प्रधानमन्त्री ओलीद्वारा महामारीविरुद्ध नेपालको लडाइमा साथ दिन धनी राष्ट्रहरुको संगठन जी-सेभेनलाई आग्रह – Nepal Press

प्रधानमन्त्री ओलीद्वारा महामारीविरुद्ध नेपालको लडाइमा साथ दिन धनी राष्ट्रहरुको संगठन जी-सेभेनलाई आग्रह

सगरमाथा संवाद स्थगित

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ महामारीविरुद्ध नेपालको लडाइमा साथ दिन ठूला धनी राष्ट्रहरुको संगठन (जी–सेभेन) लाई आग्रह गरेका छन् ।

बेलायती अखबार द गार्जियनमा प्रकाशित आलेखमार्फत प्रधानमन्त्री ओलीले जतिसक्दो चाँडो कोरोनाभाइरस विरुद्धको खोपको आपूर्तिको व्यवस्था मिलाउन जी-सेभेनको वर्तमान अध्यक्ष बेलायतलाई आग्रह गरे ।

‘मानव कल्याणको क्षेत्रमा अग्रणी र जी–सेभेनको वर्तमान अध्यक्षको नाताले बेलायतले खोपको समूचित विश्वव्यापी वितरणमा भूमिका खेलोस् भन्ने अपेक्षा नेपालले गर्छ’ ओलीले भनेका छन्, ‘खासगरि, अत्यावश्यक मुलुकले खोप पाओस् भन्ने हाम्रो आशा छ ।’

बेलायतसँग नेपालको सदियौं पुरानो मित्रतापूर्ण सम्बन्ध रहेको र नागरिक स्तरमै गहिरो मित्रता भएको चर्चा गर्दै प्रधानमन्त्रीले भाइरसबाट सबैजना सुरक्षित नहुँदासम्म कोही पनि सुरक्षित हुन नसक्ने पनि जनाएका छन् ।

महामारीले नेपालको स्रोत र पूर्वाधारमा पीडा दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले खोप, परीक्षण किट्स, अक्सिजन उपकरण र अन्य स्वास्थ्य सामाग्री प्रदान गर्न पनि अन्तर्राष्ट्रिय समुदायलाई अपिल गरेका छन् ।

बढ्दो भाइरस संक्रमणले नेपालको स्वास्थ्य प्रणालीलाई चुनौति थपेको उल्लेख गर्दै प्रधानमन्त्रीले परिस्थितीलाई नियन्त्रणमा राख्न सरकारले भरमग्दुर प्रयास गरिरहेको पनि जनाएका छन् । अस्पतालमा बिरामीलाई शैय्या उपलब्ध गराउन पनि कठिन भएको जानकारी उनले दिएका छन् ।

सगरमाथा संवाद स्थगित

भाइरस महामारीको कारण नेपालले आसन्न सगरमाथा संवाद स्थगित गर्नुपरेको बाध्यता आइलागेको समेत प्रधानमन्त्री ओलीले जानकारी गराएका छन् । आसन्न जलवायु सम्मेलन (कोप–२६) आयोजकको नाताले पनि बेलायतले जलवायु प्रभावित नेपालजस्ता मुलुकलाई आर्थिक सहायता र क्षमता अभिवृद्धिमा सहयोग गर्नुपर्ने माग गरेका छन् ।

जलवायु परिवर्तनको कारण हिमनदी पग्लिँदा बाढी र सुख्खापन बढेको जानकारी दिँदै प्रधानमन्त्रीले सगरमाथा संवाद स्थगित गर्नुपरेको बाध्यता रहेको जनाएका हुन् ।

पर्वतारोहीलाई अक्सिजन दिलाउन शेर्पा समुदायले भूमिका खेलेपनि, आज तिनै शेर्पाहरुको देशलाई अक्सिजन अभाव भएकाले अक्सिजनको लागि मद्दत गर्न पनि ओलीले अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

प्रधानमन्त्रीले जतिसक्दो चाँडो जीवनदायी औषधी र खोप उपलब्ध गराउन विदेशी मित्रहरुलाई आग्रह समेत गरेका छन् । महामारी र जलवायु परिवर्तन जुम्ल्याहा चुनौति भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एकजुट भएर लड्नु नै समस्याको समाधान भएको जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर