पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ७९ प्रतिशत काम सकियो, ६ महिनापछि सञ्चालनमा आउने (भिडियो) – Nepal Press

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलः ७९ प्रतिशत काम सकियो, ६ महिनापछि सञ्चालनमा आउने (भिडियो)

पोखरा । राष्ट्रिय गौरवको योजना अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । विमानस्थलको निर्माण कार्य अबको ६ महिनामा सम्पन्न हुने बताइएको छ ।

यही महिना भित्र निर्माण सम्पन्न हुनपर्ने भए पनि कोरोनाका कारण आयोजना पर धकेलिएको हो । यो विमानस्थल निर्माणको गत आर्थिक वर्ष २०७६/७७ मा ६१ प्रतिशत भौतिक प्रगति भएको थियो । गत वर्षसमेत कोरोनाका कारण निर्माणले गति लिन सकेको थिएन । चालु आर्थिक वर्षमा केही गति लिएको निर्माण कार्यले फेरि आएको कोरोनाको दोस्रो लहरका कारण निषेधाज्ञा हुँदा कामले गति लिन भने सकिरहेको थिएन ।

मे महिनामै विदेशी जनशक्तिले आएर विमानस्थल अवलोकन गर्ने योजना रहेकोमा कोभिड दोस्रो लहरका कारण रोकिएको थियो । विदेशबाट आउने जनशक्तिहरू जुलाई/अगस्टसम्ममा आउने व्यवस्था मिलाइएको र काम निरन्तर भइरहने इन्जिनियर कृष्ण पौडेलले बताए ।

‘कोभिडको निषेधाज्ञामा पनि काम निरन्तर भएको छ,’ उनले भने ‘५०० जनशक्तिको ठाउँमा २०० हाराहारीमा जनशक्तिलाई मात्रै खटाएर भए पनि निरन्तर काम अगाडि बढिरहेको छ । कोभिडले गर्दा चिनियाँ जनशक्तिमासमेत कमी आएको छ । हाल चिनियाँ जनशक्ति १६६ जना मात्र निर्माणमा आवद्ध छन् ।’

चिनियाँ जनशक्ति ३ सयका हाराहारीमा आवश्यक रहेको उनी बताँउछन् । अहिले फिनिसिङ, लाइट हाल्ने, इलेक्ट्रिफिकेसन, इक्यूवमेन्ट, पाइपलाइन बिच्छ्याउने तथा भित्री सडकका कामहरू भइरहेका छन् । निषेधाज्ञाका कारण निर्माणको १ महिनाको प्रगतिमा कमी आउने इन्जिनियर पौडेल बताउँछन् ।

कुल २२ अर्ब रूपैयाँ चिनियाँ ऋण सहयोगमा विमानस्थल निर्माण भइरहेको छ । विमानस्थल निर्माण सन् २०२१ जुलाई १० सम्म सक्ने गरी सम्झौता भएको थियो । यसअघि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल ६ महिनाअघि नै सम्पन्न गर्ने लक्ष्य रहेको थियो । हाल विमानस्थल निर्माणले अपेक्षित सकेको गति लिनसकेको छैन । निर्माण सम्पन्न मितिसमेत २०२१ डिसेम्बरका लागि सारिएको इनिजनियर पौडेलले जानकारी भयो ।

विमानस्थल निर्माण सन् २०१७ को नोभेम्बर महिनादेखि शुरु भएको हो । हालसम्म रन वे, ट्याक्सी पार्किङ, टर्मिनल भवन, एप्रोन (यात्रु जहाजमा चड्ने र ओलेने स्थान), नाला निर्माण, ह्याङगर निर्माण लगायतका काम भइसकेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनल भवन १४ हजार स्क्यार मिटरमा बन्ने छ ।

८ हजार स्क्वायर मिटर अन्तर्राष्ट्रिय उडानका लागि र ६ हजार स्क्वायर मिटर आन्तरिक उडानका लागि गरी १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण हुन लागेको हो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर