विदेशी विज्ञापनलाई नेपालमा जस्ताको तस्तै प्रसारण अनुमति दिने प्रस्ताव, महासंघको असहमति – Nepal Press

विदेशी विज्ञापनलाई नेपालमा जस्ताको तस्तै प्रसारण अनुमति दिने प्रस्ताव, महासंघको असहमति

यस्ता छन् केवल व्यवसायी महासंघले बोर्डलाई दिएका सुझाव

काठमाडौं । केवल टेलिभिजनहरुको साझा संस्था नेपाल केवल टेलिभिजन व्यवसायी महासंघले विदेशी कलाकारले अभिनय गरेका र विदेशी भाषामा बनेका विज्ञापनलाई जस्ताको तस्तै नेपालमा प्रसारण गर्न अनुमति दिन नहुनेमा जोड दिएको छ । विज्ञापनरहित टेलिभिजन प्रसारण ‘क्लीन फिड’ लाई प्रभावकारी बनाउने सन्दर्भमा महासंघले विज्ञापन बोर्डलाई पेस गरेको सुझावपत्रमा यो विषय समेटिएको हो ।

नेपालमा क्लीन फिडको अवधारणा अघि बढाइँदा विभिन्न बहुराष्ट्रिय कम्पनीका विज्ञापनहरू नेपालमै बन्ने र नेपालको विज्ञापन बजार फराकिलो हुने ध्येय राखिएको थियो । विदेशमा बन्ने विज्ञापन नेपालमै बन्न थालेपछि विदेशी कलाकारहरुको ठाउँमा नेपाली कलाकारले नै काम पाउने पनि अपेक्षा थियो । तर, अहिले आएर सोचेअनुसार परिणाम नआएको भन्दै बोर्डले विदेशी विज्ञापन नै जस्ताको तस्तै प्रसारण गर्न दिने अनौपचारिक प्रस्ताव गरेको हो ।

क्लीन फिड नीतिको कार्यान्वयनमा देखिएका समस्या र तिनको समाधानका उपायका विषयमा अध्ययन गरी सुझाव पेस गर्न गत वैशाख २९ गते विज्ञापन बोर्डले एउटा कार्यदल बनाएको छ । यो कार्यदललाई नेपाल केवल टेलिभिजन व्यवसायी महासंघका तर्फबाट अध्यक्ष ध्रुव शर्माले सुझावपत्र पेस गरेका हुन् ।

विदेशी विज्ञापनलाई जस्ताको तस्तै प्रसारण गर्न दिने विषयमा महासंघको सुझावमा भनिएको छ, ‘विद्यमान कानूनी व्यवस्थाले यस प्रकारको कार्य गर्न-गराउन पूर्णप्रतिबन्ध गरेको छ । हाल प्रस्ताव गरेबमोजिम विदेशमै बनेका विदेशी कलाकार तथा विदेशी भाषामा बनेका विज्ञापन जस्ताको त्यस्तै प्रसारण गर्न दिएमा विज्ञापनरहित नीति, २०७३, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ र यस अन्तर्गतका संस्थागत संरचनाहरुको समेत औचित्य नै समाप्त हुन्छ । साथै, नेपाली केवल तथा डिटिएच व्यवसायहरुलाई धराशायी पार्ने दुराशय राखी विज्ञापन रहित नीति, २०७३, विज्ञापन (नियमन गर्ने) ऐन, २०७६ र विज्ञापन (नियमन गर्ने) नियमावली, २०७७ जारी गरिएको समेत ठहर्छ । तसर्थ कुनै पनि हालतमा विदेशमै बनेका विदेशी कलाकार तथा भाषामा बनेका जस्ताको त्यस्तै नेपाली च्यानलमा विज्ञापन प्रसारण गर्न नपाउने ’, महासंघले सुझाव पेस गरेको छ ।

यस सम्बन्धमा विज्ञापन बोर्डका अध्यक्ष लक्ष्मण हुमागाईंसँग जिज्ञासा राख्दा उनले विदेशी विज्ञापनलाई जस्ताको तस्तै प्रसारण गर्न दिनेबारे निर्णय भइनसकेको बताए ।

उनले भने, ‘यो विषय छलफलमा आएको छ । तर, निर्णय भएको छैन । सबै सुझावहरूलाई अध्ययन गरेर निस्कर्षमा पुग्नेछौं ।’

महासंघले विदेशी भाषा र कलाकार प्रयोग भएर नेपाली भाषामा डविङ भएका विज्ञापनलाई प्रसारणमा रोक लगाउने कुरालाई यथाशीघ्र स्पष्ट पार्नसमेत माग गरेको छ । कलाकारको प्रयोग नगरी एनिमेसन वा इफेक्टको मात्र प्रयोग गरी विदेशमा निर्माण भएका र नेपालीमा स्वराङ्कन भएका विज्ञापनलाई भने प्रसारणको अनुमति दिनुपर्ने महासंघको सुझाव छ ।

महासंघले नेपालमा इन्टरनेटको माध्यमबाट प्रसारण हुने विदेशी च्यानलहरू तथा ओटीटी एप्सहरूलाई तत्कालै इन्टरनेटको माध्यमबाट नेपालमा हेर्न नसकिने व्यवस्था गर्नुपर्ने सुझाएको छ । महासंघमार्फत नेपालमा छरिएका विभिन्न केवल अपरेटरहरूसँग सहकार्य गरी स्थानीय प्रहरी-प्रशासनसँगको समन्वयमा घरघरमा पुगी गैरकानूनीरूपमा रहेका विदेशी डीटीएचलाई जफत गर्ने र प्रयोगकर्ताहरुमा सचेतना अभिवृद्धि गर्नुपर्ने सुझावपत्रमा उल्लेख छ ।

महासंघले नेपाल राष्ट्र बैंकद्वारा प्रदान गरिएको ५०० डलरसम्मको सुविधाका कारण विदेशी मुद्रा अनधिकृत रूपमा बाहिरिने सम्भावना रहेको विषयमा पनि ध्यानाकर्षण गराएको छ । त्यस्तो सुविधा प्रदान बोर्डको सिफारिस आवश्यक पर्ने व्यवस्था गर्नुपर्ने महासंघको सुझाव छ ।

‘विद्यमान अवस्थामा नेपाल राष्ट्र बैंकद्वारा प्रदान गरिएको ५०० डलरसम्मको डलर कार्ड सुविधाको गैरकानूनी रुपले अनधिकृत रूपमा फेसबुक, भाइबर, ह्वाट्सएपजस्ता सामाजिक सञ्जालहरूमा विज्ञापन गर्न तथा Netflix, Sony Live , Disney Hotstar, VOOT, Zee5 Sony Liv , Disney Hotstar, VOOT, Zee5, Amezon जस्ता एप्स आदि प्रयोग गरी गैरकानूनी तबरले विदेशी कार्यक्रम तथा चलचित्र हेर्न रकम विदेश गइरहको हुँदा तत्कालै राष्ट्र बैंकले आफ्ना सम्पूर्ण वाणिज्य बैंक तथा वित्तीय संस्थाहरुलाई त्यस प्रकारको भूक्तानी नगर्ने नगराउने व्यवस्था गर्न सिफारिस गर्नुपर्छ,’ महासंघले भनेको छ ।

यस्तो छ महासंघको सुझाव पत्र


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *