एमालेको केन्द्रीय सदस्यमा अनुभूतिबम नेपालीको उम्मेदवारी घोषणा – Nepal Press

एमालेको केन्द्रीय सदस्यमा अनुभूतिबम नेपालीको उम्मेदवारी घोषणा

काठमाडौं । नेकपा एमालेका युवा नेता अनुभूतिबम नेपालीले पार्टीको केन्द्रीय कमिटी सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन् । नेपालीले चितवनमा हुन लागेको पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमा आफूले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

नेता नेपालीले दलित समुदायका मुद्धालाई पार्टी र राज्यको नजरमा स्थापित गर्न एजेन्डासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिएको बताए । ‘मैले पार्टीमा झण्डै तीन दशकदेखि काम गरिरहेको छु । विद्यार्थी बेलादेखि संगठनमा लागेर, दलित, महिला र युवाको क्षेत्रमा लामो समयसम्म काम गरेको अनुभव छ, समुदायसँग जोडिएर जनताको चाहना र भावनाबमोजिम चल्नसक्ने पार्टी बनाउनुपर्छ भनेर लागिरहेको छु,’ उनले भने, ‘मेरो उम्मेदवारी त्यसैकालागि हो ।’

उनले दलित समुदायमाथि राज्यले गर्दै आएको विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफू निरन्तर लड्दै आएको भन्दै त्यस्तो विभेद र उत्पीडनको अन्त्यका लागि समेत आफूले भूमिका खेल्ने बताए । तेह्रथुमका नेता नेपाली जिल्लाको राजनीतिमा प्रभावशाली नेता हुन् ।

गैरसरकारी संघसंस्था र सामाजिक क्षेत्रमार्फत् नेपालीले जिल्लाको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण योगदान पुर्याएका छन् । ०५३ सालमा नेकपा एमालेको सदस्यता लिएका नेपाली हाल प्रदेश नं. १ संगठन कमिटी सदस्य छन् ।

उनी ०५५ सालमा अनेरास्ववियुको जिल्ला अध्यक्ष भए । त्यसअघि ०५२ सालमै दलित मुक्ति समाजको जिल्ला सचिव भएका थिए । उनले मुक्ति समाजका विभिन्न तहमा बसेर काम गरिसकेका छन् । उनी समाजको केन्द्रीय कमिटी सचिव समेत भए । उनी नेकपा एमाले जिल्ला कमिटीको सचिवालय सदस्य र सामाजिक सेवा तथा समावेशीकरण फाँट ईन्चार्ज भएर काम गरे ।

त्यस्तै, उनी ०६८ सालदेखि नेकपा एमाले प्रदेश कमिटी सदस्य तथा राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य, केन्द्रीय प्रचार विभाग सदस्य र कोशी अञ्चल समन्वय कमिटी सदस्यमा रही समावेशीकरण तथा सुरक्षा विभाग प्रमुखको रुपमा काम गरिसकेका छन् । दलित समुदायको सामान्य परिवारमा ०३० सालमा जन्मिएका नेपाली स्नात्तकोत्तर हुन् ।

‘मैले विद्यार्थी राजनीति गरेँ । पार्टीका विभिन्न तहमा बसेर काम गरिसकेको छु, मैले ग्राउण्ड लेवलको राजनीतिमा लामो समय लगाएको छु, मलाई पार्टीका नेता कार्यकर्ता साथीहरुले नजिकबाट बुझ्नुभएको छ, त्यही आधारमा सबैको साथ सहयोग पाउँछु भन्ने आशा लिएको छु,’ नेपालीले भने ।

नेता नेपाली ९ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य पदमा उम्मेदवार थिए । एमालेको राष्ट्रिय महाधिवेशन मंसिर ९ गतेदेखि चितवनमा हुँदैछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर