मतदाता नामावलीमा नाम दर्ता गर्न बच्चा बोकेर घण्टौँ लाइनमा (भिडिओ) – Nepal Press

मतदाता नामावलीमा नाम दर्ता गर्न बच्चा बोकेर घण्टौँ लाइनमा (भिडिओ)

गोलबजार । सिरहाको गोलबजार नगरपालिकामा मतदाता नामावलीमा नाम दर्ता गराउने योग्य मतदाताहरुको ठूलो भीड जम्मा भएको छ ।
विहान ८ बजेदेखि नै मतदाता नामावलीमा नाम लेखाउनेहरुको भीड लागेका छन् । साँझ ७ बजेपनि भीड कम भएको छैन ।

निर्वाचन कार्यालय सिरहाले गोलबजार नगरपालिकामा १५ दिन अर्थात् आजसम्म मदताना नामावली संकलन गर्ने व्यवस्था मिलाएको थियो । त्यो समय आज सकिने भएकाले छुटेका योग्य मतदाताहरु साँझ परेपनि लाइन बसेका छन् ।

महिलाहरु बच्चा बोकेर समेत लाइन बसेका छन् । कतिपय महिलाले त विहान आएर फारम भरेपनि फोटो खिचाउने पालो साँझसम्म नआएको गुनासो गरेका छन् ।

एक महिलाले भनिन्, ‘नगर प्रहरीले बदमासी गर्छन् । चिनेकालाई पठाइदिन्छन् तर फोटो खिच्ने ठाउँमा हामी अझै पुग्न सकेका छैनौं ।’

यहाँ मतदाता नामावली संकलन गर्न निर्वाचन कार्यालय सिरहाबाट दुई कम्प्यूटर अपरेटर खटेका छन् । १३ दिनसम्म एकजनाले मात्र काम गरे । तर धेरै योग्य मतदाताले नाम दर्ता गराउन बाँकी रहेका कारण अर्का एकजना कम्प्यूटर अपरेटर हिजो थपियो । उनी दुबैजना विहान ८ बजेदेखि नै नामावली संकलन गरिरहेका छन्, तर भीड उस्तै छ ।

गोलबजारका युवा अभियानी रबिन्द्र साह भन्छन्, ‘नाम दर्ताको समय आजै सकियो भने धेरै योग्य मतदाता छुट्छन् । सिडिओ साहेब वा निर्वाचन कार्यालय प्रमुखलाई भनेर भएपनि कम्तिमा ६÷७ दिन समय थप गराइदिनुस् ।’

छुटेकाहरुले कुनैपनि हालतमा आज नाम दर्ता गराउन नसक्ने उनको भनाई छ ।

नाम दर्ता गर्न खटेका कर्मचारी जयनाथ यादवले निर्वाचन कार्यालयले विहान ८ बजेदेखि राति ८ बजेसम्म काम गर्दा पनि भीड कम नभएको बताए ।

उनले भने, ‘पानी समेत खाने फुर्सद छैन । अबेर रातिसम्म नाम दर्ता गर्ने सोचेका छौं । हेरौं कति भ्याउँछौं ।’

सिरहाका अन्य पालिकामा पनि नाम दर्ता गराउने योग्य मतदताको भीड लागेको बुझिएको छ । तर जिल्ला निर्वाचन कार्यालय सिरहाकी प्रमुख इन्दिरा यादवले अब पालिकामा मतदाता नामावली संकलन गर्ने म्याद थप्न नसकिने बताइन् । उनका अनुसार अब पालिकामा छुटेकाहरुले जिल्ला निर्वाचन कार्यालयमा आएर मात्र नाम दर्ता गराउन सक्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *