मौद्रिक नीतिका लागि महासंघको सुझाव- परिमार्जनसहित पुरानै नीति निरन्तरतामा जोड – Nepal Press

मौद्रिक नीतिका लागि महासंघको सुझाव- परिमार्जनसहित पुरानै नीति निरन्तरतामा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले आगामी मौद्रिक नीति सम्वन्धि सुझाव नेपाल राष्ट्र बैंकका गभर्नरलाई बुझाएको छ । महासंघका अध्यक्ष शेखर गोल्छा सहितको टोलीले गभर्नर अधिकारीलाई भेट गरी सुझाव प्रस्तुत गरेको हो ।

चालु आर्थिक वर्ष २०७७।७८ को मौद्रिक नीतिले निजी क्षेत्र लाई अगाडि बढ्न सहज बनाएको महासंघको भनाई छ । यो आर्थिक वर्षमा अर्थतन्त्रमा भएको सुधारमा मौद्रिक नीति र यसमा लिइएका कार्यक्रमको मुख्य रहेको भन्दै महासंघले नेपाल राष्ट्र बैंकलाई आभार व्यक्त गरेको छ ।

चालु वर्षको मौद्रिक नीतिमा भएको पुर्नसंरचनाका कारण कर्जाको पुर्नतालिकीकरण , पुर्नकर्जा , सावा ब्याज भुक्तानीको म्याद थप गर्ने र साना तथा मझौला उद्यमीले पनि पुर्नकर्जा सुविधा अन्तर्गत न्युन ब्याजदरमा कर्जा पाएको महासंघको भनाई छ ।

आगामी मौद्रिक नीति मार्फत पनि यिनै सुविधाको निरन्तरताको माग महासंघले गरेको छ । साना मझौला उद्यम लक्ष्ति पुर्नकर्जाको नतिजा सकारात्मक देखिएकाले पुर्नकर्जा सुविधा लाई आर्थिक वर्ष २०७८र ७९ मा पनि कायम राखि यसको अवधि र सीमा बढाउनुपर्ने सुझावमा उल्लेख गरिएको छ ।

मौद्रिक नीतिले लिएको व्यवसाय निरन्तरता कर्जा भने प्रभावकारी हुन नसकेको महासंघको दावी छ । व्यवसायिक निरन्तरता कर्जामा तलब बाहेक अन्य प्रकारका सेवा सुविधा थप गर्नुपर्नेमा सुझावमा उल्लेख गरिएको छ । सहुलियतपूर्ण कर्जामा पनि सामान्य परिमार्जन गर्न महासंघले भनेको छ ।

आर्थिक पुर्नउत्थानसँगै साना मझौला उद्यम र स्टार्टअपको विस्तारका लागि पनि केहि ठोस काम गर्नुपर्ने भनिएको छ ।
आगामी आर्थिक वर्ष तरलताको चाप वढ्न सक्ने भएकाले बजारमा तरलता प्रवाह बढाउन आवश्यक मौद्रिक उपकरणहरुको प्रयोग गर्न नेपाल राष्ट्र बैंकलाई आग्रह गरिएको छ ।

त्यस्तै उपलब्ध उपकरणको प्रयोग गरी एकल अंकमा ब्याजदर कायम गर्ने प्रयास नीति लिन आग्रह गरिएको छ। आर्थिक गतिविधि बढदा विदेशी विनिमय संचिति र भुक्तानी सन्तुलनमा पर्नेसक्ने चापको अवस्थालाई मध्यनजर गरी आगामी मौद्रिक नीति आउनुपर्नेमा महासंघले जोड दिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर