रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता – Nepal Press

रुसमाथिको प्रभावशाली जितपछि डेनमार्क नकआउटमा, बेल्जियम समूह विजेता

एजेन्सी । गएराति समूह बी अन्तर्गत डेनमार्कले समूहको अन्तिम र रुस समूहको दोस्रो स्थानमा रहेर अन्तिम खेलको सुरुआत गरेका थिए ।

खेलको अन्तिम सिठ्ठी बजेपछि समूहमा उनीहरुको स्थान उल्टियो र डेनमार्क समूह उपविजेता रहँदै युरोको नकआउट चरणमा पुग्यो ।

कोपनहेगनमा घरेलु समर्थकमाझ डेनमार्कले ४-१ कोे जित हासिल गरेपछि रुस प्रतियोगिताबाट बाहिरियो । सायद यो दुवै टोलीका लागि अप्रत्यासित नतिजा थियो ।

पहिलो खेलमा आफ्ना सुपरस्टार क्रिष्टियन इरिक्सनलाई मैदानमै हृदयघात भएयता डेनमार्कका लागि यो प्रतियोगिता भावनात्मक बन्न पुगेको छ । अस्पतालबाट डिस्चार्ज भइ घरमा आराम गरिरहेका आफ्ना साथी खेलाडी इरिक्सनलाई उनीहरुले नकआउट चरणमा प्रवेश गरी राम्रो उपहार दिए । खेलपछि उनीहरुको खुसीयालीमा पनि यही झल्किन्थ्यो ।
३८ औैं मिनेटमा मिकेल ड्याम्सगार्डले गोल गरी पहिलो हाफमा डेनमार्कलाई अग्रता दिलाएका थिए । बाँकी सबै गोलहरु द्योस्रो हाफमा सम्भव भएका हुन् । ५९ औं मिनेटमा युसुफ पोल्सेनले गोल गरी अग्रता बढाए । ७० औं मिनेटमा रुसका आर्तेम ज्युवाले पेनाल्टीमार्फत गोल गरी अग्रता छोट्याउने प्रयास गरे ।

तर तीन मिनेटको अन्तरमा २ गोल गर्दै डेनमार्कले फराकिलो अग्रता बनायो । ७९ औं मिनेटमा आन्द्रेस क्रिष्टियन र ८२ औं मिनेटमा जोकिम मेहलेले गोल गरेका हुन् ।

प्रिक्वाटरफाइनलमा डेनमार्कले समूह ए को उपविजेता वेल्ससँग खेल्नेछ ।

यही समूहको अर्को खेलमा फिनल्याण्डलाई २–० ले हराएर बेल्जियमले शतप्रतिशत जित निकालेको छ ।

रुसको सेन्ट पिटर्सवर्गमा भएको खेलमा पहिलोपल्ट युरो खेलिरहेको फिनल्याण्डले बेल्जियमलाई ७४ मिनेटसम्म रोकेको थियो । फिनिस डिफेण्डर लुकास हार्डेकीले आत्मघाती गोल गरेपछि अग्रता बनाएको बेल्जियमका लागि रोमेलु लुकाकुले त्यसको १० मिनेटपछि गोल गरे र टिमलाई २–० को जित निश्चित गराए ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर