वागमतीमा माओवादीको सहमति प्रयास असफल, अध्यक्षसहित पदाधिकारीका लागि चुनाव हुँदै – Nepal Press

वागमतीमा माओवादीको सहमति प्रयास असफल, अध्यक्षसहित पदाधिकारीका लागि चुनाव हुँदै

काठमाडौं। प्रदेश अध्यक्षका दावेदारहरु पछाडि नहटेपछि नेकपा (माओवादी) केन्द्रको वागमती प्रदेश पदाधिकारीका सहमतिमा चयन गर्ने प्रयास असफल भएको छ।

गत मंसिर २५ मा प्रदेश सम्मलेन उद्घाटन भएको थियो । मुख्य गरी अध्यक्षमा सहमति जुट्न नसक्दा २७५ सदस्यीय प्रदेश समिति मात्रै घोषणा भएको थियो ।

अध्यक्षका दावेदारमध्यका एक सरल सहयात्री पौडेलले सम्मेलनदेखि हालसम्म गरिएको सहमतिको प्रयास सफल हुन नसकेको भन्दै अब चुनाव हुने निश्चत भएको बताए। नेपाल प्रेससँग पौडेलले भने, ‘आजसम्म सहमतिको धेरै प्रयास भयो तर जुट्न सकेन । आज बिहान ११ बजेसम्म पनि त्यो कोसिस हुन्छ, नभए चुनावी प्रक्रिया सुरु हुन्छ।’

सहमति जुट्न नसके चुनावबाट नेतृत्व चयन गर्ने भन्दै वागमतीमा प्रदेश निर्वाचन समिति पनि बनाइएको छ । निर्वाचन समितिका सदस्य गोविन्द बटालाले ११ बजेपछि निर्वाचन प्रक्रिया शुरु हुने नेपाल प्रेसलाई जानकारी दिए। ‘शुरुमा २७५ जनाको मतदता नामावली प्रकाशन गर्छौं, त्यसपछि अन्य प्रक्रियामा गएर आजै नतिजा दिन्छौं,’ उनले भने।

माओवादीको अन्तरिम विधानमा सम्मेलन प्रतिनिधिले समिति चयन गर्ने र समितिले पदाधिकारी चयन गर्ने व्यवस्था छ। त्यसै अनुसार प्रदेश समितिका २७५ सदस्यले पदाधिकारी चयन गर्नेछन्।

त्रिपक्षीय भिडन्त

वागमती प्रदेश अध्यक्षका लागि तीन जना नेताको बलियो दावेदारी देखिएको छ । सिन्धुपाल्चोकका सरल सहयात्री पौडेल र काभ्रेका दिनानाथ गौतम र भक्तपुरका डिपी ढकालको दावी रहेको छ।

सरल सहयात्री पनि माओवादीका स्थापित युवा नेता हुन् । जनयुद्धकालमा ब्रिगेड कमाण्डर रहेका उनी सेना समायोजनपछि पार्टी राजनीतिमा स्थापित भएका हुन् । उनी २०७० सालको निर्वाचनमा पराजित भएका थिए। उनी माओवादीको सांस्कृतिक संगठनका अध्यक्ष पनि हुन् ।

त्यस्तै अध्यक्षका अर्का दाबेदार दिनानाथ गौतम जनयुद्धकालका पूराना नेता हुन् । गौतम हाल काभ्रेको चौँरी देउराली गाउँपालिकाका अध्यक्ष छन् ।

प्रदेश अध्यक्षका दावेदार दोलखाका विशाल खड्का पनि थिए । हाल प्रदेशसभा सदस्य समेत रहेका युवा नेता खड्का जनयुद्धकालमा ८ वर्ष जेल बसेका थिए । उनी हालै वागमती प्रदेशको मन्त्री भएकाले अब अध्यक्षमा उनको दावेदारी हुने छैन्।

ढकाल माओवादीको भक्तपुर संयोजक हुन् । बौद्धिक एवं युवा नेताको छवि बनाएका उनले वामपन्थी आन्दोल सम्बन्धी आधा दर्जन पुस्तक समेत लेखेका छन्। उनले प्रदेश अध्यक्षका लागि प्रचार प्रसार सुरु गरेका छन्।


प्रतिक्रिया

One thought on “वागमतीमा माओवादीको सहमति प्रयास असफल, अध्यक्षसहित पदाधिकारीका लागि चुनाव हुँदै

  1. सरल सहयात्री अन्य २ जना लोभी भन्दा सान्चिकै ठिक सही र इमानदार मान्छे हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर