विपद्‍बाट सुरक्षित मुलुक बनाउन राष्ट्रपतिको आह्वान : नेपाललाई सघाउने चीन, अमेरिका र भारतको प्रतिबद्धता – Nepal Press
नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु

विपद्‍बाट सुरक्षित मुलुक बनाउन राष्ट्रपतिको आह्वान : नेपाललाई सघाउने चीन, अमेरिका र भारतको प्रतिबद्धता

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा आजदेखि काठमाडौंमा नेपालको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन सुरु भएको छ । होटल हायातमा आयोजित सम्मेलनको शुभारम्भ राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् ।

२०७२ को भूकम्पपछिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अनुभव तथा सिकाई बाँड्न आयोजित सम्मेलनको अध्यक्षता परराष्ट्रमन्त्री नारायण खड्काले गरेका छन् । भारत, अमेरिका, चीनसहितका राजदूतहरु पनि सम्मेलनमा सहभागी छन् ।

२०७२ साल वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसपछिका परकम्पहरुबाट पुगेको क्षतिको पुनर्निर्माण तथा पुनर्स्थापनाका अधिकांश कार्य राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सफलतापूर्वक सम्पन्न गरेको सन्दर्भमा सम्मेलन आयोजना गरिएको हो ।

सम्मेलनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले विपद्बाट जोगाएर सुरक्षित मुलुक बनाउन सबैलाई आग्रह गरिन् । पुननिर्माण र पुनस्र्थापनामा सघाउने अन्तर्राष्ट्रिय मुलुकहरुलाई समेत राष्ट्रपतिले धन्यवाद दिइन् ।

पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सबैको साथ र सहयोगमा भूकम्पपछिको पुनर्निर्माण र पुनर्स्थापनामा नेपालले प्राप्त गरेको यसै अनुभव र सिकाइलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा बाँड्न पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको बताए ।

अन्तर्राष्ट्रिय सम्मेलनको मूल नारा ‘पुनर्निर्माणबाट उत्थानशीलतातर्फ’ रहेको छ । सम्मेलनमा निजी आवास पुनर्निर्माण, साँस्कृतिक सम्पदा पुनर्निर्माण, सार्वजनिक पूर्वाधार पुनर्निर्माण, जीविकोपार्जन तथा आर्थिक पुनर्स्थापना र सुशासनका विभिन्न पक्षमा गरिएका अनुसन्धानमुलक प्रस्तुतिका साथै विषयगत गोष्ठीहरु समेत आयोजना हुने भएको छ ।

भर्चुअल र भौतिकरुपमा उपस्थित हुने गरी आयोजना गरिएको सम्मेलनमा भर्चुअलरुपमा विदेशबाट ७ सय जना प्रतिनिधि सहभागी रहेको जनाइएको छ । सम्मेलनलाई अहिले राजदूतहरुले सम्बोधन गरिरहेका छन् ।

विनाशकारी भूकम्प गएको दुई महिनापछि २०७२ साल असार १० गते काठमाडौंमा नेपालको पुनर्निर्माणमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अन्तर्राष्ट्रिय सम्मेलनको आयोजना गरिएको थियो ।

सम्मेलनमा ४ खर्ब १० अर्ब रुपैयाँको वैदेशिक सहयोगको प्रतिबद्धता प्राप्त भएको थियो । राहत तथा उद्धारमा खर्च भएको र अन्य पूर्वाधारमा गरिएको लगानी घटाउँदा पुनर्निर्माणका लागि वास्तविक प्रतिबद्धता रकम ३ खर्ब २१ अर्ब रुपैयाँ थियो । त्यसमध्ये ३ खर्ब १३ अर्ब रुपैयाँ बराबरको सम्झौता भएको छ, जुन कुल वास्तविक प्रतिबद्धता रकमको ९७.५ प्रतिशत हो । विपद्को समयमा हुने अन्तर्राष्ट्रिय सहयोगको प्रतिबद्धता अनुरुप नेपालले प्राप्त गरेको उक्त सहयोग अन्य मुलुकको तुलनामा उल्लेखनीय छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर