राजमार्ग अवरुद्ध गर्नुका साथै बजार समेत बन्द गराएका हुन् । सहमतिअनुसार २४ घण्टाभित्र अपराधीलाई पक्राउ नगरेकाले आफूहरु पुनः आन्दोलनमा उत्रेका उनीहरु बताउँछन् ।

आन्दोलनकारीले मेयरले हत्यारा पक्राउ गर्न पहल नगरेको भन्दै गोलबजार नगरपालिकामा तालाबन्दी समेत गरेका छन् । करिब साढे ११ बजेदेखि नै राजमार्ग अवरुद्ध गरिएपछि हजारौं सवारी साधन र यात्रुहरु अलपत्र परेका छन् । अपराधीलाई अविलम्ब पक्राउ गरी सजायँ दिनुपर्ने, पीडितलाई क्षतिपूर्ती र घाइतेको निःशुल्क उपचार गर्नुपर्ने आन्दोलनकारीको माग छ ।

शनिबार साँझ गोलबजार नगरपालिका ६ डोहटियाका २६ वर्षीय रामकुमार सदाय र १९ वर्षीय निकेश सदायमाथि छुरा प्रहार भएको थियो । रामकुमारको मृत्यु भएको छ भने निकेशको उपचार धनगढीको आरके मेडिसिटी अस्पतालमा भइरहेको छ । मृतकको शव पीडित परिवारले बुझ्न मानेका छैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *