‘हल्ला अर्कै आयो, हामी त सल्लाह गर्न बसेका’ – Nepal Press
गण्डकीका सांसद होटल-होटलमा

‘हल्ला अर्कै आयो, हामी त सल्लाह गर्न बसेका’

पोखरा । गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमाथि दर्ता भएको अविश्वासको प्रस्ताव सोमबार प्रदेशसभामा पेस भएको छ । यसको छिनोफानो भोलि हुनेछ ।

अविश्वास प्रस्तावमा मतदानको अघिल्लो दिनसम्म मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ ‘डेन्जर जोन’ मा देखिएका छन् । तर, प्रस्तावका पक्षधरहरू पनि ढुक्क हुने अवस्था छैन । कर्णालीमा जस्तै अन्तिम समयमा सरकार जोगिन सक्ने चिन्तामा छन् उनीहरू ।

प्रदेशसभाको गणितले पनि दुवै पक्षलाई धरमर बनाएको हो । एउटा भोट यताउता हुँदा पनि सरकारको ढल्न वा जोगिन सक्छ । विपक्षी गठवन्धनमा जनता समाजवादी पार्टी र जनमोर्चाप्रति शंसय छ । अविश्वास प्रस्तावमा कांग्रेस र माओवादीसँगै हस्ताक्षर गरेको जसपाले पछिल्लो समय विभिन्न शर्तहरू राखेपछि गठवन्धनमा चिन्ता पैदा भएको हो ।

होटलमा सांसद

यतिबेला प्रदेशको सरकार परिवर्तन गर्न तम्सिरहेका अविश्वास प्रस्ताव पक्षधरका सांसदहरू लेकसाइडका होटलमा बसेका छन् । गण्डकी प्रदेशसभामा विशेष अधिवेशन शुरू भएलगत्तै उनीहरु होटलमा बस्न थालेका हुन् ।

अन्तिम समयमा फ्लोर क्रसको खतरा टार्न उनीहरुलाई होटलमा राखिएको एक सांसदले बताए ।

‘यतिबेला के हुने हो भन्न सकिन्न,’ ती सांसदले नेपाल प्रेससँग भने ।

स्रोतका अनुसार माओवादी-कांग्रेसका सांसदहरू एकै होटलमा बसेका छन् भने जसपाका सांसद छुट्टै अर्को होटलमा बसेका छन् । माओवादी केन्द्रले आफ्ना सांसद्लाई जिल्ला नछोड्न सकुर्लर जारी गरिसकेको छ ।

माओवादी केन्द्रका सांसद दीपक कोइराला आफूहरू सल्लाह गर्न मात्रै बसेको दाबी गर्छन् ।

‘बाहिर अर्कै हल्ला आयो खासमा हामी सल्लाह गर्न बसेका हौं,’ नेकपा माओवादी केन्द्रका सांसद दीपक कोइरालाले भने, ‘जिल्लाबाहिरका सांसद्लाई आउनजान सजिलो हुन्छ भनेर हो ।’

जसपा सांसद हरिशरण आचार्यले भने सांसदहरू राजनीतिक गृहकार्य गर्न बसेको बताए ।

‘माओवादी र कांग्रेसका साथीहरू बस्नु भा’छ । सरकार कसरी बलियो बनाउने भन्ने विषयमा नै हो,’ उनले भने, ‘हामी बस्या छैनौं ।’

६० सदस्यीय गण्डकी प्रदेश सभामा नयाँ सरकार बनाउन ३१ मत चाहिन्छ । सत्तापक्षीय एमालेसँग अहिले २७ सांसद छन् । जनमोर्चाका ३ सांसदले साथ दिएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्धको अविश्वास प्रस्तावमा ठीक ३१ मत पुग्छ । तर, त्यसमध्ये कुनै एकमत तलमाथि भएमा मुख्यमन्त्री गुरुङ जोगिनेछन् ।

आइतबारको कार्यव्यवस्था परामर्श समितिको बैठकपश्चात सत्तापक्षीय सांसद कृष्ण थापाले आफूहरु अविश्वासको प्रस्ताव सामना गर्न तयार रहेको प्रतिक्रिया दिएका छन् । आफूहरूलाई १/२ मतमात्र चाहिने भएकाले ठूलो कुरा नभएको प्रतिक्रिया दिएपछि विपक्षीहरू सशंकित बनेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर