निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म: एक महिनामै ‘यू-टर्न’ भयो पहाडीको राजनीति – Nepal Press

निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म: एक महिनामै ‘यू-टर्न’ भयो पहाडीको राजनीति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार विस्तार गरेको मन्त्रिपरिषद्‍मा नेकपा एमालेको पूर्व माधव नेपाल समूहका गणेश पहाडी पनि सामान्य प्रशासनमन्त्री बने । यो माधव नेपाल समूहका धेरै नेता कार्यकर्ता लागि ‘सरप्राइज’ नै थियो ।

ठीक एक महिनाअघि पहाडी प्रधानमन्त्री ओलीले विश्वासको मत लिने बेला संसदमा अनुपस्थित भएर पार्टीको ह्वीप उल्लंघन गरेका थिए । तर, ठीक एक महिनापछि ओलीकै क्याबिनेटमा पहाडी मन्त्री बने ।

पार्टी भित्रको विवाद र पछिल्लो राजनीतिक घटनाक्रमले पहाडीलाई पहिलो पटक मन्त्री बन्ने मौका दियो । २०२७ सालमा जन्मिएका पहाडीले १२ वर्षको उमेरमा अनेरास्ववियु- पाँचौँबाट राजनीतिक जीवनको सुरुआत गरेका थिए ।

जीवनको ३८ वर्ष एमालेको राजनीतिमै बिताइसकेका ४९ वर्षे पहाडीले मौकामा मन्त्री बन्न पाएको देखिन्छ । माधव नेपाल पक्षका सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्टलगायतका नेतालाई मन्त्री बनाउने चर्चा चले पनि उनीहरूले प्रस्ताव अस्विकार गरे । तर, योगेशलगायतका नेताले अस्वीकार गरे पनि उनी निकटकै पहाडी मन्त्री बने ।

स्नातकोत्तरसम्मको अध्ययन गरेका पहाडीले सक्रिय राजनीति सुरु गरेको ८ वर्षपछि एमालेको संगठित सदस्यता प्राप्त गरेका थिए । त्यसको एक वर्ष नबित्दै एमालेको सिन्धुली-काठमाडौं सम्पर्क मञ्चको संयोजकको जिम्मेवारी पाएका पहाडीले पछिल्लो योगशसँग मिलेर पार्टी एकताको पहलसमेत गरेका थिए ।

राजनीतिलाई प्रमुख कार्य र नेकपा एमालेलाई माध्यम बनाएका पहाडी २०५४ सालमा सिन्धुलीको खाङसाङ गाविसको अध्यक्षमा निर्विरोध निर्वाचित भएका थिए । १२ वर्षकै उमेरमा राजनीतिक जीवन सुरु गरेका पहाडी ३८ वर्षको उमेरमा २०६५ सालमा एमालेको सिन्धुली जिल्ला कमिटीको सचिव चुनिएका थिए । त्यसको एक वर्ष नबित्दै एमाले सिन्धुलीको संयोजकको जिम्मेवारी पाएका थिए ।

राजनीतिक रूपमा पहाडीले २०६५ देखि ७० साल सम्ममको समयमा फरक-फरक भूमिका र उचाइ हासिल गरे । २०६६ सालसम्म जिल्लाको राजनीतिमा स्थापित भइसकेका पहाडीले २०६७ सालमा एमालेबाट राष्ट्रिय प्रतिनिधि परिषद्को सदस्यता प्राप्त गरेका थिए ।

२०७१ सालमा भएको नवौं महाधिवेशनबाट केन्द्रीय कमिटी सदस्य बनेका पहाडीले सोही वर्ष अर्को राजनीतिक उचाइ हासिल गरेका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा सिन्धुलीको क्षेत्र नम्बर १ बाट निर्वाचित भएका पहाडी २०७४ सालको दोस्रो निर्वाचनमा पनि सोही क्षेत्रबाट विजयी भएका थिए ।

त्यसपछि एमालेको केन्द्रीय कमिटी सदस्य बनेका पहाडीले आजदेखि आफ्नो राजनीतिक ‘पोर्टफोलियो’मा नयाँ अध्याय थपेका छन्, सामान्य प्रशासनमन्त्रीको रूपमा । र, उनले आफ्नो गुटसमेत परिवर्तन गरेका छन् ।

पहाडी यसबीचमा स्थानीय राजनीतिको दबाबमा पनि थिए । जिल्लाका र विशेषगरि उनको क्षेत्रका अधिकांश कार्यकर्ता ओली पक्षमा छन् । उनकै गाउँपालिका फिक्कलका सबै जनप्रतिनिधि ओली पक्षमा छन् ।

जिल्लाको राजनीतिले पनि दबाबमा परेका पहाडीलाई आफ्नो अध्यक्षलाई प्रधानमन्त्रीबाट हटाएर विपक्षी दलका नेता शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउन मनले मानेन । त्यहिँबाट उनको राजनीतिले ‘यू-टर्न’ लियो ।

सिन्धुलीबाट मन्त्री बन्ने एमालेका पहिलो नेता समेत बनेका छन्, पहाडी । अहिलेसम्म सिन्धुलीबाट एमालेले मदन ढुंगेल, गंगा नेपाल, शंकरनाथ अधिकारी र विषमलाल अधिकारी दनुवारलाई प्रत्यक्ष निर्वाचित गरेको थियो भने गोमा देवकोटा समानुपातिबाट प्रतिनिधिसभा सदस्य छन् ।


प्रतिक्रिया

One thought on “निर्विरोध गाविस अध्यक्षदेखि मन्त्रीसम्म: एक महिनामै ‘यू-टर्न’ भयो पहाडीको राजनीति

  1. म राजेन्द्र महताे र गणेश पहाडी (जिम्दार पुत्र) जस्ता घातकहरू मन्त्री स्वीकार्नु परेकाेमा दु:खी छु !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर