प्रहरी हिरासतमा मृत्यु प्रकरण–पोष्टमार्टमपछि पनि अन्तिम संस्कार गर्न अश्वीकार – Nepal Press

प्रहरी हिरासतमा मृत्यु प्रकरण–पोष्टमार्टमपछि पनि अन्तिम संस्कार गर्न अश्वीकार

चौतारा । सहकारी चोरी गरेको आरोपमा पक्राउ परेका एक युवाको इलाका प्रहरी कार्यालय बाह्रविसेको प्रहरी हिरासतमा मृत्यु भएको पाँच दिनपछि बल्ल पोष्टमार्टम भएको छ । साउन २२ गते बिहान उपचारको क्रममा धुलिखेलमा मृत्यु भएका बाह्रविसे नगरपालिका–७ घुम्थाङका खडकबहादुर तामाङको मंगलबार बेलुकी मात्रै शिक्षण अस्पताल महारजगञ्जमा पोष्टमार्टम भएको हो ।
पोष्टमार्टम पछि मृतकका आफन्तहरु परम्परा अनुसार दाहासंस्कार गर्न मन्जुर भएपनि तामाङ समाजका केही अगुवाहरुले पोष्टमार्टमको रिपोर्ट नआउदा सम्म दाहासंस्कार गर्न नदिने भनेपछि मृतकका आफन्तहरु समस्यामा परेका छन् ।
मृत्यु भएकै दिन बाह्रविसे नगरपालिकाको पहलमा मृतकका आफन्तहरु पोष्टमार्टम गर्न सहमती भएपनि प्रहरीको यातनाबाट तामाङको मृत्यु भएको भन्दै तामाङ समाज लगायतले विरोध गरेपछि पोष्टमार्टम हुन सकेको थिएन ।

बाह्रविसे नगरपालिकामा पीडित पक्ष,प्रहरी राष्ट्रिय मानवअधिकार संगठनका प्रतिनिधि र तामाङ समाजका प्रतिनिधिहरुको छलफल पछि घटनाको अनुसन्धानका लागि स्वतन्त्र छानविन समिति गठन गर्ने र त्यो भन्दा अघि मृतकको पोष्टमार्टम गर्ने सहमती भएपनि सहमती कार्यन्वन नहुदा पोष्टमार्टममा ढिलाई भएको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शर्पाले जानकारी दिए ।
‘हामीले सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा निष्पक्ष छानबिन समिति गठन गर्न भनेका थियौ तर तामाङ समाजका केही अगुवाहरुले आफ्नो स्वार्थ अनुसार अगाढी बढ्नु भयो’ बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले भने।

मंगलबार बेलुकी शिक्षण अस्पतालमा मृतकको पोष्टमार्टम भएपछि काजकिरीयाका लागि मेयरले व्यक्तिगत रुपमा एक लाख सहयोग गर्ने र पछि नगरपालिकाबाट पनि मृतकका परिवारलाई थप सहयोग गर्ने बचन दिएपछि दाहासंस्कार गर्न परिवार सहमती भएका थिए ।
तर छानविन समितिका सदस्य समेत रहेका तामाङ समाजका डिबी लामाले पोष्टमार्टमको रिपोर्ट नआउदासम्म केही गर्न नहुने बताएपछि दाहासंस्कार हुन नसकेको मेयर शेर्पाले जानकारी दिए ।

‘ढिलो पोष्टमार्टम हुदा आउनु पर्ने तथ्यहरु नआउन सक्छ,त्यसैले हामी छिटो पोष्टमार्टम गरेर त्यसपछि आउने रिपोर्टको आधारमा छानविन अघि बढाउन खोजेका थियौ मेयर शेर्पाले भने–‘तर घटनालाई राजनीतिक रंग दिन खोजीयो,मृतकमाथी घृणित राजनीति भयो । ’
मेयर शेर्पाका अनुसार परिवारका आफन्तको मृत्यु भएको छ त्यसमाथी लाश कुरेरे अस्पतालमा बस्नु पर्ने अवस्था सिर्जना भएको छ ।

मेयर शेर्पाले भने–‘पोष्टमार्टम भइसकेको छ,अब लासलाई किन अस्पतालमा वेवारीस बनाएर राख्नु ।’ आफ्नो स्वार्थका लागि केही तत्वहरुले पीडितहरुलाई झन पीडा दिएको मेयर शेर्पाको आरोप थियो ।
पोष्टमार्टमा को रिपोर्ट नआउदा सम्म मृतकका आफन्तहरुलाई राजधानीमा खान बस्न समेत समस्या सुरु भएको छ ।
परिवारका आफन्तहरु दाहासंस्कार गर्न चाहान्छन् तर अन्य व्यक्ति गर्न दिदैन् मेयर शेर्पाले भने–‘आन्दोलनकारीहरु पीडितलाई न्याय भन्दा पनि अन्याय गर्न लागिरहेका छन् । पहिला पोष्टमार्टमा रोक्ने,अहिले सदगत रोक्ने यो त हदै भयो नी बाह्रविसेका एक स्थानीयले भने । राजनीतिक स्वार्थ राखेर यसरी लाख माथी राजनीति गर्न नहुने ति स्थानीयको भनाई थियो ।
प्रहरी हिरासतमा मृत्यु भएपछि जिल्ला प्रशासन कार्यालयले ुहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनाल,जिल्ला प्रहरी कार्यालयका डीएसपी दक्षकुमार बस्नेत,राष्ट्रिय अनुसन्धानका प्रमुख सरोज निरौला,जिल्ला बारका अध्यक्ष भुपेन्द्र थिङ,तामाङ समाजको तर्फबाट डीबी लामा,सोही वडाका सदस्य बिरबहादुर थापा र मृतकको आफन्तहरुको तर्फबाट श्याम तामाङ रहेको छानविन समिति सोमबार गठन गरिएको थियो ।

छानविन समितिको प्रतिवेदन आएपछि अन्य प्रक्रिया अघि बढाउने प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर