महिला तथा बालबालिका मन्त्री उमा रेग्मी : पुलिसको बुटले जसको गर्भ खेर गयो – Nepal Press

महिला तथा बालबालिका मन्त्री उमा रेग्मी : पुलिसको बुटले जसको गर्भ खेर गयो

काठमाडौं । जनमतसंग्रहमा बहुदलले हारेपछि पञ्चायती सरकार विरोधीप्रति अझ कठोर बन्दै गएको थियो । प्रजातन्त्र पुनःस्थापनाका लागि नेपाली कांग्रेसले विभिन्न आन्दोलन गरिरहेकै थियो । प्रतिबन्धित भएका कारण कांग्रेसका अधिकांश राजनीतिक गतिविधिको अगुवाई नेपाल विद्यार्थी संघले गर्दै आएको थियो ।

कुरो २०३८ सालको हो । वनकालीमा नेविसंघको अधिवेशन हुने भयो । त्रिभुवन विश्वविद्यालय स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्ष रहेकी उमा रेग्मी पनि भेलामा सहभागी थिइन् । त्यतिबेला उनको पेटमा गर्भ हुर्कँदै थियो । पञ्चायती प्रशासनको निर्देशनमा प्रहरीले नेविसंघ अधिवेशनमा धरपकड गर्‍यो ।

प्रहरीले लाठी र बुट बजार्न थालेपछि भागदौड मच्चियो । उमालाई त्यति नै बेला प्रहरीको बुटले लाग्यो । पछाडिबाट प्रहरीले गरेको निरन्तरको प्रहारले उनी घाइते भइन् । रक्तस्राव भयो र पेटमा हुर्कदै गरेको ‘बच्चा’खेर गयो ।

राजनीतिक आन्दोलनमा यस्ता थुप्रै हण्डर व्यहोरेकी उमा अहिले नेपाल सरकारको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री बनेकी छिन् । साढे ४ दशक लामो राजनीतिक जीवनमा महिला अधिकार र न्यायका लागि आवाज बुलन्द पार्दै आएकी उमा अब त्यसको कार्यान्वयन गर्ने उपल्लो जिम्मेवारीमा पुगेकी छिन् ।

पिता स्व. खडानन्द रेग्मी र माता लक्ष्मीदेवी रेग्मीको कोखबाट २०११ साल असार ३१ गते गोरखाको भच्चेकमा जन्मिएकी उमाको बाल्यकाल चितवनमा बित्यो । चितवनको शारदानगर माविबाट माध्यमिक शिक्षा पूरा गरेकी उनी २०३४ सालमा नेविसंघ पद्मकन्या क्याम्पसको संस्थापक सभापति बनिन् ।

२०३७ सालमा त्रिवि केन्द्रीय क्याम्पसको स्ववियू सभापतिमा निर्वाचित उनले पटक-पटक गरी ३ वर्ष जेलजीवन बिताएकी छिन् । विद्यार्थी राजनीतिमा मात्रै नभएर पढाईमा पनि उमा अब्बल थिइन् । त्रिविमा शिक्षा संकायमा सर्वोत्कृष्ण हुँदै उनी महेन्द्र विद्याभूषणबाट समेत विभूषित भइन् ।

नेपाली कांग्रेस (प्रजातान्त्रिक) को २०५९ सालमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भएकी उमा अहिले समानुपातितर्फबाट प्रतिनिधिसभा सदस्य रहेकी छिन् । कांग्रेसको भ्रातृ संस्था नेपाल महिला संघको निर्वाचित सभाति समेत रहेकी उमा आफ्नो राजनीतिक जीवनको उद्देश्य उन्नत समाज निर्माण गर्नु रहेको बताउँछिन् । ‘समाजमा पछि परेको वर्गको उत्थान र समृद्ध लोकतान्त्रिक मुलुक बनाउन म राजनीतिमा लागेको हुँ’, उमाको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर