अर्थका पूर्व अधिकृतसँग डेढ करोडबढी अवैध सम्पत्ति, श्रीमतीसहित अख्तियारको फन्दामा – Nepal Press

अर्थका पूर्व अधिकृतसँग डेढ करोडबढी अवैध सम्पत्ति, श्रीमतीसहित अख्तियारको फन्दामा

काठमाडौं । अर्थ मन्त्रालयका तत्कालिन शाखा अधिकृत उद्दब प्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख बढी बिगो दावीसहित अख्तियार दुरुपयोग अनुसन्धानले विशेष मुद्दा दायर गरेको छ ।

२०४० फागुन ६ गते सेवा प्रवेश गरेका थपलियाले अवकाश हुनुपूर्व २०७५ चैत मसान्तसम्म १ करोड ६४ लाख ८९ हजार ७०० रुपैयाँ भ्रष्टाचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

अख्तियारका प्रवक्ता नारायणप्रसाद रिसालका अनुसार थपलियाको सेवा अवधिको आयव्यव प्रवाह विवरण जाँच गर्दा वैध आय १ करोड २ लाख ८२ हजार २५८ रुपैयाँ मात्रै आर्जन गरेको खुल्न आएको छ । तर सो अवधिमा विभिन्न क्षेत्रमा गरेको लगानी र खर्च २ करोड ६७ लाख ७१ हजार ९५८ रुपैयाँ देखिएको छ ।

अख्तियारले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसूर गरेकोले निज उद्धब प्रसाद थपलियालाई विगो रू. १,६४,८९,७००.२५ कायम गरी साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ मा उल्लेख भएबमोजिम सोही ऐनको दफा ३ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९२० बमोजिम सजाय हुनका साथै निजले जाँच अवधिमा आर्जन गरेको श्रोत नखुलेको सम्पत्तिसमेत साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा ३, १६ ग., दफा २९ को उपदफा (१) र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख. बमोजिम असुल उपररजफत गरी पाउन मागदावी लिइएको छ ।’

यस्तै गैरकानूनी रुपमा आर्जन गरिएको सम्पत्तिबाट उनकी श्रीमती मुना पन्त थपलियाको नाममा भएका घरजग्गा, बैंक खाताहरुमा रकम मौज्दात लगायतमा गरिएका खर्चहरुमध्ये स्रोत पुष्टि हुन नभएपछि अख्तियारले उनलाई समेत प्रतिवादी बनाएर विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर