कर्णालीमा छैन स्तरीय ‘ब्लड बैंक’, विरामीलाई जहिले सास्ती – Nepal Press

कर्णालीमा छैन स्तरीय ‘ब्लड बैंक’, विरामीलाई जहिले सास्ती

सुर्खेत ।कर्णाली प्रदेशको सबैभन्दा ठूलो अस्पताल कालागाउँमा हालसम्म ब्लड बैंक स्थापना भएको छैन । प्रदेश सरकार मातहतमा रहेको प्रदेश अस्पतालमा ब्लड बैंक नहुँदा अत्यावश्यक रुपमा रगत आवश्यक पर्ने विरामीलाई सामजिक सञ्जालको भर पर्नुपर्ने  अवस्था छ ।

सामाजिक सञ्जालमा रगत आवश्यक भनेर प्रचार भएपछि मात्रै विरामीले रगत पाउने गरेका छन् ।अस्पतालमा भएको रेडक्रस सोसाईटीद्धारा सञ्चालित ब्लड बैंकमा भने अनुसारको कहिल्यै पनि रगत पाउन नसकिएको सेवाग्राहीको भनाई छ ।

कर्णालीको सुविधा सम्पन्न भनिदै आएको अस्पतालमा ब्लड बैंक नभएकै कारण सेवाग्राहीहरु बारम्बार समस्यामा पर्दै आइरहेका छन् ।

‘पुरानो एक कोठामा रगत बैंक रहेछ । त्यहाँ मेरा आफन्तलाई रगत आवश्यक परेकोले छ कि भनेर गएको थिएँ, त्यहाँ रगत नै रहेनछ । पछि साथीहरुसँग सामाजिक सञ्जालमा कुरा गरेपछि मात्रै रगतको व्यवस्था हुनसक्यो ।’ दैलेख घर भएका सेवाग्राही उमेश पाण्डेले गुनासो गरे ।
‘कम्तिमा राजधानीमा रहेको प्रदेश अस्पतालमा एक व्यवस्थित रगत बंक त हुनुपथ्र्यो नि ? सरकारले बारम्बार प्रदेश अस्पतालमा सेवा सुविधा थप गराइरहेको दाबी गर्ने समयमा सबैभन्दा धेरै आवश्यक पर्ने रगत नै अस्पतालमा छैन ।’

उनले दुर्घटनामा परेका व्यक्तिहरुलाई रगत तत्काल आवश्यक पर्ने भएपनि यतातर्फ सरकारको ध्यान जान नसकेको भन्दै आक्रोश पोखे ।
कर्णालीमा धेरै रक्तदान गरेका पत्रकार प्रवास कुमार शाक्यले राज्यले बारम्बार घच्घच्याउँदा पनि ब्लड बैैक स्थापना गर्न नचाहेको दुखेसो पोखे ।

‘मेरो प्रदेशमा एउटा सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र छैन् । कुरा बुझ्दा त अहिलेको बजेटमा समेत सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र बनाउन बजेट छुट्याएको छैन् समेत छैन । रेडक्रसलाई सोध्यो प्रदेश अस्पतालले ठाउँ नै दिँदैन रे । साँच्चै कस्ले रोक्यो सुविधा सम्पन्न रक्तसञ्चार केन्द्र बनाउन ? सरकारले वा प्रदेश अस्पतालले ?’ उनले भने ।

‘कोरोना महामारीको समयमा अन्यत्र गएर तत्काल रगत ल्याउन पनि सकिदैन । यहाँ खोज्यो भने रगत भनेको समयमा पाइदैन । भनेको समयमा रगत नपाइएको खण्डमा विरामीको ज्यानै जाने खतरा हुन्छ ।’ वीनपा ६का दिपक बुढा भन्छन्, ‘सरकारले बेलैमा अत्याधुनिक रगत बैंक खोलेर सेवा प्रवाह गरोस् ।’

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काप्रीले व्लड बैंक स्थापनाको कुरा सहि भएको बताए ।

‘यहाँहरुले गम्भीर विषयमा कुरा उठाउनु भएको छ । म अहिले विदामा छु । आजै प्रदेश अस्पतालका डाक्टरसँग फोनमा कुरा गरेर व्लड बैंक स्थापना गर्नकालागि आवश्यक सल्लाह गर्छु ।’ सचिव काप्रीले भने, ‘हामीसँग स्वास्थ्य क्षेत्रका लागि बजेट अभाव भन्ने छैन । अन्य कार्यक्रम काटेर भएपनि लगानी गछौं । यहि आर्थिक वर्षमा व्लड बैंक स्थापना गर्नकालागि आवश्यक सल्लाह गर्छौं ।’

उनले अस्पतालमा ब्लड बैक नै नभएको भन्ने कुरा आफ्नो जानकारीमा नभएको बताउँदै कर्णालीमा अत्याधुनिक ब्लड बैंक स्थापना गर्नेमा मन्त्रालय लाग्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *