सोलार वितरणमा राजनीति, सिफारिस गरेकाको नाम काटेर नगर उपप्रमुखले कार्यकर्तालाई बाँडेको आरोप – Nepal Press

सोलार वितरणमा राजनीति, सिफारिस गरेकाको नाम काटेर नगर उपप्रमुखले कार्यकर्तालाई बाँडेको आरोप

सुर्खेत । दैलेखको आठबीस नगरपालिकामा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले वितरण गरेको सोलारमा राजनीतिकरण भएको भन्दै आलोचना भएको छ । वडा कार्यालयले सिफारिस गरेको भन्दा पनि आफूनिकटका कार्याकर्तालाई सोलार बाँडिएको भन्दै आलोचना भएको हो ।

प्रतिवडा कम्तिमा १८ जनालाई सोलार वितरणका लागि वडाध्यक्ष र वडासचिवलाई नाम सिफारिस गर्न भनिएको थियो । तर, नगरउपप्रमुख दीपा बोहोराले वडाबाट सिफारिस भएका केही र बाँकी आफूनिकटकालाई बाँडेको भन्दै आलोचना भइरहेको छ ।

नेपाली कांग्रेसबाट निर्वाचित उपप्रमुख बोहोराले नगरप्रमुख खड्गराज उपाध्याय कार्यालयमा नभएको समयमा वडाबाट आएका नामहरु काटछाँट गर्दै आफ्नो इच्छाअनुसार सिफारिस पठाएको आरोप छ । उनी सोलार वितरण कार्यक्रमकी संयोजक पनि हुन् ।

यसको नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरुले समेत विरोध गरिरहेका छन् ।

‘हामीलाई वडाअध्यक्षले नाम छनोट गरी सिफारिस गर्न भनिएको थियो । वडाअध्यक्षकै रुचि र आवश्यकताअनुसार हामीले नगरप्रमुख, उपप्रमुखलगायतलाई १८ जनाको नामसहितको सूची पठाइदिएका हौं’ एक वडासचिवले भने, ‘लघुजलविद्युतको पहुँच भएका स्थानमा पनि सोलार वितरण गरिएको पाइएको छ ।’

वडा नम्बर आठमा गत वर्ष सोलार नपाएकाहरुको नाम पठाइए पनि उपप्रमुख बोहोराले पहिले पाइसकेकाहरुको नाम पनि पठाएको वडाअध्यक्ष मुक्ति उपाध्याय बताए ।

आठबीस नगरपालिकाका नगरप्रमुख खड्गराज उपाध्यायले आफू नभएको समयमा उपप्रमुख बोहोराले सोलार वितरण गर्न लागेको बताए । ‘म यहाँ थिएनँ, बाहिर भएको समयमा उहाँहरुले सोलार वितरण गर्नु भएछ’, उनले भने, ‘अहिले विभिन्न व्यक्तिबाट गुनासा आइरहेका छन् । सकेसम्म वास्तविक रुपमा आवश्यकता भएकाहरुलाई नै सोलार दिनुपर्छ भनेर हामी लागेका छौं ।’


प्रतिक्रिया

3 thoughts on “सोलार वितरणमा राजनीति, सिफारिस गरेकाको नाम काटेर नगर उपप्रमुखले कार्यकर्तालाई बाँडेको आरोप

Leave a Reply

Your email address will not be published. Required fields are marked *