चीनले पुननिर्माणमा नेपाललाई सघाउने, थप खोप आपूर्ति गर्ने


काठमाडौं । चीनले प्राकृतिक विपत्ति र कोभिड-१९ महामारीविरुद्ध नेपाललाई सघाउने प्रतिबद्धता व्यक्त गरेको छ ।
काठमाडौंमा आजदेखि सुरु नेपालको पुननिर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई भर्चुअल सम्बोधन गर्दै चिनियाँ विदेशमन्त्री वाङ यीले भूकम्पपछिको पुननिर्माणमा पनि चीन नेपालसँग उभिएको बताए ।
कोभिडविरुद्ध चीनले थप ४० लाख डोज खोप सहायता गर्ने बताउँदै विदेशमन्त्री यीले महामारीविरुद्ध नेपाललाई सघाउन चीन अडिग रहेको बताए ।
नेपालले भूकम्पपछिको पुननिर्माणलाई सफलतापूर्वक सम्पन्न गर्न लागेकोमा पनि चिनियाँ विदेशमन्त्रीले बधाइ व्यक्त गरे । चीनले नेपालसँग मिलेर साझा भविष्यको खोजी गर्न चाहेको उनको भनाइ थियो ।
नेपालसँगको मित्रतापूर्ण सम्बन्धमार्फत चीनले पुननिर्माणमा सघाउन पनि आतुर रहेको यीले बताए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र चक्रपथ निर्माण परियोजना पनि सम्पन्न हुन लागेकोमा चिनियाँ विदेशमन्त्रीले हर्ष व्यक्त गरे ।
आफ्नो नेपाल भ्रमण क्रममा काठमाडौंका सांस्कृतिक धरोहरको भ्रमण गरेको स्मरण पनि विदेशमन्त्री यीले व्यक्त गरे ।