प्रहरीको तथ्यांक भन्छ- बलात्कारका अधिकांश घटना परिवार र छिमेकीबाट – Nepal Press

प्रहरीको तथ्यांक भन्छ- बलात्कारका अधिकांश घटना परिवार र छिमेकीबाट

बलात्कृतमध्ये करिब १२ प्रतिशत १० वर्षमुनिका बालिका

काठमाडौं । देशमा ८२ प्रतिशत बलात्कारका घटना परिवार र छिमेकीबाट हुने गरेको नेपाल प्रहरीको अनुसन्धानले देखाएको छ ।

गत वर्षका दुई हजार पाँच सय ३४ वटा बलात्कारका मुद्दामा दुई हजार आठ सय १५ जना बलात्कार आरोपितमध्ये ८२ दशमलव २० प्रतिशत अर्थात दुई हजार तीन सय १३ जना हाडनाता सम्बन्ध भएका तथा नजिक चिनजानका व्यक्ति भएको पाइएको हो ।

उनीहरूमध्ये ९ दशमलव ८८ प्रतिशत अर्थात दुई सय ७८ जनाले हाडनाता करणी गरेको र ३० दशमलव ८३ प्रतिशत अर्थात आठ सय ६८ जना छिमेकीबाट बलात्कृत भएको प्रहरी प्रवक्तासमेत रहेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्तबहादुर कुँवरले जानकारी दिए । जबरजस्ती करणीका घटना प्रायसजो नजिककै चिनजानका व्यक्तिबाट भएको देखिएको उनले बताए ।

जबरजस्ती करणीका दुई हजार पाँच सय ५४ जना पीडितमध्ये १० वर्ष मुनि उमेर समूहका ११ दशमलव ९८ प्रतिशत, ११ देखि १८ वर्ष उमेर समूहका ५३ दशमलव २४ प्रतिशत, ६० वर्षदेखि माथिका एक दशमलव ४८ प्रतिशत रहेका छन् ।

आर्थिक वर्ष २०७६/७७ मा घरेलु हिंसातर्फ ११ हजार सात सय ३८ आर्थिक वर्ष २०७७/०७८ मा १४ हजार दुई सय ३२ मा २१ प्रतिशतले वृद्धि भएको पाइएको छ ।

बोक्सीको आरोपका घटना तीव्र वृद्धि

पछिल्लो वर्ष बोक्सीको आरोपका घटना ७९ प्रतिशतले वृद्धि भएको पाइएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ४६ वटा घटना भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा ३४ वटा भएका थिए । तर, गत आर्थिक वर्ष २०७७/०७८ मा ६१ वटा घटना भएका छन् ।

अप्राकृतिक मैथुनका घटना पनि ३३ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा २४ वटा घटना भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा २७ वटा अप्राकृति मैथुनका घटना भएका छन् भने गत आर्थिक वर्ष २०७७/०७८ मा ३६ वटा भएका छन् ।

यस्तै बाल विवाहका घटना पनि ३१ प्रतिशतले वृद्धि भएको छ । आर्थिक वर्ष २०७५/०७६ मा ८६ वटा घटना भएकोमा आर्थिक वर्ष ०७६/०७७ मा ६४ वटा भएका छन् भने गत आर्थिक वर्ष २०७७/०७८ मा ८४ वटा वाल विवाहका घटना भएका छन् ।

घरेलु हिंसा तीन वर्षमा २१ प्रतिशतले, बालयौन दुराचार २० प्रतिशतले, जबरजस्ती करणी १८ प्रतिशतले, बहुविवाह १६ प्रतिशतले र जबरजस्ती करणी उद्योग छ प्रतिशतले वृद्धि भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर