सुजिताले चलाउने मोबाइल भेटियो, पोष्टमार्टमका लागि शव काठमाडौंमा – Nepal Press

सुजिताले चलाउने मोबाइल भेटियो, पोष्टमार्टमका लागि शव काठमाडौंमा

चितवन । सुजिता भण्डारीको मृत्युको कारण पत्ता लगाउन शवलाई काठमाण्डौको लगिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओम अधिकारीले एम्बुलेन्समार्फत पठाएको शवलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल लगिएको बताए ।

‘पोष्टमार्टम रिपोर्टपछिमात्रै मृत्युको कारण पत्ता लाग्नेछ’, उनले भने, ‘रिपोर्ट छिटो ल्याउने प्रयास छ, केही दिन लाग्ला ।’

घटनाको निष्पक्ष छानविन गर्नुपर्ने मागसहित स्थानीयले घटनास्थलबाट शव राखेर फर्किदै गरेको एम्बुलेन्सलाई करिब ८ घण्टा राप्ती-३ झुरझुरेमा अवरोध गरेका थिए । मृतकका आफन्नलाई पनि अर्को एम्बुलेन्समा राखेर पठाइएको छ । असार ११ गतेदेखि वेपत्ता सुजिताले सोही दिन दिउँसो १२ बजेतिर दिदूलाई आफू अपहरणमा परेको भन्दै बचाउँन अनुरोध गर्दै मोबाइलमा फोन गरेकी थिइन् ।

२० गते घरबाट करिब ४ किमि उत्तरतर्फको ब्रम्हस्थानी सामुदायिक वनको खोल्सामा गलेको अवस्थामा शव फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता तथा डीएसपी सूर्यबहादुर थापाले घटनास्थलमा पतेरोमा हाल्ने विषादीको बट्टा, झोला फेला परेको बताए ।

‘घटनास्थलमा अन्य प्रमाणहरु खोज्ने काम भइहेको छ’,थापाले भने, ‘आज फेरि सुजिताले चलाउने मोबाइल भेटिएको छ ।’ शव भेटिएको स्थानभन्दा करिब २० मिटर पर सिमकार्डबिनाको मोबाइल भेटिएको छ ।

जंगलमा च्याउ लिन गएका व्यक्तिले शव देखेपछि स्थानीय प्रशासनमा खबर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर