कर्णालीमा बलिया माधव नेपाललाई पार्टी फुटाउँदा मिलेन निकट नेताहरुकै साथ – Nepal Press

कर्णालीमा बलिया माधव नेपाललाई पार्टी फुटाउँदा मिलेन निकट नेताहरुकै साथ

सुर्खेत । एकताका कर्णाली एमालेमा माधव नेपाल पक्षको बर्चश्व जस्तै थियो । कर्णालीका पाँच जिल्लामा माधव पक्षकै नेतृत्व थियो । स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभामा उक्त पक्षको राम्रो सहभागिता थियो । तर अहिले परिस्थिति फेरिएको छ । एमालेबाट फुटेर एमाले समाजवादी बनाएका माधव नेपाललाई कर्णालीका नेता तथा जनप्रतिनिधिले साथ दिएनन् ।

कर्णालीबाट नेकपा एमाले केन्द्रीय कमिटीका १५ सदस्य थिए । १५ मध्ये ९ जना माधव नेपाल पक्षका थिए । अहिले तीमध्ये ६ जनाले माधव नेपालको साथ छाडेका छन् ।

माधव नेपालका नजिकका मानिने युवा नेता निरज आचार्यले अखिरीमा माधव नेपाललाई साथ दिएनन् । त्यस्तै संघीय सांसद राजबहादुर बुढा पनि माधव नेपालको एमाले समाजवादीमा गएनन् ।

त्यस्तै सुर्खेतका ध्रवकुमार शाही र गोविन्दविक्रम शाहले पनि अन्तिममा माधव नेपाललाई साथ दिएनन् । मुगुका चन्द्रबहादुर शाहीको नाम एमाले समाजवादीको सूचीमा भए पनि उनले आफू एमालेमै रहेको बताएका छन् ।

माधव नेपालको एमाले समाजवादीमा प्रकाश ज्वाला, हंसबहादुर शाही र शेरबहादुर केसी मात्रै सहभागी भएका छन् ।

त्यस्तै कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरेर विश्वासको मत दिएका तीनजना एमाले समाजवादीको केन्द्रीय कमिटीमा परेनन् । कर्णालीका कुर्मराज शाही, नन्दसिंह बुढा र अम्मर थापा एमाले समाजवादीको केन्द्रीय कमिटीमा नअटाएका हुन् ।

कर्णालीका प्रकाश ज्वाला भने एमाले समाजवादीको केन्द्रीय कमिटीमा परेका छन् ।

नेता निरज आचार्यले अहिले पनि आफूहरु पार्टी एकताकै पक्षमा रहेको बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर